काठमाडौं २५ असार / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुनका लागि यसअघि निर्धारण गरेको योग्यतामा परिमार्जन गरेको छ ।
सिटीईभीटी पाठ्यक्रम समितिको शुक्रबार बसेको बैठकले परिमार्जनको निर्णय गरेको हो । डिप्लोमाअन्तर्गतको इन्जिनियरिङका सम्पूर्ण कार्यक्रममा भर्ना हुनका लागि यसअघि अंग्रेजी, गणित र विज्ञानमा न्यूनतम सी ग्रेड ल्याउनुपर्ने निर्णय गरेकोमा शुक्रबारको बैठकले अंग्रेजी विषयमा डी प्लस मात्र ल्याए पनि भर्ना हुन पाउने निर्णय गरेको छ ।
त्यस्तै डिप्लोमा तहमै कृषि, फुड तथा डेरी टेक्नोलोजी र फरेस्ट्री विषय अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने यसअघि निर्णय गरिएकोमा संशोधन गरेर अहिले तीन विषयमध्ये कुनै दुई विषयमा मात्र सी ल्याएपनि हुने र एक विषयमा भने डी प्लसमात्र ल्याए पनि हुने निर्णय गरेको छ ।
डिप्लोमा इन होटल म्यानेज्मेन्ट उद्यमशीलता विकास विषय पढ्न एसएलसीमा अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने बताइएकोमा संशोधन गरेर तीनै विषयमा डी प्लस मात्र ल्याए पनि हुने निर्णय गरिएको छ । परिषद्का सदस्यसचिव डा. रामहरि लामिछानेले नयाँ व्यवस्थाले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई राहत प्रदान गरेको बताए ।
‘हाम्रो उद्देश्य प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउनु हो । त्यसैले गुणस्तर नघट्ने गरी यसअघि निर्धारण गरिएको मापदण्डमा सामान्य संशोधन गरेका हौं’, लामिछानेले भने ।
अन्नपूर्ण पोष्टमा खबर छ ।
प्रतिक्रिया