Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

कक्षा कोठामै पहिरो : सम्झनामा दुई कोपिला

सोमबार, २० असार २०७३

काठमाडौं २० असार / सायद, भगवान्ले असल मान्छेलाई चाँडै लैजान्छन्! उनी पनि निक्कै असल थिइन्। पढाइमा मेधावी। व्यवहार अनुशासित। गुरुप्रति उत्तिकै आदर। गेटबाट पस्नासाथ प्रधानाध्यापकलाई नमस्कार गर्थिन् अनि मात्र कक्षातिर लाग्थिन्।

यो स्वभाव स्कुलका अन्य बालबालिकामा पाउँदैनथिन्, ललितपुर, टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलकी प्रधानाध्यापक पुहामीकान्ति लेप्चा वज्राचार्य । र, त्यही दृश्य अहिले उनलाई भक्कानो छुटाउने झिर बनेर रोपिइरहन्छ । कृपा राई अब स्कुल आउनेछैनन्, उनलाई नमस्ते गर्नेछैनन् ।

तीन दिनअघिको भयानक दुर्घटनामा कृपासहित स्कुलका दुई विद्यार्थीले ज्यान गुमाए । अन्य थुप्रै विद्यार्थी घाइते छन् । स्कुलछेवैको प्लटिङ जग्गाको पर्खाल धस्सिएर कक्षामा ढल्दा विद्यार्थी पुरिएका थिए ।

‘कृपा उमेरले सानै भए पनि पाको कुरा गर्थिन्, बोली–व्यवहार अरूको भन्दा फरक थियो, मायालु थिइन्,’ आइतबार बिएन्डबी अस्पतालको चौथो तलामा वज्राचार्यले भनिन् । यति भनिनसक्दै उनका आँखाबाट भेल बगे ।

आमा सीमा राई घटनायता विक्षिप्त छिन् । गत शुक्रबार पनि बिहान साढे ८ बजे खाना खाइवरि कृपा तयार भइन् । त्यसछि ‘ममी बाई’ भन्दै बुबासँग स्कुलतिर लागिन् । त्यसको तीन घन्टा नबित्दै छोरीको मृत्युको खबर आयो । सीमा छाँगाबाट खसेझैं भइन् ।

कसैसँग झगडा नगर्ने, पढाइमा सधैं प्रथम हुने प्यारी छोरीको तस्बिर आँखैअखि झल्झली आइरहन्छ । अनि सीमा आफैंलाई सम्हाल्न सक्दिनन् । ‘सबैलाई नमस्कार गर्र्थी, कसैसँग बोल्न लाज मान्दैनथी, शिक्षकहरूसँग बोलिरहन्थी,’ उनले भक्कानिँदै भनिन्, ‘सायद, भगवान्ले राम्रो मान्छेलाई चाँडै लैजाँदा रहेछन्।’

कृपा स्कुल प्रवेश गर्नासाथ साथीभाइ र शिक्षकलाई सन्चोबिसन्चो सोध्थिन् । यो स्वभावले शिक्षक निकै प्रभावित थिए ।

छोरी गुमाउनुपर्दा बाबु राजेन्द्र पनि निकै विह्वल छन् । आइतबार बिहान उनी छोरीले अन्तिम स्पर्श गरेको माटो छुन स्कुल पुगे । केही बेर भग्नावशेषनजिकै उभिएर एकतमासले हेरे । अनि शिक्षकहरूसँग सोधे– ‘मेरी छोरी कहाँ बस्थी ?’ शिक्षकहरूले पुरिएको बेन्च देखाइदिए । अब उनी माटो खोतल्न थाले । त्यहाँ उनले कृपाले प्रयोग गर्ने गरेका पेन्सिल, सार्पनर र ज्यामिति बक्स भेट्टाए । यो देखेर केही बेर सन्न भए । अनि रुँदै चिच्याउन थाले । शिक्षकहरू उनलाई सम्हाल्न सकिरहेका थिएनन् । केही बेरपछि आफैं सम्हालिए ।

कृपा कहिलेकाहीँ बाबालाई कागजमा आफ्ना भावना लेखेर दिन्थिन् । त्यहाँ लेखिएको हुन्थ्यो– ‘बाबा, हजुरले हामीलाई हुर्काउन यति धेरै दुःख गर्नुभएको छ, तपाईंलाई चिन्ता छ होला, मामु र हजुर मिलेर काम गर्नुस् । म पढेर ठूली मान्छे भएपछि तपाईंलाई सजिलो गराउँछु ।’ यो सम्झेर राजेन्द्र फेरि पीडाले निमोठिए । ‘सानै भए पनि जिम्मेवार कुरा गर्थी । मेरो अनुहार मलीन देखे ‘के भयो बाबा’ भन्दै हँसाउँथी,’ उनले छटपटिँदै भने ।

अर्की विद्यार्थी अञ्जना पुन पनि पढाइमा कम थिइनन् । शिक्षकले भनेको मान्ने, साथीभाइसँग मिल्ने स्वभावका कारण सबैकी प्यारी थिइन् । प्युठान घर भएकी उनी एक वर्षअघि मात्र पुष्पाञ्जली भर्ना भएकी थिइन् । प्युठानको घर भूकम्पले भत्काइदिएपछि आमाछोरी बेसहाराझैं थिए । बाबु उनी सानै छँदा बितेका थिए । आमा बिनाले अञ्जनालाई १० वर्षसम्म जेनतेन हुर्काइन्, अब कसरी पढाउने भन्ने चिन्ता थियो ।

उनीहरूलाई एक वर्षअघि मात्र ‘आमा’ भन्ने संस्थाले उद्धार गरेर काठमाडौं, गोदावरी ल्यायो । उक्त संस्थाले आमाछोरी दुवैको रेखदेख गरेको समाजसेवी जीवन रायमाझीले बताए ।

तीन वर्षअघि पति गुमाएकी बिनाको एक्लो सहारा छोरी पनि अब रहिनन् । पर्खालले थिचिएर अञ्जनाको पनि मृत्यु भयो । घटनापछि बिना बेहोसझैं भएकी छन् । गोदावरीको आमाघरमा उनको हेरचाह भइरहेको छ ।

कृपाका बाबु राजेन्द्र आफ्नी छोरीको अकालमै ज्यान जानुमा जग्गा व्यवसायी कर्म लामा दोषी रहेको बताउँछन् । उनी भन्छन्, ‘जबसम्म गैरकानुनी पर्खाल लगाउनेलाई कारबाही हुँदैन तबसम्म मेरो आत्मा शान्ति हुँदैन ।’ दुःखद घटनामा दुई विद्यार्थी गुमाउनुपर्दा शिक्षकशिक्षिका पनि शोकाकुल छन् । घटनामा जग्गा व्यवसायी लामाकै दोष देख्ने उनीहरू अहिलेसम्म सरकारले कारबाही अघि नबढाएकोमा चिन्तित छन्। प्रधानाध्यक पुहामीले भनिन्, ‘तीन दिन भइसक्यो, अहिलेसम्म सरकारले दोषीलाई समात्न सकेको छैन।’ दोषीलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान जारी राखेको जावलाखेल प्रहरी परिसरले जनाएको छ ।

पुरिएर ज्यान गुमाएका दुई छात्राको सम्झनामा सोमबार शोकसभा र ललितपुरका शैक्षिक संस्था बन्द गरिने भएको छ । शुक्रबार दिउँसोको घटनामा दुई विद्यार्थीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो भने अन्य २४ जना घाइते छन् । घाइतेमध्ये १४ जनालाई डिस्चार्ज गरिएको छ । ९ जनाको पाटन र बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । उपचाररत विद्यार्थीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

नागरिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

http://www.nagariknews.com/news/1177

प्रतिक्रिया