Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

एसएलसीपछि विषय छनोटका आधार

सोमबार, १३ असार २०७३

काठमाडौं १३ असार / एसएलसीपछि विद्यार्थीलाई कुन विषय अध्ययन गर्ने भन्ने अन्योल हुने गर्छ। एकातिर विद्यार्थीलाई पेसागत परामर्श दिइएको हुँदैन, अर्कातर्फ परिवारले चाहेको विषय पढ्न दबाब हुने गर्छ। एसएलसीपश्चात् विद्यार्थीमा मानसिक दबाब तीव्र हुन्छ।

जब म क्याम्पस अध्ययन गर्थें, एक दिन एक जना मित्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भयो। उहाँले आफूले मानविकी अध्ययन गर्नाको कारण यसरी सुनाउनुभयो– 'गाउँमा एसएलसी उत्तीर्ण हुने दुई जनामा म पनि परेँ। गाउँको स्कुलमा मेरो पढाइ राम्रो नै थियो। सबैले मलाई विज्ञान (आइ एस्सी) पढ्न सल्लाह दिए। मलाई विज्ञान पढ्न सक्छु कि सक्दिन भन्ने लाग्यो। कोसिस गरे सकिन्छ भनेर शिक्षकहरूले पनि हौसला दिनुभयो। क्याम्पस पुग्दा त मानविकी पढ्नेको भिड देखेर मानविकीमा गणित पढ्ने पनि विचार आयो। राम्रो भएर नै सबैले मानविकी पढ्न आएको हुनुपर्छ भन्ने मेरो मनमा लाग्यो। मैले सल्लाह लिने खासै मानिस थिएनन्। घरमा बाबु आमालाई सोध्दा जे राम्रो हुन्छ त्यही पढ्नू भन्ने सल्लाह पाएँ। बाबु आमालाई के पढ्दा के हुन्छ भन्ने पनि थाहा थिएन। मेरो क्षमतामा अधिक विश्वास गर्नुहुुन्थ्यो। विज्ञान विषय मानविकीभन्दा कठिन र खर्चिलो पनि हुन्छ भन्ने सुनेको थिएँ। फेरि, क्याम्पस पढ्दाको खर्च जुटाउन पनि पर्ने थियो। म अन्यौलमा परेँ। मलाई निर्णय लिन कठिन भयो। केटाकेटी उमेरमा कहिलेकाहीँ निर्णय गर्दा टस गरेको सम्झना थियो। त्यस समयमा पाँच पैसाको एक भागमा गाई र अर्को भागमा त्रिशूल हुन्थ्यो। अनि मैले पनि गाई कि त्रिशूल गर्ने विचार गरेँ। गाई आएमा विज्ञान पढ्ने, त्रिशूल आएमा मानविकी। टसमा त्रिशूल आयो, अनि मानविकी पढेँ।'

२०४२ सालको एसएलसी परीक्षाको नतिजा २०४३ सालमा प्रकाशित भएपछि मलाई के अध्ययन गर्ने अन्यौल भयो। मेरो दाइले एक वर्षअघि एसएलसी उत्तीर्ण गरेपछि प्रवीणता प्रमाणपत्र तह कानुनमा भर्ना हुनुभएको थियो। दाइको कानुनको पढाइ देखेर मलाई उति रुचि लागेन। गाउँघरमा विज्ञान पढ्नुपर्ने, वन विज्ञान (भरखरै सुरु भएको) पढ्नुपर्ने, वाणिज्य पढ्नुपर्ने, मानविकी पढ्नुपर्ने जस्ता सल्ल्ााह र सुझाव धेरैले दिएका थिए। बा शिक्षक हुनुभएको र मेरा गुरुहरूले शिक्षक दुःखी पेसा भएकाले शिक्षा नपढ्न सल्लाह दिनुभएको थियो। मेरो एसएलसीको प्रतिशत धेरै थिएन। द्वितीय श्रेणीको मध्यम अङ्क थियो। पृथ्वीनारायण क्याम्पसमा फर्म भर्न गएँ। विज्ञान, मानविकी, वाणिज्य र शिक्षामा फर्म भरेँ। विज्ञान अङ्ग्रेजी भाषाको माध्यममा पढाइ हुने, विज्ञानका पुस्तकहरू अङ्ग्रेजी भाषामा हुने, परीक्षा अङ्ग्रेजी भाषामा हुने भएकाले विज्ञान पढ्न अङ्ग्रेजी भाषा राम्रो हुनुपर्ने ठानेँ। गाउँको स्कुलमा अङ्ग्रेजी विषय जेनतेन पढाइ भएकामा क्याम्पसमा अङ्ग्रेजी भाषाको माध्यममा पढाइ हुनेतिर जाने मन भएन। विज्ञानमा गर्ने मेहनत शिक्षा शास्त्रमा अङ्ग्रेजी भाषा लिएर पढेमा राम्रो हुने सल्लाह अग्रजबाट पाएँ। एसएलसीमा ऐच्छिक गणित पनि पढेको थिइनँ। विज्ञानको भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र, गणित विषयमा मेहनत गर्न कठिन ठानेँ। धेरै विषयमा मेहनत गरेर उत्तीर्ण मात्र हुनुभन्दा सरल विषयमा विशेष ध्यान दिएर उत्कृष्ठ नतिजा ल्याउन सकिने सोचेर शिक्षाशास्त्र अध्ययन गरेँ। त्यसैको निरन्तरतामा म अहिलेको स्थानमा आइपुगेको छु।

२०६३ सालको एसएलसी नतिजा प्रकाशन भएपछि मलाई मेरा छिमेकीले बोलाउनुभयो। कारण रहेछ उहाँको छोराले झण्डै विशिष्टतासहित प्रथम श्रेणी हासिल गरेका रहेछन् तर छोरालाई के पढ्ने के भन्ने अन्यौल भएछ। छोरालाई आफूले यति धेरै अङ्क ल्याएकामा खुशी लागेको रहेनछ बरु धेरै अङ्क ल्याएकामा पछुतो लागेको रहेछ। यसको कारण उनलाई घरका सबैले, गाउँका सबैले, स्कुलका सबैले विज्ञान पढ्ने दबाब दिएका रहेछन्। यति धेरै दबाब दिएपछि उनी नबोलिकन चूपचाप बसेका रहेछन्। मैले सोधेँ– 'तिमीलाई के विषय पढ्न मन छ?' उनले झोक्किँदै भने– तपार्इँले पनि त्यही प्रश्न सोध्ने? तपाईँले त यो विषय पढ्नुपर्छ भन्नुपर्ने नि?' मैले उनको मानसिकता बुझेँ। उनले फेरि भने– 'म विज्ञान त कुनै हालतमा पढि्दनँ। मैले विज्ञान पढ्ने गरी अङ्क ल्याएको पनि होइन, यो धेरै अङ्क त कसरी आयो? यो अंकले त मलाई झन पिर पो पार्‍यो।' मैले उनको कक्षा ९ र १० को उपलब्धिलाई विश्लेषण गरेँ। उनलाई व्यवस्थापन विषय पढ्ने सल्लाह दिएँ। हाल उनी व्यवस्थापनमा स्नातक पूरा गरी स्नातकोत्तर अध्ययन गर्ने चरणमा लागिरहेका छन्।

मेरा एक जना साथी हुनुहुन्थ्यो, मैले उहाँलाई एसएलसीपछि के विषय अध्ययन गरेको र किन त्यो विषय छानिएको हो भनी प्रश्न गरेको थिएँ। उहाँले मलाई दिएको जवाफ यस्तो थियो– 'म पोखराको छोरेपाटन हाइस्कुलमा अध्ययन गर्थेँ। एसएलसी उत्तीर्ण भएको दिनदेखि के पढ्ने होला भनेर सोचिरहेको थिएँ। मेरो मस्तिष्कमा मेरो स्कुलको अङ्ग्रेजी शिक्षकको अनुहार अगाडि आयो। ठूलो शरीरको ठाडो शीर भएका अङ्ग्रेजी शिक्षकलाई स्कुलमा सबैले उच्च सम्मान दिएका थिए। निजले अङ्ग्रेजी फररर बोल्न सक्ने, विदेशीसँग फररर अङ्ग्रेजी बोल्ने गरेको देख्दा मलाई पनि यस्तै अङ्ग्रेजी बोल्न सक्ने विषय पढ्न मन लाग्यो। स्कुलमा अङ्ग्रेजी पढाउने शिक्षकले अरुको भन्दा बढी तलब पाउने, स्कुलको तलबभन्दा बढी घरमा ट्युसन पढाएर कमाउने भनेको पनि सुनेको थिएँ। एक दिन स्कुलका हेडसरले पनि अङ्ग्रेजी शिक्षकलाई उनले भन्दा पहिला नमस्कार गरेको देखेर अङ्ग्रेजी शिक्षक त साँच्चिकै ठूलो मानिस हुने रहेछ भन्ने निचोड निकालेर अङ्ग्रेजी शिक्षक हुन के पढ्नुपर्ला भनी सोध्दै हिडेँ। जवाफ पाएँ, शिक्षाशास्त्रमा अङ्ग्रेजी विषय लिएर पढ्ने। अहिले म अङ्ग्रेजी विषयमा एमए र एमएड गरी एमफिल अध्ययन गर्दैछु। अङ्ग्रेजी पढाएर बसेको छु। मलाई एसएलसीपछि के पढ्ने भनेर कसैले सिकाएन। यस्तै अनुभवबाट आफैँ निर्णय गरेको हुँ।'

प्रायः सबै आमाबाबुले आफ्ना सन्तानले चिकित्साशास्त्र वा इन्जिनियरिङ अध्ययन गरुन् भन्ने चाहना राखेको पाइन्छ। यसका लागि विज्ञान विषय अध्ययन गर्नुपर्ने हुन्छ। चिकित्साशास्त्र वा इन्जिनियरिङ अध्ययन गर्नका लागि गणित, विज्ञान र अङ्गेजी विषयमा विशेष दख्खल हुनुपर्ने हुन्छ। उच्चस्तरको सिकाइ क्षेत्र भएकाले विशेष क्षमता भएका विद्यार्थीले यी विषय अध्ययन गर्न सक्छन् । त्यसैले, आमाबाबुले आफ्ना सन्तानले विज्ञान विषय अध्ययन गरून् भन्नु भन्दा छोराछोरीको सिकाइ क्षमता परीक्षण गर्नुपर्छ। यदि छोराछोरीको विज्ञान विषय अध्ययन गर्ने ल्याकत छ भने त्यतातिर सोच्नु अन्यथा होइन। विद्वान् गार्डनरले आठ किसिमका बौद्धिकता वर्णन गर्दै तार्किक क्षमता भएका व्यक्ति विज्ञान विषय अध्ययन गर्नका लागि उपयुक्त हुन्छन् भनेका छन्। विज्ञान विषय तर्क गर्ने, चिन्तन गर्ने विषय हो। विद्यार्थीले पनि आफ्नो क्षमता र रुचि आकलन गरी कुन विषय अध्ययन गर्ने भनी विश्लेषण गर्न सक्छन्।

सबैले विज्ञान विषय अध्ययन गरी चिकित्सक वा इन्जिनियर भएरमात्र देश सञ्चालन हुँदैन। देश विकास गर्न र व्यवस्थितरूपले सञ्चालन गर्न अन्य जनशक्ति पनि आवश्यक हुन्छ। यसका लागि मानविकी, व्यवस्थापन, शिक्षा, कानुनलगायत मध्यमस्तरीय प्राविधिक जनशक्ति आवश्यक हुन्छ। विद्यार्थीले आफ्नो रुचिको क्षेत्र पहिचान गरी यी विषय अध्ययन गर्नुपर्छ। यसका लागि अभिभावक, शिक्षक, सहपाठीले विद्यार्थीलाई उपयुक्त मार्गदर्शन, राय, सल्लाह र सुझाव दिनुपर्छ। एसएलसी अध्ययनपछिका विद्यार्थीहरू विषय छनोटमा अलमल हुने र थरिथरिका सल्लाहले निर्णय लिन नसक्ने अवस्थामा पुगेका हुन्छन्। विज्ञान विषयमा खर्चिनुपर्ने समय र मेहनत सामान्य विषय अध्ययनमा लगाएमा पनि विद्यार्थीले उच्चस्तरको सिकाइ उपलब्धि हासिल गर्न सक्छन्। जुनसुकै विषय पनि महत्त्वहीन हुँदैनन्, भूमिका धेरै र थोरै हुने हो। कुनै विषय अध्ययनका लागि लामो समय र बढी खर्च लाग्ने पनि छन्। कुन विषय अध्ययन गर्ने भन्ने भन्दा पनि मेहनत कति गर्छौं भन्ने कुरा महŒवपूर्ण हुने गर्छ।

एसएलसी अध्ययनपछिका विद्यार्थीलाई उनीहरूको रुचि, उनीहरूको वास्तविक क्षमता, ल्याकत र भविष्यमा उनीहरूले चाहेको पेसालाई ध्यान दिएर विषय छनोटमा परामर्श, राय, सल्लाह र सुझाव दिनुपर्छ। यस समयमा सही छनोट हुन नसकेमा विद्यार्थीहरू उच्च माध्यमिक तह पूरा गर्न नै नसक्ने र पूरा गरे पनि उच्च अध्ययनमा राम्रो गर्न नसक्ने अवस्था आउने हुँदा यस्ता दुर्घटनाबाट बचाउनु अभिभावक, शिक्षक, सहपाठी र शिक्षाकर्मीको दायित्व हो।

शिक्षा विभागका महानिर्देशक खगराज बराललको लेख नागरिकबाट साभार

प्रतिक्रिया