Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

शिक्षक आयोगको विज्ञापनमा ६५ गुना धेरैको आवेदन

सोमबार, २४ जेठ २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकका लागि खोलेको विज्ञापनमा आवश्यकता भन्दा झण्डै ६६ गुना धेरैको आवेदन परेको छ । मावि तह तृतीय श्रेणीको ६ सय ११ पदका लागि खोलिएको उक्त विज्ञापनमा ४० हजार १ सय ५७ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

सबै भन्दा धेरै नेपालीमा ११ हजार ३ सय ४३ को आवेदन परेको छ । जबकी नेपालीमा १ सय ७ पदका लागि मात्रै आयोग खुलेको हो । यस्तै ९३ पदका लागि खुलेको सामाजिकमा १० हजार ३ सय ४ जनाको र १ सय २८ पदको अंग्रेजीमा ९ हजार १ सय ८५ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

यस्तै १ सय ५० पद रहेको विज्ञानमा २ हजार ५ सय ३६ र २० पद रहेको लेखामा १ हजार १ सय २ जनाको आवेदन परेको छ । कुन पदमा कतिको आवदेन परेको छ विस्तृतमा हेर्नुहोस् :

 

उक्त परीक्षा आगामी असार ४ गते हुँदै छ । परीक्षाको सबै तयारी चुस्त रहेको आयोगका अध्यक्ष ताना गौतमले बताए । हामी आयोगको परीक्षालाई विश्वसनीय बनाउने कुरामा कुनै कसर बाँकी राख्दैनौं उनले भने यतिका धेरै मान्छेको सपना र योजनासंग जोडिएको कुरा भएकोले पनि हामी सजग र सचेत छौं । गत फागुन ३० गते खुलेको आयोगको फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको थियो, दोब्बर दस्तुर तिरेर बैशाख ६ गते सम्म फारम भनै सकिने आयोगले ब्यवस्था गरेको थियो ।

शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको हो ।

विभिन्न १४ विषय मध्ये अन्य विषयमा स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३  ३ पदका लागि विज्ञापन गरिएको छ । यस्तै शिक्षा र संस्कृत भाषाका लागि २ २ तथा कृषि र वेदका लागि १ १ पदमा विज्ञापन खोलिएको छ ।

पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा थप एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको थियो । पूर्वाञ्चलमा जिशिका मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिशिकामा फारम भर्न पाईने ब्यवस्था गरिएको थियो ।

प्रकाशित मिति २०७३ जेठ २४ गते

प्रतिक्रिया