Edukhabar
आइतबार, २५ फागुन २०८१
खबर/फिचर

‘घर न घाट’को अवस्थामा अस्थायी शिक्षक

विहीबार, २७ जेठ २०७३

- विष्णु विवेक ।   सरकारले अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ दिएर विदाई गर्ने तयारी गरेकामा अहिले कार्यरत धेरै शिक्षकलाई खुशी लागेको छ । अझ कतिपयलाई त यो कहिले पाइएला र यसबाट आफु विदा भइएला भन्ने पनि खसखस छ । तर अर्घाखाँचीका जगन्नाथ पाण्डेँलाई यसले अलकति पनि छोएको छैन । कारण उनी अस्थायी शिक्षक त हुन् तर ‘गोल्डेन ह्यान्डसेक’ नपाउने !  अर्थात अवकाश प्राप्त । 

बाजुराको जगन्नाथ माध्यामिक विद्यालयमा करिब ३० बर्षसम्म शिक्षण सेवा गरेका उनले गत बर्षमात्रै अवकाश पाए । २०४२ सालदेखि निरन्तर शिक्षण सेवामा रहिरहँदा पटक पटक शिक्षक सेवा आयोगमा परीक्षा दिएपनि उनी स्थायी हुन भने सकेनन् । 

जसका कारण उनले ३० बर्ष गरेको शिक्षण सेवा सेवामै सिमित भयो । न स्थायी भएर पेन्सन बुझ्न पाए न त अस्थायी रहदा नै सरकारबाट स–सम्मानसहितको ‘गोल्डेन ह्यान्डसेक’ । उनी भन्छन् ‘हुनुपर्ने बेला र पाउनुपर्ने बेला केही पाइएन । अहिले सरकारले जे ल्याएपनि विश्वास लाग्दैन् । किनकी विश्वास लाग्नेगरी सरकारले कामै के गर्न सकेको छ र ?’

२०५२ सालमा शिक्षक सेवा आयोग खोलेको सरकारले करिब ८ बर्षपछि नतिजा निकाल्यो । अस्थायी शिक्षकलाई सबैभन्दा ठूलो गुनासो लाग्ने भनेकै त्यही हो । नजिता भएको आठ आठ बर्षसम्म पनि नतिजा निकाल्न सकेन । त्यसपछि पनि बर्षेनी आयोग खुलेनन । जसका कारण अस्थायी शिक्षकहरु सेवा गरेपनि स्थायी हुने मौकाबाट बञ्चित भइरहे ।

तीन दशक शिक्षण पेशाबाट गत बर्ष मात्रै विदा लिएका पाण्डेँ सर भन्छन् ‘हिजो सबथोक यही हो भनेर पढाइयो । अहिले न पेन्सन पाइयो न गोल्डेन ह्यान्डसेक नै । घर न घाटका जस्तै भयौँ ।’

उनकै जस्तै पीडा तनहुँका बद्री पाण्डेँलाई पनि छ । नयाँ शिक्षा ऐन आएसगै सरकारले कार्यविधि बनाएर अस्थायी शिक्षकलाई स–सम्मान विदाई गर्ने कुरा उनलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात !’ जस्तै लाग्छ ।

‘सेवा गरेका बेला कसैले हेरेन, यस्ता कुरा आउँदा पनि आएनन् । अहिले आयो त हामी के गरौँ’ उनले भने । 

वि.स.२०४४ सालदेखि २०६८ सम्म तनहुँकै लक्ष्य दीपक माध्यामिक विद्यालयमा विज्ञान र गणित पढाउने उनको शिक्षण पेशाप्रति गर्व भन्दा बढी पीडा छ । किनकी उनले निजामति क्षेत्रमा काम गरे जस्तो राम्रै भत्ता र ठूलै सम्मान पनि रोजेनन् । अनि छोराछोरीको कचकच पनि सुनेनन् । अहिले आएर छोराछोरीले भनकै जस्तो हो की ? भन्ने बद्री सरलाई लागेको छ ।

‘उत्तिबेला छोराछोरीले यो पढाएर केही हुदैन्, लोकसेवा लड्नुस, निजामतिमा जागिर खानुस भनेका थिए । जहिले झगडा गर्थे मसंग । तर मलाई पढाउन जति आनन्द अरुमा लागेन् । तर अहिले आएर हो की त जस्तो लाग्छ । किनकी जति पढाएर सेवा गरेपनि शिक्षकलाई सरकारले शिक्षकको जस्तो व्यवहार कहिल्यै गरेन ।’ गुनाँसो पोख्दै उनले भने ।

२०४६ सालयता देशमा ठूलो परिवर्तन भयो । पञ्चायत शासन हटाएर दलहरुले बहुदल ल्याए । बर्षैपिच्छे सरकार पनि परिवर्तन भइरहे । तर अस्थायी शिक्षकलाई त के शिक्षा र स्थायी शिक्षककै लागी कुनै गतिलो व्यवस्था आएन । 

उनी बारम्बार झोक्रिने गर्छन्, पछिल्लो समय सरकारीभन्दा नीजि विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्नुमा सरकारले शिक्षकलाई उचित सम्मान नगरेरै त होला नि !

‘तर चिन्ता गरेर केही हुदैन् रहेछ । शिक्षा र विद्यार्थीकै चिन्ता गरेर यतिका बर्ष विताइयो । यसका लागी त हामीले भन्दा सरकारले सोच्नुपर्ने रहेछ । शिक्षा सुधार गर्नुपर्छ । सरकारले लगानी गरेकै ठाउँमा आम जनताका छोराछोरीले पढ्नुपर्छ । र हामीले मन लाएर पढाउनुपर्छ भन्ने धारणा कहिल्यै फेरिएन । अहिल्यै आफै फेरिनुपर्यो, तर पनि सरकारको कार्य शैली फेरिएन् ।’ उनले भने ।

पाण्डेँ सरसंगै रहेका स्याङ्जाका प्रेम रेग्मी र काठमाडौँकै हरि श्रेष्ठको गुनसाो पनि यही छ । रेग्मी सर गणित विषय पढाउँछन् भने श्रेष्ठ सर विज्ञान विषय । रेग्मी जगन्नाथ र बद्री सर जस्तै अस्थायीमै २०६९ मा अवकाश प्राप्त शिक्षक हुन् । सानैमा लडेर खुट्टामा चोट लागेपछि अपाङ्गता बनेका उनले पनि झण्डै २५ बर्ष शिक्षण पेशामा काम गरे । तर सरकारको स–सम्मान विदाई भने लिन पाएनन् ।

उनीसंगै रहेका श्रेष्ठ भने २०६० सालमा स्थायी भएका हुन् । झण्डै १५ बर्षसम्म सेवा गरेका उनी पनि स्थायी त भए तर पेन्सन पाउन सकेनन् । गत बर्षमात्रै अवकाश पाएका उनी पनि शिक्षण पेशाप्रति गर्व लाग्ने भएपनि सरकारको व्यवहारले सन्तुष्टि दिन नसकेको बताउँछन् । 

‘पढाउँदा खेरी विद्यार्थीको भविष्य बनाउनुछ भन्ने कुरामा दत्तचित्त भएर लागिन्छ । कुनै कुराको लोभ हुदैन् । तर जब सरकारी सेवामै नीजामति क्षेत्रका कर्मचारीले अवकाशपछि पनि पाउने सुविधा र शिक्षकको सुविधा हेर्यो भने मन कटक्क खान्छ । यसले कताकति के नपुगे जस्तो भन्ने असन्तुष्टि लागिरहन्छ ।’ उनले भने ।

‘शिक्षा विग्रनु’मा सरकार नै दोषी 

बहुदल आएपछि सामुदायिक विद्यालयको शिक्षामा निकै ठूलो ह्रास आएको छ । शहरका चोक चोक गल्लीमा खुलेका बोर्डिङ स्कुलमा विद्यार्थी रुमल्लिएका छन् । यो गर्ने भनेकै सरकारी शिक्षक नै हुन् । यसमा दलका कार्यकर्ता मिसिएका मात्रै त हुन् ।

शिक्षण पेशालाई सरकारले सम्मान गर्न भन्दा पनि गुजारा गराउने धाउन्नमै लागेपछि अस्थायी र स्थायी शिक्षकहरुले नै नीजि विद्यालय सञ्चालन गरेको ठोकुवा उनीहरुको छ ।

शिक्षकलाई गतिलो तलब दिएर स–सम्मानका साथ विद्यालयमै टिकाईराखेपछि नीजि विद्यालयको दादागिरी आफै सकिने श्रेष्ठ बताउँछन् । 

‘सरकारले अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक दिएर विदा त गरोस । तर स्थायी शिक्षकलाई जिम्मेवार पनि बनाओस’ श्रेष्ठ सर भन्छन् ‘शिक्षालाई व्यापार बनाउने शिक्षक र राजनीतिक दलका कार्यकर्तालाई खुल्ला छाड्नुहुदैन् ।’

देशमा बर्षैपिच्छे सरकार फेरिएपनि जनताका आवश्यकता मध्येको एक शिक्षा नफेरिकाएप्रति शिक्षक नै बढी चिन्तित र जिम्मेवार हुनुपर्ने उनको धारणा छ । 

‘सरकार त यस्तै हो । दलका नेतालाई झन् भनिसाध्य छैन्’ उनी भन्छन् ‘यदि शिक्षा सुधार्ने हो र अहिलेको बेथिती हटाउने हो भने पहिला शिक्षकलाई बढी जिम्मेवार बनाउनुपर्छ । सरकारले खान पुग्ने तलब दिएपछि दिनभर सरकारी विद्यालयमै काम गर्नुपर्छ । ‘हेल्मेट टिचर’ बन्नु भएन । बन्न दिनु पनि भएन ।’

अस्थायी शिक्षकले पढाउन जानेनन् भनेर सबैले हामीमाथी दोष लाउने गरेपनि विद्यालय शिक्षा विग्रनुमा सरकारकै दोष रहेको चारै जनाको दाबी छ ।

‘हामीलाई पढाउन जान्दैनन् । अस्थायी शिक्षक हुन् यी भनियो । तबल भत्ता सुविधा केही हुदैन् । त्यो पीडाका बाबजुद पनि पढायौँ । तर स्थायी शिक्षकले कति पढाए ? अनि हामीले कति पढायौँ । विद्यार्थीले के सिके ? भन्ने हिसाबकिताब सरकारले राख्न जानेन्, सकेन’ चारैजनाले एकै स्वरमा भने ।

शिक्षण पेशाप्रतिको आकर्षण घट्दो  

अहिलेकै समयजस्तो गरी यदि शिक्षकलाई उचित सम्मान र सुविधा नदिने हो भने यो निश्चित छ, दशकौसम्म पनि सामुदायिक विद्यालय शिक्षामा परिवर्तन असम्भव छ ।  शिक्षाका वास्तविक प्रतिमुर्ति शिक्षकलाई सम्मान र सुविधा दिदाँको फाइदा राज्यले उठाउँछ र सामुदायिक विद्यालयमा लगानी बढ्छ । तर अहिले अवस्था यसको ठीक उल्टो छ । 

तनहुँका बद्री सर भन्छन् ‘सबैले पढेपछि पहिला डाक्टर इन्जिनियर बन्ने भन्छन् । शिक्षक बन्ने कसैले भन्दैनन् । शिक्षण पेशा गरेर विद्यार्थीलाई पढाउनु भन्दा खाडी गएर झुठाँ भाडा माझ्नु अहिलेका युवालाई ठीक लाग्छ । किनकी शिक्षण पेशामा न उचित सम्मान छ न त राम्रो कमाई नै । यो मैले नै भोगेको छु र मेरा छोराछोरी पनि मलाई यसै भनिरहेका छन् ।’

विकसित देशमा शिक्षण पेशालाई सबैभन्दा बढी सम्मान गरिन्छ । र सुविधा पनि अरुका भन्दा धेरै नै दिइन्छ । तर भ्रष्टाचार र अनियमितता बढ्दो हाम्रो मुलुकमा शिक्षकले कहिले सम्मान र सुविधा पाउने हुने ? यो भविष्यको गर्भमा छ । 

अहिलेको युवा र दक्ष जनशक्तिलाई आकर्षण गर्न राज्य निरन्तर चुकिरहेको रेग्मी पनि सर बताउँछन् । 

‘शिक्षण पेशाप्रति आकर्षण पटक्कै छैन् । जागिर खानका लागी शिक्षक धेरै बन्ने गरेपनि यो रोजाईको पेशा बनेको छैन् । यो जति अरु विडम्बना मुलुकका लागी के हुन्छ ? रेग्मी सर प्रश्न गर्छन् ‘अहिलेको दक्ष र आवश्यक जनशक्ति शिक्षामा ल्याउन सकिएन भने मुलुकको विकास कहिले र कसरी होला ? 

प्रकाशित मिति २०७३ जेठ २७ गते ।

प्रतिक्रिया