- खगेन्द्र दाहाल / नेपालगञ्ज – हनुमान निम्न माध्यमिक विद्यालय बाँकेका प्रधानाध्यापक रमेश प्रसाद श्रीवास्तव मुलुक संघियतामा गएसंगै प्रादेशिक संरचना कार्यान्वयन विद्यालय शिक्षाबाट शुरु हुन्छ भन्ने विश्वासमा छन् । मुलुकले संघियतालाई कार्यान्वयन गर्दा विद्यालय तहको पठनपाठन स्थानीय भाषाबाट हुने उनको बुझाई छ । उनी भन्छन्–स्थानीय भाषामा पाठ्यक्रम तयार गरेर अध्ययन अध्यापनलाई जोड दिऊँ । विद्यमान पाठ्यक्रम राम्रो भए पनि स्थानीय भाषामा पढाउन नसक्दा विद्यार्थीले जति बुझ्नु पर्ने हो त्यति बुझन् नसकेको उनको अनुभव छ ।
बाँकेको कचनापुरस्थित लक्ष्मी उच्च माविमा कक्षा १० सम्म पढेकी भीमा पुनको त्यस अघिको पढाई नेपालगञ्जमा भए पनि नेपालगञ्जको शहरिया वातावरण र रहनसहनमा घुलमिल हुन केही कठिन भएको अनुभव छ । कारण हो, नेपालगञ्जको बस्तुस्थितिको बारेमा आफुले पढ्ने तहको पाठ्यक्रममा पूर्ण जानकारी नहुनु । नेपालगञ्जमा प्रयोग हुने विभिन्न भाषा बोल्न र बुभ्mन नसक्दा आफ्नो दैनिकीमा असर पुगेको पुनको भनाई छ । बुहभाषामा पाठ्य सामाग्री नहँुदाको समस्या हुन विद्यार्थी पुन र शिक्षक श्रीवास्तवका अनुभव । भाषा मात्रै हैन स्थानीय क्षेत्रको रितिथितिका बारेमा आफूले पढ्ने कितावमा कुनै कुरा नहुँदा धेरै विद्यार्थीलाई पुनलाई जस्तै बुझाई र घुलमिल हुन समस्या छ ।
त्यसो त संघीय नेपालको प्रदेश नम्बर ५ मा पर्छ बाँके जिल्ला । जिल्ला शिक्षा कार्यलयका अनुसार करिब ६ सय विद्यालय छन् । यी मध्ये २ सय ५० सामुदायिक, १ सय १९ मदरसा सञ्चालनमा छन् । त्यसो त नेपालगञ्ज मदरसा धेरै हुने जिल्लाको सुचीमा पर्छ । मदरसा पढ्ने विद्यार्थीका आफ्नै समस्या छन् । विद्यार्थीको मात्र हैन मदरसाको हदमा सञ्चालक र शिक्षकहरुको वेतन राज्यबाट उपलब्ध हुने सुबिधाको पनि समस्या छ ।
संघियतामा मूलूक गईसकेको छ । अव बाँकी छ संघीय संविधान कार्यान्वयनको चरण मात्रै । संघीयता कार्यान्वयन भएपछि शिक्षाका धेरै अधिकार स्थानीय तह अर्थात् गाउँ पालिका वा नगरपालिकामा प्रत्यायोजन हुने छ । जतिखेर आफ्नो क्षेत्रको आवश्यकता अनुसार स्थानीय तहले नै शिक्षाका कुरा निर्धारण गर्न सक्ने छन्, आशा गरौं त्यो समयमा प्रदेश नम्बर पाँच अन्र्तगत पर्ने नेपालगञ्ज क्षेत्रका बालबालिकालाई सुहाउँदो र यहाँको आवश्यकता अनुसार स्थानीय तहले पाठ्क्रम तय गर्नेछ । जसको अध्ययन गरेर यही क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुने छन् ।
अधिकाँश मधेशी समुदायका बालबालिकाहरुको बाहुल्यता भएको बाँके जिल्लामा स्थानीय अवधी भाषामा प्राथमिक तहको पाठ्य समाग्री उपलब्ध हुनसकोस् भन्ने माग छ । यहाँको समाज विविध भाषा, धर्म, सम्प्रदाय तथा रितिथीतिमा समावेशी छ । तर बाहुल्यता भने मधेशी समुदायको छ । त्यसैले उनीहरु संघियताको कार्यन्वयनसँगै आफ्नै भाषाको पाठ्यक्रम पढ्न पाईन्छ भन्ने बुझाईमा छन् । त्यसैले उनीहरुलाई प्रदेशको सिमांकन र वाँडफाँड जतिसक्दो चाँडो होस् भन्ने छ । खास गरेर मधेशी समुदायका विद्यार्थी आफ्नै भाषाको पाठ्य सामाग्री पढ्न पाईन्छ भन्ने प्रतिक्षामा छन् ।
नेपालगञ्जमा केही विद्यालयले आफ्नो भाषा संस्कृतिलाई जोगाइराख्न मदरसा सञ्चालन गरेर बालबालिकाहरुलाई शिक्षण गराइरहेका छन् । त्यसमा पनि उर्दु भाषालाई प्राथमिकता दिइएकाले अन्य कुरा समेटेको पाइँदैन ।
कक्षा कोठामा स्थानीय कुरालाई समेट्न नसक्ने हो भने संघीयताको के अर्थ ? त्यसमा स्थानीय कुरालाई समेटिएको र स्थानीय भाषामै हुन्छ भन्ने बुझाईका छन्, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष तथा शिद्धेश्वर माविका प्रधानाध्यापक रुद्र वली । उनी भन्छन् –यहाँका मधेशी समुदायका विद्यार्थीलाई स्थानीय भाषामा अध्ययापन गराउन सकिए शिक्षा प्रतिको उनीहरुको बुझाईमा सकारात्मक पन आउँथ्यो । अहिलेसम्म उनीहरुलाई नेपाली भाषाको पाठ्य सामाग्रीबाट अध्यापन गराउदाको अनुभव सुनाउदै वली भन्छन्–एक पटक नेपालीमा पाठ पढाउनु पर्छ । अनि त्यसलाई उनीहरु कैं भाषमा उल्था गरेर पढाए मात्र बुझ्छन् ।
त्यसो त नेपालगञ्जमा अवधि समुदाय मात्रै हैन विभिन्न प्रकारका भाषा बोल्ने समुदाय बसेका कारण स्थानीय भाषा संस्कृतिको बारेमा आफ्ना बालबालिकालाई शिक्षा दिन आवश्यक रहेको ठम्याई छ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ गणेशपुरका अभिभावक खडक बहादुर बुढा मगरको । 'म जनजाती हुँ, मगर हुँ म मेरै भाषा संस्कृति राख्न दोज्छु, तर यहाँको स्थितीलाई मुल्याँकन गर्दा मधेशी सहित अन्य समुदायको पनि बाहुल्य छ, सबैले आआफ्नै भाषा पढाउने भनेर त हुँदैन, बरु स्थानीय उत्पादनका कुरालाई ध्यान दिनु पर्यो' उनी भन्छन्, 'प्राय: कृषिमा आधारित क्षेत्र छ सिक्टा सिंचाई पनि यहीं छ त्यसैले कृषि तथा जिविकोपार्जनमा आधारित शिक्षा आवश्यक छ ।'
जबसम्म विद्यार्र्थीले बुझ्ने भाषामा पठन पाठन हुँदैन तव सम्म शिक्षाले लिएको सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य पुरा हुँदैन । यो कुरालाई संघीयताका पाठ्यक्रम निर्माण गर्दा ख्याल गर्नुपर्र्ने भएको छ । किनभने अहिलेसम्म पाठ्यक्रम राम्रो भएपनि स्थानीय भाषा अनुसारको नहुँदा, पढाई प्रति विद्यार्थीको रुची बढ्न नसकेको विभिन्न अध्ययनले देखाएको छ । नेपालगञ्ज क्षेत्रकै कुरा गर्ने हो भने, कतिपय बालबालिकाहरु एकै कक्षामा बसेर पनि आफ्ना सहपाठी साथीहरुसँग बोल्दैनन् । उनीहरु आफ्नो आफ्नो भाषा मिल्ने, संस्कृति मिल्नेसंग मात्र संगत गर्छन् जसका कारण नयाँ पुस्तामा एक अर्काको रितिथिति बुझ्ने र अर्को सुमदायलाई पनि अपनाउने संस्कारमा कमी आउने खतरा हुन्छ । यस्ता दूरगामी असर पार्न सक्ने विषयलाई ध्यान दिएर पाठ्य सामाग्री तयार पार्न सके पक्कै पनि शिक्षाको गुणस्तरमा पनि सुधार आउन सक्थ्यो की ?
(यूनेस्को काठमाडौंको सहयोगमा एडुखबर डटकमले तयार पारेको रेडियो कार्यक्रम ’संघीयतामा शिक्षा’मा समेटिएको सामग्रीमा आधाररित । उक्त कार्यक्रम प्रदेश नम्बर ७ मा रेडियो पश्चिम टुडे धनगढी, प्रदेश नम्बर ६ मा रेडियो जाजरकोट, प्रदेश नम्बर ५ मा कृष्णसार एफ एफ नेपालगञ्ज, प्रदेश नम्बर ४ मा रेडियो तरंग, पोखरा, प्रदेश नम्बर ३ मा रेडियो त्रिवेणी, भरतपुर, प्रदेश नम्बर २ मा रेडियो जनकपुर र प्रदेश नम्बर १ मा रेडियो पूर्वेली आवाज, विराटनगरबाट हरेक बिहीबार विहान ७ः३० मा प्रशारण हुन्छ । यसैगरी काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट हरेक बिहीबार विहान ८ बजेको समाचार पछि प्रशारण हुन्छ । रेडियो स्टेशनका अलावा उक्त कार्यक्रम www.edukhabar.com र एण्ड्रोईड एप edunepal बाट जुनसुकै बेला सुन्न सकिने छ ।)
यो सामग्री सहितको उक्त कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित मिति २०७३ असार १६ गते
प्रतिक्रिया