काठमाडौं - कक्षा ११ मा कुन स्तरका विद्यार्थी भर्ना हुने भन्ने निर्णय समयमा गर्न नसक्दा एसएलसी नतिजा सार्वजनिक भएसंगै अन्यौल बढेको शिक्षा मन्त्रालयले स्विकार गरेको छ । कुन ग्रेड प्राप्त विद्यार्थीले कुन विषय पढ्न पाउने भन्ने बारेमा अन्यौल बढ्नुमा उक्त निर्णयमा भएको ढिलाई मुख्य कारण भएको सचिव विश्वप्रकाश पण्डितले स्विकार गरेका हुन् ।
शिक्षा पत्रकार सञ्जालले शुक्रवार गरेको कार्यक्रममा सचिव पण्डितले अहिले देखिएका अन्यौल केही दिनमै हट्ने दावी पनि गरे । 'हामीले पहिले नै निर्णय गरेनौं अस्ति निर्णय गर्यौं, त्यो कुरा विद्यालय तह सम्म कम्युनिकेट भईसकेको छैन, त्यसैले आज अन्यौल छ हामीले स्विकार गर्नु पर्छ' उनले भने, 'अव हप्ता दिन जतिमा यो प्रष्टै भएर जान्छ, सबै मान्छेले हामी यहाँ रहेछौं, यस्तो हुँदो रहेछ भन्ने कुरा प्रष्ट भएर जान्छ भन्ने मलाई लाग्छ ।'
नतिजा सार्वजनिक हुनु अघिल्लो दिन अवेर मात्रै कक्षा ११ मा पढ्ने विद्यार्थीको आधार तय गरिएको थियो ।
पढ्नुहोस् : कक्षा ११ मा विद्यार्थी भर्नाको आधार तय
लेटर ग्रेडिङ् प्रणालीबाट एसएलसी नतिजा सार्वजनिक गरेर दिर्घकालमा शिक्षामा सुधार गर्ने कामको शुरुवात गरिएको सचिव पण्डितले बताए । अस्पष्ट भएका कुरालाइ अझै पनि स्पष्ट पार्न मन्त्रालय तयार पनि उनको भनाई थियो । कोही पनि विद्यार्थी पढ्न नपाउने अवस्था नभएको बताउँदै उनले हाम्रो संस्कार र संस्कृतीले अहिलेको अलमल आएको बताए ।
'हामी सबैले ११ पढ्नु पर्ने सबैले पीएचडी गर्नु पर्ने, माष्टर्स गर्नु पर्ने मान्यताले समस्या भएको हो' उनले भने, 'हाम्रा राजनीतिक नेता र म जस्ता सचिव र सहसचिवले आफ्नो छोरो कार्पेन्टर भयो भन्दा गर्व गर्दै नगर्ने भयो, त्यही नेर समस्या छ ।'
अहिलेको मूल्याँकन पद्धतीले मान्छेको ल्याकत परीक्षण गरिएको बताउँदै उनले क्षमता अनुसार पढाई विकास गर्न खोजिएको बताए । पढाई जिविकोपार्जनका लागि भएको र उक्त अवसर अहिले भन्दै आईएको जस्तो तल्लो तहमा रहेकाले कामलाई सम्मान गर्ने संस्कारको विकास गरेर मात्रै सम्भव हुने उनको भनाई छ । यसका लागि प्राविधिक शिक्षाको लगानी बढाउनु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै शिक्षाविद् विद्यानाथ कोइरालाले लेटर ग्रेडिङ्लाई 'देखावटी'को संज्ञा दिदैं अहिलेको समय यो परिवर्तनले ल्याएको अवस्थामा के गर्ने भन्ने तिर बहस र छलफल आवश्यक रहेको बताए । ग्रेडिङ् हुने वित्तिकै गुणस्तर सुध्रन्छ भन्ने कुरा फटाह कुरा भएको बताउँदै उनले बरु सुधारात्मक कक्षाका निम्ति शिक्षकलाई कसरी तयार पार्ने भन्ने तिर सोच्नु जरुरी रहेको बताए । अन्यौल चिर्नका लागि विद्यार्थीको ब्यक्तिगत क्षमता पहिचान गरी शिक्षकलाई सुधारात्मक कक्षामा लाग्न र विद्यार्थी कमजोर भएमा शिक्षकलाई गरीने कारवाहि स्ष्टि गर्न उनको सुझाव छ । 'नत्र भने ए वी सी डी भनेर के के न होला भनेका छौं त्यो के के न होला जस्तो मैले देख्दिन' उनले भने 'अंकमा जाच्नु भनेको अपराध नै त हैन, सय अंकलाई नौ अक्षरमा बाँढेको त हो, त्यसैले गुणस्तर बढाउनु भनेको शिक्षको क्ष्मता बढाउनु नै हो ।'
कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले कुनै पनि विद्यार्थीको क्षमता अनुसार शैक्षिक मार्ग तिर जाने की कामको संसार तिर जाने भन्ने तय भएको उल्लेख गरे । पाढ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, परीक्षा नियन्त्रक कृष्ण काप्री, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी र प्याब्सनका महासचिव डीके ढुङ्गानाले लेटर ग्रेडिङ् यसको महत्व र चुनौतीका बारेमा बोलको थिए ।
प्रकाशित मिति २०७३ असार ३ गते
प्रतिक्रिया