काठमाडौं २१ असार/ नयाँ शिक्षा ऐन कार्यान्वयनमा आएपछि सरकारले कक्षा ९ देखि १२ सम्म साधारण र प्राविधिक गरी दुई धारको शिक्षा व्यवस्था गर्न लागेको छ। अहिलेसम्म कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चार संकायमा पढाइ हुँदै आएको थियो।
शिक्षा मन्त्रालयले प्लसटुमा सञ्चालित संकाय खारेज गरी विद्यालय शिक्षाअन्तर्गतकै पठनपाठन सुरु गर्नेगरी काम थालिसकेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा हालका संकाय हटाई विषयगत पठनपाठन सुरु गर्ने तयारी गरिरहेको बोर्डका सदस्य सचिव एवं मन्त्रालयका सहसचिव लवदेव अवस्थीले जानकारी दिए।
उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गर्दै आएको कक्षा ११ र १२ को चार संकाय २४ वर्षपछि हटाइएको हो। अब कक्षा ९ देखि १२ सम्म विद्यालयमै पढाइने भएकाले ऐनले तोकेअनुसार दुई धार मात्र हुने व्यवस्था गरिने अवस्थीले बताए।
‘अब नानीहरूले माध्यमिक तहमा संकायमा जानुपर्दैन, विश्वविद्यालयमा पहिले संकाय भएकाले प्रमाणपत्र तहमा त्यही थियो,' उनले भने, ‘पछि उच्चमाध्यमिक शिक्षा परिषद्ले पनि त्यही अवधारणा बनायो, अब कक्षा ९–१२ लाई ऐनले नै विद्यालय तहमा ल्याइसकेकाले संकाय रहँदैन।'
अब विद्यार्थीले कक्षा ९ देखि नै प्राविधिक र साधारण गरी कक्षा १२ सम्म दुई धारमा पढ्न पाउने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। 'साधारण धारतर्फ पनि विद्यार्थीले आ–आफ्नो रुचिको विषय कक्षागत रूपमै छनोट गरी अध्ययन गर्नेछन्,' उनले भने, 'नानीहरू विज्ञान, व्यवस्थापन, मानविकीलगायत संकाय छनोट गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।'
उनका अनुसार कक्षा ९–१२ सम्मको पाठ्यक्रमसमेत समायोजना गरी नयाँ तरिकाबाट अघि बढाइनेछ। 'कुनै विद्यार्थीले भौतिक विज्ञान र गणित पढ्छ भने उसले मेजर विषय गणित लिएर पढ्छ,' अवास्थीले भने, 'कुनै नानीको रुचिको विषय म्युजिक छ भने उसले फिजिक्स, केमेस्ट्री, म्याथ र म्युजिक लिएर पढ्न सक्छ। दुई अनिवार्य विषय हुन्छन्। कसैको रुचिको विषय म्युजिक भए पनि पछि उसले इन्जिनियरिङतिर जान सक्छ।' अब विद्यार्थीले विश्वविद्यालयमा जानका लागि बहुआयामिक बाटो रोज्नसक्ने उनले बताए।
संकायगत झन्झटलाई कम गरी विद्यार्थीको विषयगत पढ्ने अवसर व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार कक्षा १० मा भएको ८ विषयलाई समेत घटाएर ५ मा झार्नेगरी मन्त्रालयले काम गरिरहको छ। हाल कक्षा ११ र १२ मा ५–५ सय गरी कुल हजार पूर्णांकको पठनपाठन हुन्छ। जसमध्ये अंग्रेजी र नेपाली अनिवार्य हुन्छ, अन्य संकायगत विषय रहन्छन्।
उच्चमाध्यामिक शिक्षा परिषद्का पूर्व उपाध्यक्ष चैतन्य शर्माले तत्कालीन परिषद्ले पनि कक्षा ११ र १२ लाई सिंगल ट्र्याक प्रणालीबाट चलाउन खोजे पनि सफल हुन नसकेको जिकिर गरे। विश्वविद्यालयको प्रारम्भिक खुट्किलो नै अब माध्यमिक शिक्षा भएकाले कक्षा ९ देखि नै साधारण शिक्षालाई विषयगत बनाउनुपर्ने उनको सुझाव छ। हाल कक्षा ११ र १२ मा कुल १ सय ६९ विषय छन्। विद्यार्थीले संकायअनुसारको विषय छनोट गरी अध्ययन गर्ने गरेका छन्।
शिक्षाविद् एवं पाठ्यक्रम विषय समिति (कक्षा ११ र १२) अध्यक्ष वासुदेव काफ्लेले विद्यालय तहको ९–१२ मा विषयगत समूह बनाएर जानुपर्ने सुझाए। उनले भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन(सिबिएसइ) ले पनि कक्षा १० र १२ दुवैको परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गरेको उदाहरण दिँदै त्यहाँ पनि सिंगल ट्र्याक अर्थात विषयगत समूहबाटै पठनपाठन सञ्चालन हुने गरेको जनाए। 'विद्यार्थीले विश्वविद्यालयको आधारभूत विषय कक्षा ९ देखि सिक्छन् र स्नातकमा मात्र विशिष्टीकरण हुन्छन्। जुन अन्तराष्ट्रियस्तरमै कायम छ।'
शिक्षाविद् विष्णु कार्कीका अनुसार संशोधित शिक्षा ऐनले कक्षा १२ लाई मावि बनाइसकेकाले सरकारले पहिले शिक्षक व्यवस्थापन गर्नुपर्छ। पूर्वाधार नभएको र विषयगत शिक्षक नभएको अवस्थामा कुनै पनि व्यवस्थाले शिक्षामा सकारात्मक भूमिका खेल्न नसक्ने उनको बुझाइ छ। 'संविधानको मर्मअनुसार सरकारले सबै नानीहरुको मावि तहसम्म पहुँच पुर्याउने लक्ष्यसहित कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनायो,' शिक्षाविद् कार्की भन्छन्, 'प्लसटुमा कायम रहेको संकायले शिक्षा क्षेत्रमा ठूलो खाडल बनाएको थियो।
विज्ञानले व्यवस्थापनभन्दा आफूलाई ठूलो मान्ने, व्यवस्थापनकाले मानविकीलाई नगन्ने र शिक्षा संकायलाई कसैले राम्रो नमान्ने गलत मनसिकताकै कारण प्लस टु शिक्षामा विकृति देखिएको थियो।' चारवटै संकाय खारेजी गरी एकीकृत पाठ्यक्रम बनाएर अघि बढ्दा उपलब्धिमूलक हुने उनको बुझाइ छ।
आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन् ।
प्रतिक्रिया