काठमाडौँ, २७ जेठ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा भक्तपुरको ऐतिहासिक ९९ चोक भित्र बनेका सरकारी कार्यालय र विद्यालय हटाउनुपर्ने सरोकारवालाले माग गरेका छन् ।
भूकम्पपछिको पुनःनिर्माणलाई अवसरका रुपमा लिएर ९९ चोकको उत्खनन गर्न यस्ता संरचना हटाउन सरोकारवालाले माग गरेका हुन् । भक्तपुरमा ९९ चोकभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, महानगरीय प्रहरी परिसर, जिल्ला अदालत, जिल्ला प्राविधिक कार्यालय, नेपाल बार एसोसियसन, भक्तपुर नगरपालिकाको पुरानो भवन, काठमाडाँै उपत्यका विकास प्राधिकरणलगायतका कार्यालय रहेका छन् ।
त्यसैगरी, श्रीपद्य उमावि, विद्यार्थी निकेतन उमावि र सारदा मावि पनि ९९ चोकभित्रै पर्ने भन्दै भूकम्पले भत्काएका ती कार्यालयलाई अन्यत्र स्थानमा सारेर ती क्षेत्र उत्खनन गर्नुपर्ने संस्कृति संरक्षणकर्मी रवीन्द्र पुरीले बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुनःनिर्माणका क्रममा ९९ चोक भित्रका संरचनाको उत्खनन गर्नुपर्ने बताउनुभयो । गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले प्रशासन र विद्यालय सारेर ती क्षेत्रमा उत्खनन गरी विकल्प दिनुपर्ने बताए ।
उनान्सय चोक भित्रका कार्यालय अन्यत्र स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयको अगुवाइमा उपयुक्त जग्गा खोजी भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उपयुक्त जग्गा पाइएमा कार्यालय स्थानान्तरण गर्न सकिने बताए ।
श्रीपद्य उमाविका प्राचार्य राम हाडा, विद्यार्थी निकेतन उमाविकी प्राचार्य सर्जनी जोशी र सारदा माविका प्रिन्सिपल उद्धव सुजखुले अन्य ठाउँमा विकल्प दिएमा विद्यालय स्थानान्तरण गर्न सकिने बताए ।
भक्तपुरको व्यासीमा नगरपालिकाले गरिरहेको देकोमिवा इतापाके जग्गा एकीकरण आयोजनाका संयोजक रवीन्द्र खर्बुजाले हाल एक हजार ६५३ रोपनीमा भइरहेको आयोजनाभित्र जिल्लाका सरकारी कार्यालय र विद्यालयका लागि २५ रोपनीदेखि १५० रोपनीसम्म जग्गा परल मूल्यमा दिन सकिने बताए ।
भक्तपुरका अधिकांश पुरातत्वविद् एवम् इतिहासविद्ले भक्तपुर सांस्कृतिक सहर घोषणा भइसकेका अवस्थामा अब हुने सम्पदाको पुनःनिर्माणमा ९९ चोकभित्र बनेका अधिकांश संरचनाको उत्खनन गरेर संरक्षण गर्नुपर्ने बताउँदै आएका छन् ।
भक्तपुर दरबार क्षेत्रभित्र रहेका ९९ चोकमध्ये अहिले मूल चोक, मालती चोक, द्धिभाजु चोक, कुमारी चोक, भण्डारखाल चोक, लुंहिटी चोक, जन्ह चोक, यमद्वार चोक, महादेव चोक, भैरव चोक, बैक्व चोक, नृत्येश्वर चोक, लक्ष्मीविलास चोक, तुँथी चोक, जिःस्वाँ चोक, गणेश चोक र दथु चोकमात्रै छन् भने अरु मासिइसकेका छन् ।
(गोरखापत्र दैनिकमा प्रकाशित)
प्रतिक्रिया