भक्तपुर - शिक्षक सेवा आयोगले लिने परीक्षाको पाठयक्रममा तत्कालै फेरबदल नहुने भएको छ । शिक्षा ऐन संशोधन पछि पनि आयोगले लिने परीक्षाको पाठ्यक्रम तत्कालका लागि नफेरिने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले शिक्षक सेवा आयोगले शिक्षा सेवा नियमावली अनुसार पाठ्यक्रमलाई समय सापेक्ष परिवर्तन गरेको भन्दै तत्कालका लागि पाठ्यक्रम फेरबदल नगर्ने बताए ।
उनले शिक्षा ऐनमा शिक्षक सेवा आयोगको पाठ्यक्रमको बारेमा कुनै वुँदा उल्लेख नभएको बताउँदै पाठ्यक्रम बारेमा अहिले कुनै प्रसंग नउठेको पनि बताए ।
‘पाठ्यक्रम सम्बन्धमा अहिलको मौजुदा नियममा सय पूर्णाङ्कको परीक्षा भइरहेको छ । अनि निमावि र माविको पाठ्यक्रमलाई रिभाइज गरेर पनि परीक्षा सञ्चालन गरिसकेका छौं’ उनले थपे, ‘अब आउने नियमावलीले कसरी गाइड गर्छ, पूर्णाङ्क, पाठ्यक्रम, उत्तीर्णाक, त्यो क्षेत्रा धिकार हामीलाई दियो भने निश्चय पनि हामी पाठ्यक्रमलाई पनि रिभाइज गर्छौं ।’
उनले विभागले शिक्षा ऐन संशोधन हुनुपूर्व नै नियमावलीका अधिनमा रहेर विज्ञापन गरेको बताउँदै त्यही आधारमा परीक्षा हुने बताए ।
‘अब आउँदो भाद्र ११ गते निमाविको परीक्षा हुँदैछ, तत्कालिन समयमा पदपूर्ति गर्ने सम्बन्धी, विज्ञापन गर्ने सम्बन्धी विभागबाट कुनै पनि माग नआएको भएर आयोगले त्यही अनुसार काम गरिरहेको छ ।’ उनले भने ।
उनले पाठ्यक्रमको बारेमा शिक्षा विभागले आगामी दिनमा बनाउने नियमावलीले निर्धारण गर्ने पनि बताए ।
प्रकाशित मिति २०७३ असार २५ गते
प्रतिक्रिया