काठमाडौं २० असार / विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।
मानविकी संकायमा मात्र होइन, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘नेपाल स्टडी’ कसरी अध्यापन गराउने भनेर त्रिविको प्राज्ञिक परिषद्मा छलफल सुरु भएको छ ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले नेपाल स्टडी महत्त्वपूर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिए । नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उनले बताए ।
मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. चिन्तामणि पोखरेलले नेपाल स्टडी पढाउने विषयमा ‘फ्याकल्टी बोर्ड’बाट निर्णय भइसकेको बताए । डिन पोखरेलका अनुसार फ्याकल्टी बोर्डबाट पास भएर गएको नेपाल स्टडी सबै संकायका विद्यार्थीलाई अनिवार्य अध्यापन गराउन प्राज्ञिक परिषद्मा छलफल भएको हो । ‘अरु संकायमा पनि नेपाल स्टडी पढाउने विषयमा सहमति कायम भएको छ, तर कुन वर्ष वा कुन सेमेस्टरमा पढाउन सकिन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।
मास्टर्स डिग्री पढेका विद्यार्थीसमेतमा नेपालबारे जानकारी कमजोर रहेको पाइएकाले स्नातक तहमा यो विषय राख्न लागिएको हो । ‘एमए, एमई, एमबिए, एमबिएस गरेका हुन्छन् तर अधिकांशले नेपालको इतिहास, कल्चर जान्दैनन्,’ डिन पोखरेलले भने, ‘नेपालको शासन व्यवस्था र यहाँको वास्तविकताबारे पनि भ्रामक कुरा आइरहेका छन्, त्यस्ता भ्रम चिर्न पनि नेपाल स्टडी पढाउनुपर्ने आवश्यकता छ ।’
त्रिवि मानविकी संकायले नेपाल स्टडीको कोर्स तयार गर्दै छ । त्यसमा संस्कृति, इतिहास, साहित्य, कला, राजनीति, भूगोललगायतका विषय समेटिनेछन् । यो विषय कार्यान्वयन गर्न मानविकीमा समस्या नभए पनि टेक्निकल विषयमा अप्ठेरो रहेकाले व्यवस्था मिलाउन समय लागेको उनले बताए ।
माविमै कमजोर
माध्यमिक तहका विद्यार्थीमै नेपालबारे कमजोर जानकारी रहेको पाइएको छ । एसएलसीको नतिजामा विद्यार्थी नेपाली भाषा र सामाजिक शिक्षामा कमजोर देखिएका छन् । यी विषयमा विद्यार्थी अंग्रेजीमा भन्दा पनि कमजोर छन् । अनिवार्य विषयमध्ये सबैभन्दा कम ए प्लस र ए ल्याउने विषयमा नेपाली र सामाजिक शिक्षा रहेका छन् । एसएलसी परीक्षामा सामाजिकमा ई र डी ग्रेड ल्याउनेको संख्या झन्डै सवा लाख छ । सामाजिकमा ‘डी’ ग्रेड ६५ हजार एक सय आठ र ‘ई’ ग्रेड ल्याउने ४६ हजार नौ सय २८ छन् ।
नेपाली विद्यार्थीको क्षमता अंग्रेजी, गणित र विज्ञानमा बढी देखिएको छ । गणितमा २३ हजार तीन सय ३४ ले ए प्लस, २३ हजार ४ हजार सात सय १७ ले ए ल्याएका छन् । त्यसैगरी, अंग्रेजीमा १२ हजार पाँच सय ५२ ले ए प्लस, ४० हजार ८५ ले ए ग्रेड ल्याएका छन् । विज्ञानमा ६ हजार आठ सय २७ जनाले ए प्लस र २० हजार नौ सय ७० जनाले ए ग्रेड ल्याएका छन् । सबैभन्दा बढी ई र डी ग्रेड म्याथमा रहेको छ । तर, नेपाली र सोसल स्टडीको अवस्था भने नाजुक रहेको छ ।
पाँच लाख ८८ हजार एक सय ५२ परीक्षार्थी सहभागी परीक्षामा नेपालीमा ६३ जनाले ए प्लस र सात हजार पाँच सय ८३ जनाले ए ग्रेड ल्याएका छन् । सोसलमा जम्मा दुई सय १७ जनाले ए प्लस र ६ हजार तीन सय ३९ जनाले ए ग्रेड ल्याएका छन् ।
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख सहसचिव डा. लेखनाथ पौडेलले नेपाली र सोसलमा नेपाली विद्यार्थीको क्षमता औषत रहेको बताए । ‘सोसल स्टडिजमा प्रश्नहरू सृजनात्मक आउँछन्, तर पढाउने र पढ्ने प्रचलन सृजनात्मक छैन,’ डा. पौडेलले भने, ‘सोसल स्टडिजको टेक्स्ट बुक मिनिमम रिफ्रेन्स हो, घोक्ने बानीले समसामयिक विषयमा जानकार भएनन् ।’
नेपालीमा प्रश्न निर्माण र कोर्सको संरचनागत जटिलता र उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको मानसिकताका कारण पनि नतिजा कमजोर देखिने उनको विश्लेषण छ । पौडेलले भने, ‘एकातिर नेपाली विषयमा हेलचक्राइ हुन्छ, अर्कोतर्फ शिक्षकले शुद्धाशुद्धि हेरेर नेपालीमा पनि फुल माक्र्स दिने हो र भन्ने मनोविज्ञानले उत्तरपुस्तिका परीक्षण गरेको पाइन्छ ।’ ए प्लस ल्याउने धेरै संख्या निजी स्कुलको रहेको र नेपालीमा कमजोर र सृजनात्मक नभएका कारण ए प्लस आउनेको संख्या कम रहेको उनको भनाइ छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया