काठमाडौं २६ असार/ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकभर करिब २४ हजार शिक्षकको दरबन्दी खाली रहेकाले छिट्टै पदपूर्ति गरिने बताएका छन् ।
संसद्को शनिबार बसेको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्री पोखरेलले भने, ‘मुलुकभर २३ हजार ९ सय शिक्षकको दरबन्दी रिक्त छ । तीमध्ये अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक छन् ।’
रिक्त शिक्षक नियुक्तिका लागि शिक्षा मन्त्रालयले छिट्टै दरबन्दी पूर्तिमा पहल गर्ने मन्त्री पोखरेलले बताए । ‘हामीले रिक्त दरबन्द पूर्ति गर्ने विषयमा सोच बनाइरहेका छौं । धेरै शिक्षक हामीलाई अंग्रेजी, गणित र विज्ञान विषयका आवश्यक छ ।’
शिक्षामन्त्री पोखरेलले शिक्षा ऐन बनाउन सहयोग पुर्याउने व्यक्तिहरूलाई धन्यवाद पनि दिए । शिक्षा ऐनले सहकारीमा लगेर सिन्डिकेट नगरिएको दाबी उनले गरे । बैठकमा श्रम तथा रोजगारमन्त्री दीपक बोहराले खाडीसहितका विभिन्न मुलुकमा रोजगारीमा जाने कामदारका सम्बन्धमा फ्रि भिसा र फ्रि टिकटको प्रावधान फिर्ता लिने सरकारको कुनै योजना नरहेको बताए । फ्रि भिसा र फ्रि टिकटको प्रावधानविपरीत कामदारसँग धेरै रकम लिने म्यानपावर कम्पनीलाई कारबाही गर्र्न कानुन ल्याउन लागेको उनले बताए ।
खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधनस्रोतको प्रयोग गरिने बताए ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर
प्रतिक्रिया