काठमाडौं ६ असार / सुर्खेतकी यमुना रावलले यस वर्षको प्रवेशिका परीक्षामा 'ए' ग्रेड प्राप्त गरिन्। भविष्यमा के बन्ने उनी अझै प्रस्ट छैनन्। तर, एउटा कुरामा भने स्पष्ट छिन्। 'अरू जे गरे पनि राजनीतिमा चाहिँ लाग्दिनँ,' उनले भनिन्, 'नेताहरूले करप्सन मात्र गरेको सुनेकी छु ।'
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिएकी रावलजस्तै अन्य एसएलसी उत्तीर्ण पनि राजनीतिमा आउन अनिच्छुक देखिए। भविष्यमा के बन्ने भन्ने प्रश्न राख्दा धेरैले डाक्टर, इन्जिनियर, बैंकर, वकिल, शिक्षक बन्ने अभिलाशा दर्साए। तर, कसैले पनि नेता बनेर देशको सेवा गर्ने सोच राखेनन्।
हेटौंडाका जयप्रकाश दास भविष्यमा डाक्टर बन्न चाहन्छन्। 'ए प्लस' मा उत्तीर्ण उनले डाक्टर बन्ने आफ्नो सानैदेखिको रहर रहेको सुनाए। 'नाइँ नेता त नबन्ने,' राजनीतिमा रुचिबारे प्रश्न भुइँमा झर्न नपाउँदै उनी पनि टकटकिए, 'राजनीतिमा मेरो अलिकति पनि रुचि छैन।' राजनीतिमा गाउँदेखि केन्द्रसम्मै विकृति मौलाएकाले नेताहरूप्रति चौतर्फी आलोचना मात्रै हुने गरेको उनको बुझाइ छ।
फलामे ढोका पार गरेर सुदूर भविष्यसम्मको लक्ष्य तय गर्ने मोडमा उभिएका युवामा देशलाई आमूल परिवर्तन गरी समृद्धिमार्गमा डोहोर्याउन सक्ने क्षेत्रप्रति यति धेरै वितृष्णा किन त?
समाजशास्त्री गणेश गुरुङ नेपालको राजनीतिमा 'रोलमोडेल' को अभावका कारण युवापिढी यसतर्फ आकर्षित हुन नसकेको बताउँछन्। 'सिंगापुर, मलेसियाका जस्ता रोलमोडल नेता यहाँ पनि भइदिएको भए सम्भवतः युवापिढीमा त्यसतर्फ रुचि देखिन्थ्यो होला,' उनले भने, 'यही रोलमोडल अभावमा उनीहरू राजनीतिप्रति आकर्षित नभएका हुन्।'
युवापिढीमा राजनीतिप्रति वितृष्णा छाएकोले नाकारात्मक धारणा आएको पत्रकार रवीन्द्र मिश्रको बुझाइ छ। घरघरमा राजनीति र नेताप्रति हुने आलोचनाले कलिलो मस्तिष्कमा नकारात्मक धारणा रोपिँदै गएकोमा उनी चिन्तित छन्। 'भविष्यमा मुलुक हाँक्नुपर्ने युवामा राजनीतिप्रतिको यस्तो वितृष्णा देशकै लागि घातक हुन सक्छ,' उनी भन्छन्।
मिश्र भने आफ्ना छोराछोरी राजनीतिज्ञ नै बनून् भन्ने चाहन्छन्। उनकी कान्छी छोरीले भर्खरै 'ए प्लस' ग्रेडमा एसएलसी उत्तीर्ण गरिन्। 'म मेरा छोराछोरी राजनीतिज्ञ बनून् भन्ने म चाहन्छु,' उनले भने, 'यसो भए म गौरवान्वित हुने थिएँ।'
राजनीति बिग्रियो भनी गुनासो राख्ने अभिभावकले आफ्ना सक्षम सन्तानलाई त्यसलाई सपार्नतर्फ प्रेरित नगर्दा राजनीतिले कोल्टे फेर्न नसकेको उनको बुझाइ छ। 'राम्रा मान्छे सबै बाहिर गएर काम गर्ने, विदेशी संघसंस्थामा छन्,' उनले भने, 'मुलुकको नेतृत्व लिने ठाउँमा पुग्नचाहिँ कोही अघि नसर्ने प्रवृत्ति छ।'
हिन्दू विद्यापीठबाट 'बस् प्लस' ग्रेड प्राप्त गरेकी सविता पौडेललाई मुलुकको विकासले गति लिन नसकेको थाहा छ। म्यानेजमेन्ट विषय पढ्ने तरखरमा रहेकी उनी मुलुक व्यवस्थापन गर्ने ठाउँमा जान भने मन पराउँदिनन्। 'नेता त म पनि नबन्ने,' अघिल्लो साथीको जबाफ सुनेकी उनले भनिन्, 'अहिलेको समयमा नेता त को पो बन्ला र?'
विद्याज्योति उच्चमावी सुर्खेतका दिवाकरप्रताप शाह नेता त बन्न चाहन्छन् तर पहिला आफ्नो भविष्य सुनिश्चित गर्नुपर्ने सोच राख्छन्। 'पहिला आफैं बाँच्न सक्षम हुने अनि राजनीतितिर सोचौंला,' उनले भने।
दलका नेता भ्रष्टाचार र अनियमिततामा मुछिएका दृष्टान्त बढ्दै जाँदा समग्र राजनीतिले नै जनताको भरोसा गुमाउँदै गएको वर्तमान सन्दर्भमा शाहको धारणा नौलो ठान्दैनन्, समाजशास्त्री गुरुङ। उनका अनुसार अहिलेको पिढी पहिला आफ्ना आधारभूत आवश्यकता पूरा गर्न लागिपर्छ। र, त्यो राजनीतिबाट सम्भव हुनेमा उनीहरूलाई भरोसा छैन। 'उनीहरू अहिले नेम र फेमभन्दा पनि आफ्नो भविष्य सुरक्षित गर्ने पेसा रोज्न चाहन्छन्,' उनी भन्छन्, 'त्यही कारण पनि उनीहरू नेता बन्नेभन्दा डाक्टर, इन्जिनियरप्रति आकर्षित भएका हुन्।
नागरिकमा उपेन्द्र लामिछानेले लेखेका छन्
http://www.nagariknews.com/news/287
प्रतिक्रिया