काठमाडौँ, २६ जेठ । नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट जेल चलान भएका छन् । नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन् । एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो ।
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । मुद्दा चलाइएका १० इन्जिनियर नौ हजार धरौटीमा छुटेका छन् । पाइलट विशाल कार्कीलाई भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
गोमा एयरमा को–पाइलटका
रूपमा कार्यरत कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले २१ वैशाखमा पक्राउ गरेको थियो । आइएस्सीमा फेल भएपछि अमृत साइन्स क्याम्पसको नाममा नक्कली प्रमाणपत्र बनाई त्यसकै आधारमा फिलिपिन्सबाट पाइलट पढेर उनी एक वर्षदेखि गोमा एयरमा को–पाइलटमा कार्यरत थिए ।
महानगरीय अपराध महाशाखाले १५, १६ र १७ वैशाखमा मा नक्कली प्रमाणपत्रधारी इन्जिनियरलाई पक्राउ गरेको थियो । प्रहरीले नक्कली इन्जिनियरहरू हितेश सिंह, पुजनकुमार खत्री, पुष्पराम शर्मा, कृष्णकुमार झा, मनीषकुमार यादव, सनत श्रेष्ठ, शेखर पञ्जियार, सन्तोष लामा, सन्देश घिमिरे, श्रीराम आचार्यलाई पक्राउ गरेको थियो । उनीहरू प्रतिव्यक्ति नौ हजार रुपैयाँका दरले धरौटीमा छुटेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले बताए ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाई लाइसेन्स निकाल्न सहयोग गर्ने कम्प्युटर डिजाइनर अंकित खड्का र सुबित खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अंकित जेल चलान भएका छन् भने सुबित ४० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । ललितपुरको गाबहालमा कम्प्युटर डिजाइनसम्बन्धी काम गर्दै आएका खड्काले विभिन्न इन्जिनियरिङ कलेजको दुरुस्तै सर्टिफिकेट बनाउने गरेका थिए ।
पक्राउ परेका इन्जिनियर तथा उनीहरूको नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेलाई प्रहरीले मुद्दा दायर गरेको थियो । सरकारी दस्तखत तथा छाप किर्तेसम्बन्धी ऐनअनुसार प्रहरीले मुद्दा दायर गरेकोमा अभियुक्त सामान्य धरौटीमै छुटेका छन् । यस्तो अपराधमा तीन वर्षसम्म कैद सजाय हुनसक्ने ऐनमा व्यवस्था छ ।
ल अनुसन्धान पनि फितलो
नक्कली पाइलटविरुद्ध सीता एयरले समेत ठगीको उजुरी दिएको थियो । नागरिक उड्ययन प्राधिकरणले पनि कारबाहीका लागि निवेदन दिएको थियो । तर, नक्कली इन्जिनियरविरुद्ध जाहेरी नै परेन । इन्जिनियरिङ काउन्सिल तथा सम्बन्धित कलेजले उनीहरूविरुद्ध जाहेरी नदिँदा इन्जिनियरहरूको मुद्दा कमजोर बनेको हो । प्रहरीले अनुसन्धानमा समेत मिहिनेत नगर्दा उनीहरू सामान्य धरौटीमै छुटेका हुन् ।
यसअघि सिआइबीले पक्राउ गरेका १७ नक्कली चिकित्सकमध्ये कसैलाई ३० लाख रुपैयाँ धरौटी मागेको थियो भने कोही १० हजार धरौटीमै छुटेका थिए । सिआइबीले सरकारी अस्पतालमा कार्यरत सुजित श्रेष्ठलाई उनले सरकारबाट लिएको तलबलाई बिगो बनाई मुद्दा दायर गर्दा उनलाई करिब ३० लाख धरौटी माग भएको थियो । सरकारी अस्पतालमै कार्यरत अन्य नक्कली चिकित्सकबाट भने त्यति बिगो दाबी गरिएन । नक्कली चिकित्सकलाई मेडिकल काउन्सिल ऐनअनुसार मुद्दा दायर भएको थियो । उनीहरूको चिकित्सक दर्ता प्रमाणपत्र भने रद्द भएको छ ।
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया