- विश्वप्रकाश पण्डित / लेटर ग्रेडिङ् प्रणालीबाट एसएलसी नतिजा सार्वजनिक गरेर दिर्घकालमा शिक्षामा सुधार गर्ने कामको शुरुवात गरिएको हो । केही कुरा अलमलमा आएका छन् । अस्पष्ट भएका कुरालाइ अझै पनि स्पष्ट पार्न मन्त्रालय तयार छ । तर बुझ्नु पर्ने कुरा के हो भने, कोही पनि विद्यार्थी पढ्न नपाउने अवस्था हैन । बरु हाम्रो संस्कार र संस्कृतीले अहिलेको अलमल आएको छ । हामी सबैले ११ पढ्नु पर्ने, सबैले पीएचडी गर्नु पर्ने, माष्टर्स गर्नु पर्ने मान्यताले समस्या भएको हो । हाम्रा राजनीतिक नेता र म जस्ता सचिव र सहसचिवले आफ्नो छोरो कार्पेण्टर भयो भन्दा गर्व गर्दै नगर्ने भयौं, त्यही नेर समस्या छ ।
अहिलेको मूल्याँकन पद्धतीले मान्छेको ल्याकत परीक्षण गरिएको हो । विद्यार्थीको क्षमता अनुसार पढाई विकास गर्न खोजिएको हो । पढाई जहिले पनि जिविकोपार्जनका लागि भएको र उक्त अवसर तल्लो तहमा रहेकाले कामलाई सम्मान गर्ने संस्कारको विकास गरेर मात्रै सम्भव हुन्छ ।
यसका लागि प्राविधिक शिक्षाको लगानी बढाउनु पर्ने छ । तर, हाम्रो प्राविधिक शिक्षाको क्षमता छैन । लगानी पुगेन ।
अभिभावकले जनताले शिक्षकले कर्मचारीले देख्दा शिक्षा मन्त्रालय सरकार हो । तर जव पैसाको आवश्यकताको कुरा आउँछ शिक्षा मन्त्रालयको पनि सरकार अर्थ मन्त्रालय हुन्छ । त्यहाँ नेर लड्नु पर्ने भयो हामीलाई । यस पटकको बजेटमा कम्तिमा २७ अर्व रुपैंया थप चाहिने हामीले तर्कपूर्ण हिसावमा प्रस्तुत गर्यौं । जो कोही यो कुरामा सहमत हुन सक्छ, तर अर्थ मन्त्रालयलाई सहमत गर्न सकिएन । अर्थ मन्त्रालय कहाँ फोकस गर्ने भन्ने कुरामा स्पष्ट भएन । मैले आधिकारिक रुपमा चर्को र स्पष्ट बोलेको हुँ ।
सामान्य परिवारको एक जना शिक्षत भयो भने त्यसले पुरै परिवारलाई शिक्षित गर्ने हाम्रो समाजको विशेषता हो । शिक्षा भनेको त्यस्तो साधन हो, किन ध्यान नदिने भनेर बारम्बार भन्दा पनि उहाँहरुले राख्नु भएन । त्यहाँ भन्दा धेरै भन्ने कुरा हामीसंग केही छैन । त्यसमा अव हामीलाई मज्जा लागि राखेको छ । के भनौं अरु !
सचिव बैठकमा पनि मैले एकदमै चर्को गरी भनेँ – सुन्ने कानहरु कहिँ छन् भने, भनेको सुन्ने कान भए भनेको हो, सुन्दै नसुन्ने कानै नभए पछि कहाँ भन्ने ? त्यसैले हाम्रो प्राविधिक शिक्षामा लगानी पुगेको छैन । टिएसएलसी लगायत प्राविधिक शिक्षामा लगानी बढाउनु पर्ने छ । रोजगारी त्यहीँ छ ।
सबैले पीएचडी गरेर हुँदा पनि हुँदैन सबैले माष्टर्स गरेर हुँदा पनि हुँदैन । माष्टर्स पीएचडी गर्न शुरु गरेर वीए पास गरेपछि अरब जान पनि हुँदैन । त्यो सट्टा टिएसएलसी गरेर सीप सिकेर यहीँ काम गरेर खाए हुन्छ ।
हामी कहाँ विकासको बहस पुगेन । हामी भाषाको बहस धेरै गर्यौं । हामीले राजनीतिको बहस गर्यौं, संघीयताको बहस गर्यौं । तर विकासको बहस गरेनौं । रोजगारी श्रृजना गर्ने आर्थिक विकासले हो । त्यसैले टीएसएलसी जस्ता प्राविधिक शिक्षा लिएकालाई यहीँ रोजगार दिन्छौं भनेर पनि आर्थिक विकासको योजजा निर्माण गर्नु आवश्यक छ ।
(लेटर ग्रेडिङ् प्रणालीबाट एसएलसी नतिजा सार्वजनिक भएसंगै देखिएका अन्यौल र चुनौतीका बारेमा काठमाडौंमा भएको छलफलमा शिक्षा सचिव पण्डितद्धारा ब्यक्त विचारको सम्पादीत अंश ।)
प्रकाशित मिति २०७३ असार ३ गते
प्रतिक्रिया