Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

अंग्रेजीको अड्को

बुधबार, १५ असार २०७३

काठमाडौं १५ असार / समग्रमा उच्च ग्रेड ल्याएका विद्यार्थीलाई रुचिका विषय पढ्न अंग्रेजी विषय बाधक बन्ने देखिएको छ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्ष एसएलसी नतिजा ग्रेडिङमा निकालेसँगै उच्च माध्यमिक शिक्षा परिषदले विज्ञान र व्यवस्थापन विषय पढ्ज अनिवार्य अंग्रेजीमा सी ग्रेड ल्याउनैपर्ने व्यवस्था ग¥यो। यता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले पनि भर्नाको आधार तीनवर्षे इन्जिनियरिङ र स्वास्थ्यमा अध्ययन गर्न विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड अनिवार्य ल्याउनुपर्ने आधार तोकेको छ ।

प्राविधिक शिक्षा र साधारण प्लस टुतर्फ पनि अंग्रेजी विषयमा सी (४०–५० प्रतिशत) ल्याएको हुनुपर्ने अड्कोले डी प्लस ल्याएका १ लाख ४२ हजार ७ सय ५ विद्यार्थी यस वर्ष विज्ञान, व्यवस्थापन र प्राविधिक विषय पढ्नबाट वन्चित हुनेछन् ।

दुई विषयमा बढीमा डी र ई वा ईई वा डीडी ल्याउनेको हकमा ग्रेड वृद्धि गर्न मौका परीक्षा दिन पाइन्छ । तर एउटा विषयमा डी प्लस ल्याउने विद्यार्थीका लागि ग्रेड वृद्धिको अवसर पनि दिइँदैन ।
‘मेरो जिपिए ३.७५ छ, विज्ञान र गणितमा ए प्लस छ तर अंग्रेजीमा डी प्लस आयो,’ विज्ञान विषयमा रुचि भएका एक विद्यार्थीले नागरिकसँग भने, ‘प्लस टुमा विज्ञान भर्ना हुन मेरो अंग्रेजीको ग्रेडिङ बाधा भयो।’ ग्रेड वृद्धि परीक्षा पनि दिन नपाइने भएपछि तनाव भएको उनले सुनाए ।

उनले सिटिइभिटीको तीनवर्षे डिप्लोमा कोर्सबाट समेत बन्चित हुनुपरेको दुखेसो गरे । ‘सिटिइभिटीको हेल्थ साइन्स पढ्न पनि अंग्रेजी, विज्ञान र गणितमा अनिवार्य सी ग्रेड ल्याउनुपर्छ,’ ती विद्यार्थीले सुनाए, ‘गत वर्षसम्म हाम्रो दाजुले ३२ प्रतिशत ल्याएर पनि सिटिइभिटीको तीनवर्षे इन्जिनियरिङ गर्नुभयो तर मैले ग्रेडिङ प्रणालीले गर्दा यो अवसर पाइनँ ।’ उनका अनुसार उनी प्लस टुमा विज्ञान मात्र होइन, व्यवस्थापन पनि अध्ययन गर्नबाट धेरै वन्चित भए ।
डी प्लस ल्याउने विद्यार्थी विज्ञानमा १ लाख ६५ हजार ५ सय १६ र गणितमा ७३ हजार १ सय २५ छन् ।
फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष काश्यप पौडेलले यो वर्ष सरकारले हचुवाका भरमा एसएलसी नतिजा ग्रेडिङमा निकालेकाले समस्या आएको बताए । उनले अंग्रेजी, गणित र विज्ञानमा डी प्लस ल्याउने विद्यार्थी दुर्गम क्षेत्रका सरकारी स्कुल तथा हिमाली जिल्लाबाटै रहेको जनाए ।

बानेश्वरको भ्याली कलेज अफ इन्जिनियरिङका अध्यक्षसमेत रहेका पौडेलले यो वर्ष सबैलाई पढ्न दिन ग्रेडिङ प्रणाली लागू गरेको भनी भ्रम सृजना गरिएको आरोप लगाए । ‘विज्ञानमा मात्र १ लाख ६५ हजार विद्यार्थीको डी प्लस आएको छ,’ पौडेलले नागरिकसँग भने, ‘साधारण शिक्षातर्फ प्लस टुमा विज्ञान र व्यवस्थापन पढ्न अंग्रेजीमा सी ल्याउनैपर्ने अनि प्राविधिक शिक्षाको तीनवर्षे इन्जिनियरिङ र हेल्थ साइन्समा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ल्याउनुपर्छ ।’

उनका अनुसार गत वर्षसम्म ३२ प्रतिशत ल्याएर तेस्रो श्रेणीमा उत्तीर्ण हुनेले पनि प्राविधिक शिक्षा तीनवर्षे डिप्लोमा कोर्स गर्न पाउँथे । तर यो वर्ष ४० प्रतिशतमाथि तोकियो । ३२ देखि ४० बीच अयोग्यहरु धेरै छन्।

उनले सरकारले हाल डी र ई अर्थात् १०–३० प्रतिशत एसएलसीमा ल्याउनेलाई १५ महिने टी एसएलसीमा भर्नाको बाटो खुलाएर स्वास्थ्य क्षेत्रमा खेलबाड गर्न खोजेको आरोप लगाए । ‘टी एसएलसीबाट ६६ प्रतिशत विद्यार्थी पास भएर इन्जिनियरिङमा तीनवर्षे डिप्लोमा गर्ने गरेका छन् भने ६८ प्रतिशतले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने गरेको तथ्यांक हामीसँग छ,’ पौडेलले भने, ‘सिएमए, एचए, ल्याब पढेकाले नै गाउँमा सेवा गर्ने हो ।’

‘एकातिर तीनवर्षे डिप्लोमा कोर्समा विद्यार्थी रोक्ने अनि १५ महिने कोर्समा कमजोर विद्यार्थीलाई खुला गरी इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा सरकारले कस्तो जनशक्ति उत्पादन गर्न खोजेको ?’ उनको प्रश्न छ ।

सिटिइभिटीका सदस्यसचिव रामहरि लामिछानेले कमजोर विद्यार्थीलाई प्रवेश दिनु नै गलत भएको बताए । उनले प्राविधिक शिक्षामा छानिएका राम्रा विद्यार्थीले प्रवेश पाउनैपर्ने बताए । ‘डाक्टरले ल्याब रिपोर्टका आधारमा रोगीको उपचार गर्ने भएकाले ल्याब टेक्निसियनमा राम्रा विद्यार्थी आउनुपर्छ,’ सदस्यसचिव लामिछानेले भने, ‘राम्रा विद्यार्थी इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा आउन् भन्ने उद्देश्यले तीनवर्षे डिप्लोमा सिटिइभिटीले सी ग्रेड अंग्रेजी, गणित र विज्ञानमा अनिवार्य गरेको हो ।’

उनले थपे, ‘तर यी नै विषयमा डी प्लस ग्रेड ल्याउने बढी छन् । शिक्षा मन्त्रालयले डी प्लस ल्याउने विद्यार्थीको ग्रेडवृद्धिका लागि पनि व्यवस्था गर्नुपर्छ ।’

गत वर्ष सिटिइभिटीमा ३० हजारले तीनवर्षे डिप्लोमा र १५ हजारले नर्सिङ कोर्स गरेका थिए । यो वर्ष ८ हजार सिट बढाएको छ । टी एसएलसीमा २५ हजार र डिप्लोमा २० हजार सिट तोकिएको छ । गत वर्ष यिनै सिटमा ३२ हजार संख्या थियो भने यो वर्ष ४५ हजारमा वृद्धि गरिएको उनले जनाए ।

‘प्लम्बर, कुकिङ, वेल्डिङ र कार्पेन्टर गरी चार कार्यक्रमलाई यो वर्षदेखि १ वर्षे कोर्स गरियो,’ सदस्यसचिव लामिछानेले भने, ‘प्राविधिक शिक्षातर्फका कलेजमा एक लाख विद्यार्थी भर्ना गर्ने क्षमता छ तर यो वर्ष धेरै विद्यार्थीले अंग्रेजीमा डी प्लस ल्याएका कारण प्राविधिक र साधारण दुवैतर्फ रोकिए भने एक लाख ६५ हजारभन्दा बढी विद्यार्थी विज्ञानमा डी प्लस ल्याएकाले प्राविधिक शिक्षाबाट पनि वन्चित बनेको मैले पाएँ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटाले डी प्लस ल्याउने विद्यार्थीलाई समेत ग्रेड वृद्धिको मौका दिनुपर्ने बताए । शिक्षाविद् मनप्रसाद वाग्लेले मन्त्रालयले विज्ञान, व्यवस्थापन र प्राविधिक शिक्षामा अंग्रेजी विषयको ग्रेड समाएर विद्यार्थीलाई रुचिको विषय पढ्न रोक्नु उचित नभएको बताए ।

‘अंग्रेजीमा डि ल्याएकै कारण प्लस टुमा विज्ञान, व्यवस्थापन र प्राविधिक तीनवर्षे डिप्लोमा कोर्स गर्न नपाई विद्यार्थीलाई मर्का परेको गुनासा मन्त्रालयमा पनि आएको छ,’ शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि लम्सालले भने, ‘यसबारे मन्त्रालयमा गहन छलफल भइरहेको छ । अब कसरी जाने भन्नेबारे गृहकार्य सुरु गरेका छौं ।’

यस वर्ष एसएलसीमा नियमित र एक्जाम्टेट गरी ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थी सहभागी थिए।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

http://www.nagariknews.com/news/878

प्रतिक्रिया