काठमाडौँ, २४ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी नतिजा असार लाग्नेवित्तिकै सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा सार्वजनिक गर्न आन्तरिक गृहकार्य तिब्र बनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सबै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङलाई कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको छ ।
दुई दिनभित्र सबै प्राप्ताङक इन्ट्री गरिसक्ने पनिकाको योजना छ । कार्यालयले हरेक विद्यार्थीको प्राप्ताङलाई दुईओटा कम्प्युटरमा इन्ट्री गराउँछ । उक्त काम सकिएपछि दुईओटा कम्प्युटरमा इन्ट्री गराइएको प्राप्ताङक एउटै छ की छैन् भनेर रुजु गरिन्छ ।
पनिकाका अनुसार असारको तीन या चार गतेभित्र नतिजा सार्वजनिक भइसक्नेछ । कार्यालयले यसपटकको परीक्षा चैत्र १८ गतेदेखि सञ्चालन गरेको थियो । अघिल्लो बर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भएपनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो ।
यस बर्षको एसएलसी नतिजा लेटर गे्रडिङ पद्धतिमा सार्वजनिक हुनेछ ।
(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया