Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

नयाँ शक्तिमा शिक्षक संगठन : ‘मोही माग्ने तर ढुंङ्ग्रो लुकाउने !’

मंगलबार, ३२ जेठ २०७३

काठमाडौं – पार्टीको भातृ संगठनका रुपमा गठित ‘शिक्षक समाज नेपाल’ राख्ने की नराख्ने भन्ने विषयमा नयाँ शक्तिमा विवाद भएको छ । आईतबार रंगशालाबाट औचिारिक घोषणा भएको नयाँ शक्तिको सोमबारदेखि प्रज्ञा प्रतिष्ठानमा ‘छलफल सत्र’ का नामबाट जारी बन्द सत्रमा शिक्षक भातृ संगठन राख्ने या नराख्ने भन्ने विषयमा पार्टीका शिक्षक र नेताहरुबीच विवाद भएको हो ।

‘ऐनमा नभएको काम गर्दा सही दिशामा जान सकिदंैन की भन्ने चिन्ता केही साथीहरुमा छ’ एक नेताले भने, ‘अरुले जस्तै ट्रेड युनियन खोल्दै भागवण्डाको राजनीति गर्न थालियो भने नयाँ शक्ति अरु पार्टी भन्दा के फरक भयो र ? त्यसैले शिक्षक संगठन राख्ने की नराख्ने भन्ने विषयमा अलिकति विवाद नै छ ।’

शिक्षा ऐनले शिक्षक महासंघको परिकल्पना गरेको छ । तर, अन्य पार्टीहरुमा शिक्षक संगठन रहेकोले आफुहरुलाई पनि संगठन चाहिने नयाँ शक्तिमा आवद्ध शिक्षकहरुको दवाव रहेको ती नेताले बताए । बन्द सत्रमा विभिन्न जिल्लाबाट शिक्षकहरु पार्टी प्रतिनीधिकै रुपमा सहभागी छन् ।

यस अघिनै शिक्षक समाज नेपालले जिल्ला जिल्लामा आफ्नो शाखा समेत विस्तार गरिसकेको छ । उक्त संगठनलाई आधिकारिक संगठन घोषणा नगर्ने तर आफ्नो पेशागत हकहितका लागी ‘व्याक अप फोर्स’ बनाउने भन्ने बारेमा छलफल भए पछि विवाद भएको हो ।

‘मोही माग्ने तर ढुंङ्ग्रो लुकाउने !’ भन्दै केही नेताले शिक्षक संगठन आधिकारिक भनेर घोषणा गर्न माग समेत गरेका छन् ।

शिक्षक नेताले शिक्षक संगठन घोषणा गर्न माग गरे पनि नेतृत्वले अहिले नै शिक्षक संगठन घोषणा गर्न मानेको छैन  पार्टी नेतृत्वले यो विषयलाई सार्वजनिक र आधिकारिक भन्न समेत चाहेको छैन । अर्का एक नेताका अनुसार संयोजक डा. बाबुराम भट्टराईले नै शिक्षक संगठनलाई तत्कालै पार्टीको आधिकारिक संगठन भन्ने पक्षमा छैनन् ।

गत फागुन ९ गते राजधानीको बुद्धनगरस्थित एक  बैंङ्क्वैटमा भएको एक भेलाले दल बहादुर विसीको संयोजकत्वमा ५१ सदस्यीय शिक्षक समाज नेपाल गठन गरेको थियो । भेलाको उद्घाटन गर्दै नेता भट्टराईले ‘शिक्षक संगठन खोले पनि तत्काल नयाँ शक्तिको शिक्षक संगठन’ नभन्न आग्रह गर्दै यसलाई सतहमा ल्याउन चाहेका थिएनन् ।

नभन्दै चैतको अन्तिम साता पार्टीका केही नेताले शिक्षक, प्रध्यापक, कर्मचारी संगठन राख्नै नहुने र राखेको खण्डमा समानान्तर संगठन नै चलाउने चेतावनी दिएपछि नयाँ शक्तिले आफ्ना १३ वटा भातृ संगठन खारेज गर्दै विभाग मार्फत् काम गर्ने निर्णय गरेको थियो । सोही अन्तर्गत शिक्षक, प्राध्यापक मञ्च लगायत संगठनलाई शिक्षा विभाग अन्तर्गत राखेर विवाद साम्य पारिएको थियो ।

गठनको केही समयमै विवादित भएपछि शिक्षक समाज नेपालले बैशाख ११ गते पार्टी कार्यालय बबरमहलमा बैठक बसी दलको भातृसंगठनका रुपमा नभई वैचारिक राजनीतिक दृष्टिकोणलाई समर्थन गर्ने निर्णय गरेको थियो । उक्त भेलाले ‘समाजलाई कुनै पनि राजनीतिक दलको भातृ संगठनका रुपमा नभई पेशागत कर्तव्य र अधिकारका लागि अग्रसर हुने तर राष्ट्र निर्माण, विकास, समृद्धि र शैक्षिक एवम् वौद्धिक क्रान्तिका लागि अग्रसर कुनै पनि नयाँ वैचारिक राजनीतिक दृष्टिकोणलाई समर्थन गर्ने’ निर्णय गरेको थियो ।

नयाँ शक्ति नेपालका शिक्षा विभाग प्रमुख राजेन्द्र केसीले यसबारेमा छलफल चलिरहेकोले निर्णय हुनै बाँकी रहेको बताए । ‘यो शुरुदेखि नै विवादमा छ । तर अहिले हामीलाई चाहिए पनि घोषणा गर्ने पक्षमा छैनौँ । हेरौं अन्तिम निक्र्यौल के हुन्छ ?’ उनले भने ।

प्रकाशित मिति २०७३ जेठ ३२ गते

प्रतिक्रिया