काठमाडौं ६ असार / खेल क्षेत्रमा मात्र होइन, नेपालीहरूकै लागि चर्चित नाम हो पारस खड्का । नेपाली राष्ट्रिय क्रिटेट टिमको कुशल नेतृत्व गरिरहेका छन् पारस खड्का । उनी खेलमा जति सफल देखिन्छन्, अध्ययनमा त्यति उत्कृष्ट प्रमाणित गर्न सकेनन् । एसएलसी परीक्षामा ७८.५ प्रतिशत ल्याएर साइन्स विषयमा प्लस टुमा भर्ना भएका खड्का ‘ब्याक पेपर’ दिएर मात्र उत्तीर्ण भए, कारण थियो एसएलसीपछि उनको विषय छनोट सही नहुनु । हिमालयन ह्वाइटहाउस कलेजका अध्यक्ष युवराज शर्माका अनुसार खड्का प्लस टु पछि साइन्स छाडेर अरू विषय अध्ययन गरे ।
बिपुल काब्रा सन् २००५ का बोर्ड सेकेन्ड हुन् । उनी बोर्ड टप हुँदा पनि साइन्स पढेर डाक्टर वा इन्जिनियर बन्न चाहेनन् । काब्राले प्लस टुमा व्यवस्थापन रोजे र भारतीय राजदूतावासको छात्रवृत्तिमा दिल्ली युनिभर्सिटीमा एमबिए अध्ययन गरे । अहिले उनी भारतको एस बैंक मुम्बईमा म्यानेजर भएका छन् । उनले अहिले जति नाम र दाम कमाउन सफल भएका छन्, यसको कारण थियो उनले एसएलसीको नम्बर हेरेनन्, क्षमता र रुचिअनुसार विषय छाने र अध्ययन गरे ।
यी स्पष्ट हुन्छ एसएलसीपछि सही विषय छनोटले त्यसपछिको यात्रालाई सहज गराउँछ । यतिवेला लाखौँ विद्यार्थी एसएलसीपछिको यात्रा कस्तो बनाउने भन्ने चिन्तनमा छन् ।
०७२ सालको एसएलसी परीक्षाको नतिजा अक्षरांकन पद्धतिमा आइसकेको छ । अहिले विद्यार्थीहरू अबको शैक्षिक गन्तव्यका लागि उपयुक्त शैक्षिक संस्था र विषय चुन्न दौडिरहेका छन् । अघिल्ला वर्षहरूमा पनि एसएलसीको नतिजापछि यस्तै दौडधुप हुने गथ्र्यो, यो वर्ष पनि विद्यार्थीको उपयुक्त शैक्षिक संस्था र विषय छनोटका लागि दौडधुप देखिएको छ । तर, यो वर्षको परिवेश फरक रहेको छ, एउटा एसएलसीको ग्रेडिङमा नतिजा र अर्को कक्षा ११ र १२ माध्यमिक तहको संरचनामा फरक पर्नु ।
कक्षा ११ र १२ माध्यमिक तह बने पनि उच्च शिक्षा अध्ययको र आफ्नो करिअर बनाउने ढोका बनेको छ । यसअघिको उच्च माध्यमिक तह माध्यमिक तहभित्रै भए पनि विद्यार्थीले उच्च शिक्षा अध्ययन र आफ्नो करिअरका लागि उपयुक्त बाटो बनाउने आधार यही कक्षा ११ र १२ नै हो । प्राविधिक धारमा जानेहरूले कक्षा नौबाटै आफ्नो बाटो बनाउन सक्छन् भने साधारण विषय अध्ययन गरेकाले पनि कक्षा ११ र १२ मा छनोट गरेका विषयले नै भविस्य निर्धारण गर्न सक्छन् ।
उच्च माध्यमिक विद्यालय संघ हिसानका उपाध्यक्ष तथा ह्वाइट हाउस उच्च माविका सञ्चालक युवराज शर्माले विद्यार्थीले आफ्नो क्षमता नचिन्दा पछि समस्या हुने बताउँछन् । ह्वाइट हाउसमा प्लस टु पढेका पारस खड्कालाई अरू विषय पढ्न सुझाब दिएको तर उनले साइन्स नै पढ्ने भनेपछि भर्ना भएको बताए । पारस खेलमा रुचि र क्षमता भएको र साइन्स पढ्दा ब्याक लागेर पास हुनु परेको उनको भनाइ छ । सही निर्णयले सजिलो भएको र विषय छनोटमा ध्यान नपुर्याउँदा दु:ख पाउने गरेका धेरै उदाहरण भएको उनले बताए ।
अहिले ६ लाखभन्दा बढी विद्यार्थीले एसएलसीको नतिजा आएसँगै अबको नयाँ यात्रा सुरु गर्दै छन् । ग्रेडिङ प्रणालीमा नतिजा आएकाले पास र फेलभन्दा पनि उनीहरूको नतिजाका आधारमा अवसर पाउनेछन् । उनीहरूको एसएलसीको नतिजाको आधारमा विषय छनोट र विद्यालय छनोट गर्न सक्नेछन् । तर, एसएलसीका आधारमा मात्र विषय छनोट गर्नु उपयुक्त नहुने विज्ञहरूको भनाइ छ । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी विद्यार्थीको रुचिअनुसारको विषय छनोट गर्न दिनुपर्ने बताउँछन् । अध्यक्ष भण्डारी भन्छन्, ‘छोराछोरीको रुचिभन्दा अभिभावकको करकारपमा विषय छनोट गर्दा दुर्घटना हुने गरेका छन्, त्यसैले विषय विद्यार्थीलाई छनोट गर्न दिनुपर्छ, अभिभावको आर्थिक हैसियतअनुसार शैक्षिक संस्था छनोट गर्दा राम्रो हुन्छ ।’
यस वर्षको एसएलसी परीक्षामा हुनै पनि विद्यार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण घोषणा गरिएको छैन । तर, कक्षा ११ मा कुन विषयमा कुन ग्रेडका विद्यार्थी भर्ना हुने व्यवस्था भएसँगै न्यूनतम १.६ नल्याउने भने भर्ना हुन नपाउने भएका छन् । समग्रमा जिपिए १.६ आए पनि उनीहरूले रोजेको विषय पढ्नका लागि समूहअनुसार विभिन्न विषयमा तोकिएको ग्रेड ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
जिपिए १.६ आएका र विषयअनुसार कक्षा ११ मा साधारण विषय अध्ययन गर्न पाउँछन् भने एसएलसीका प्राबिधिक तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका भोकेसन विषयमा भने कुनै पनि विद्यार्थी वञ्चित हुने छैनन् । यस वर्षको एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेड गरी साधारणतर्फ ६ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थीले आवेदन फारम भरेका थिए । सोमध्ये ११ हजार आठ सय ६४ परीक्षार्थी परीक्षामा सामेल हुन अयोग्य भएको र १५ हजार पाँच सय ३७ जना अनुपस्थित रहेको र कुल पाँच लाख ८८ हजार एक सय ५२ परीक्षार्थी परीक्षामा सहभागी भए । नियमिततर्फ परीक्षामा चार लाख ३७ हजार तीन सय २६ र एक्जाम्टेडतर्फ एक लाख ५० हजार आठ सय २६ जना सहभागी भएका थिए । यी सबै विद्यार्थी अबको यात्रामा चिन्तत छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा विभिन्न विषय अध्यापनका लागि तीन हजार ६ सय ५९ संस्थालाई स्वीकृति दिएको छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्माले एसएलसी दिएका विद्यार्थीलाई पढाउन सक्ने क्षमता रहेको बताए ।
भर्ना लिन पनि अन्योल
ग्रेडिङमा पहिलोपटक नतिजा आएको र ११ मा भर्ना हुनका लागि विषयअनुसार फरक–फरक ग्रेड निर्धारण गरिएकाले भर्ना लिनेलाई पनि अन्योल बनाइदिएको छ । बबरमहलस्थित नेपाल मेगा कलेजका गोपाल खनालले पहिले प्रतिशत र साइन्स विषयलाई प्रमुख रूपमा हेरेर भर्ना गर्ने प्रचलन रहेकामा अहिले विद्यार्थीले पढ्ने विषयअनुसार एलएलसी परीक्षाको ग्रेड हेुनुपर्ने बताए । एसएलसीमा ग्रेडिङ प्राक्टिस नभएका कारण सबैलाई अन्योल भएको उनको भनाइ छ ।
कोही रोकिँदैनन् अध्ययनका लागि
यस वर्ष एसएलसी दिएका कोही पनि अध्ययनका लागि रोकिँदैनन् । तर, कस्ता विषय पढ्न पाउने भन्ने उनीहरूको रुचिले मात्र निर्धारण हुँदैन उनीहरूले प्राप्त गरेको ग्रेडमा पनि भर पर्छ । परीक्षा बोर्डका अध्यक्षसमेत रहेका शिक्षा सचिव विश्वप्रकाश पण्डितले कुनै पनि ग्रेडको विद्यार्थी पढ्नका लागि नरोकिने बताउँछन् । उनले सिटिइभिटीको टिएसएलसी पढेर सीप प्राप्त गर्न सक्ने तथा उनीहरूका ग्रेडअनुसार कक्षा ११ मा विभिन्न विषय अध्ययन गर्न सक्ने बताए ।
यस्ता कुरामा ख्याल गरौ
विद्यार्थीको ग्रेड, रुचि भएको विषय पढ्न शारीरिक, मानसिक तथा आर्थिक रूपमा पनि सक्षमताअनुसार अबको यात्रा तय गर्नुपर्छ । विद्यार्थीले आफूले पढ्ने विषयअनुसार कलेजको छनोट गर्नुपर्छ । आफूले पढ्न चाहेको कलेजको विगतको नतिजा, कलेजले दिने छात्रावृत्तिलगायत अन्य सेवा, कलेजको भौतिक संरचना अतिरिक्त क्रियाकलाप गर्न मिल्ने खालको छनोट गर्दा राम्रो हुन सक्छ । कलेजमा पढाउने शिक्षकहरूका विषयमा बुझ्नुपर्छ । कस्तो शिक्षण विधि अपनाउने गरिन्छ सो विषयमा पनि खाल गर्नुपर्ने विज्ञहरूको सुझाब छ ।
प्रतिशतको मनोविज्ञानले जिपिएको गतल ब्याख्या
यस वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको केही दिन बितिसकेको भए पनि ग्रेड प्रणाली, जिपिए र कक्षा ११ को भर्नाको विषयमा अन्योलता कायम छ । विद्यार्थी मात्र होइन, अभिभावक र विद्यालय सञ्चालकसमेत प्रतिशतको गलत मनोविज्ञानमा रुमल्लिएका छन् । एसएलसीको नतिजापछि कक्षा ११ मा भर्ना हुन शैक्षिक संस्थामा जाने विद्यार्थीलाई काउन्सलरले समेत बुझाउन सकेका छैनन् ।
केहीले जिपिएलाई प्रतिशतमा बदलेर आफ्ना छोराछोरी तथा विद्यार्थीको सफलताको चर्चा गरिरहेका छन् । ग्रेड पोइन्टका बदला रेन्जभित्रको माथिल्लो नम्बर काउन्ट हुने तथा ग्रेड पोइन्टका आधारमा जिपिए निकालेर त्यसलाई पनि प्रतिशतमा निकाल्दा वास्तविक क्षमताभन्दा उसको माथिल्लो स्तर देखिने विज्ञको भनाइ छ ।
सर्वसाधारणले मात्र होइन, अहिले विद्यालय सञ्चाकले पनि यस्तै भ्रम फैलाइरहेका छन् । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले ग्रेड सिस्टमले विषयअनुसारको क्षमता देखाउने भएकाले सोहि अनुरूप बुझ्न आग्रह गरे । पहिलोपटक ग्रेडिङमा लागेकाले सबैतिर अन्योल छाएको उनको भनाइ छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतम लेख्छन् ।
प्रतिक्रिया