Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

निरक्षरता उन्मुलन : हुलमूलमै सञ्चालित कार्यक्रम

बुधबार, १९ जेठ २०७३

- पेशल आचार्य / ‘अक्षर’ भनेको स्वर सहितको व्यञ्जन वर्ण हो । अर्थात् स्वर वर्णै पनि अक्षर नै हो । संस्कृतमा ‘नक्षर इति अक्षर’ भनिएको छ । यसको अर्थ हो –‘अक्षरहरू कहिल्यै नाश हुँदैनन् ।’ हो, पनि उच्चार्य वर्ण होस् कि लेख्य । त्यो एक पटक बोलिसके पछि लेखिसकेपछि नष्ट हुँदैन भनेर संस्कृतका ग्रन्थले नै भनेका छन् । तिनका रूप मात्र फेरिन्छन् रे !

समूल रूपमा अक्षर कहिल्यै पनि नाश हुँदैनन् । यसमा सत्यांश पनि छ । अहिले महाभारतका पात्रहरूको आवाजको अर्थात् औच्चार्य अक्षरहरूको धुइँपत्ताल खोजी विज्ञानले गरिरहेको छ । माथिको प्रसङ्ग त भयो –अक्षरको व्यापकता । अहिले हामी निरक्षरताका सन्दर्भमा गठ जोड्याएर उभिएका छौं ।

हाम्रो देशका लागि निकै दशकदेखिको टाउको दुखाइको विषय हो निरक्षरता उन्मुलन । नेपालमा शिक्षा र चेतनाका कुरा गर्दा राणाकालको इतिहासलाई नै मन लगाई नलगाई भने पनि पल्टाउनु पर्ने हुन्छ । जङ्गबहादुरको तीन महिने बेलायत यात्रा पछि देखासिकी कै रूपमा सहि नेपालमा पनि औपचारिक शिक्षाको जग बस्यो । आफ्ना सन्तानलाई मात्रै भए पनि आधुनिक विश्वको चेतना बढाउन थापाथलीको दाखचोकमा दरबार हाइस्कुलको स्थापना गरे । कालान्तरमा त्यसले देशभरि नै शिक्षा र चेतनाको उभार ल्याउन प्रत्यक्ष अप्रत्यक्षरूपमा मद्दत गर्यो ।

वि.सं.२००२ साल तिर नेपालको कूल साक्षरता २ प्रतिशत मात्रै थियो । अर्थात् एकसय जना मानिसमा अन्ठानब्बे जना मानिसहरू निरक्षर या ल्याप्चे थिए । यो एक प्रकारले कहालीलाग्दो अवस्था थियो । यस्तो अवस्थाले नेपालको शैक्षिक जगत्को टिठलाग्दो अवस्था चित्रण गर्दथ्यो ।

साक्षर भनेको अक्षर लेख्ने र पढ्ने हो । नेपाली भाषाकै हजुरमुमा मानिएको संस्कृतकै सहारा लिएर भन्दा पनि –‘स अक्षर इति साक्षर’ अर्थात् जोसँग अक्षर छ, त्यो नै साक्षर हो । जसले अक्षर लेख्न वा पढ्न जानेको छ यथार्थमा त्यो नै साक्षर हो । अझ एक कदम अगाडि बढेर भन्ने हो भने जो आफ्ना मनका भावनाहरू लेखेर स्पष्ट पार्छ त्यो नै साक्षर हो । यति बेलामा भने सबै शिक्षितलाई साक्षर कै कोटीमा राख्न सकिन्छ । अनि निरक्षर भनेको ‘निर अक्षर इति निरक्षर’ हो । अथवा ‘जो पढ्न लेख्न जान्दैन वा दस्तखत आदि गर्दा पनि ल्याप्चेको प्रयोग गर्दछ त्यो नै निरक्षर हो ।’

अहिले नेपालमा एकसय जनामा अझै पैँतीस जना मानिसहरू निरक्षर नै छन् । अर्थात् अझै एक तिहाइभन्दा पनि बढी मानिसहरू निरक्षर छन् । करिब ३ करोडको हाराहारीमा जनसंख्याको हिसाब भयो भने पनि अढ्तीस देखि चालीस लाख मानिसहरू अहिले पनि निरक्षर छन् ।

शिक्षा कुनै पनि मानिसको जीवनमा जन्मदेखि मृत्युपर्यन्त चलिरहने शाश्वत र निरन्तर प्रक्रिया हो । केही विद्वान्हरूले त शिक्षण सिकाइ प्रक्रियालाई ‘ओहम टु टोहम’ पनि भनेका छन् । यसो भनेर यसले गर्भदेखि चिहानसम्मलाई भनेको हो । महाभारतको मिथकलाई विश्वास मान्ने हो भने अर्जुनले सुभद्राको गर्भमा रहेका अभिमन्युलाई चक्रव्यूहमा पस्न सिकाएका तर आमा सुभद्रा कथान्तमा निदाए पछि अभिमन्यु पनि निदाउन विवश भएकाले चक्रव्यूहबाट बाहिर निस्कने उपाय नजानी चक्रव्यूहमै परेर मृत्यु भएको कुरा वर्णन गरिएको छ । यो त भयो आख्यान अर्थात् कल्पित आख्यान । तर वास्तविकतामा पनि निरक्षरता उन्मुलन सम्भव छ ?

यो प्रश्न अहिले हामी नेपालीका सामु सुरसाले मुख बाहेझैँ गरी उभिएको छ । तर समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान गर्ने हो भने निरक्षरता उन्मुलन बास्तवमै सम्भव छ । त्यो यसरी उन्मुलन गर्न सकिन्छ ।

हामी स्थानीय तहमा काम गर्ने शिक्षाकर्मी त भन्छौ निरक्षरता बास्तवमै उन्मुलन सम्भव छ । त्यसका लागि चाहिन्छ –परिणाममुखी कार्ययोजना र पुरस्कार एवम् दण्डको संहितारूपि कानुन । अनि समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान ।

एकछिनका लागि म मेरै भूगोलको कुरा गर्छु । मध्य पहाडी भूगोलको कुरा गर्छु । यो कुनै कल्पित आख्यान होइन बरू सत्यांश मिश्रित बास्तविकता पनि हो ।

मेरो कार्य क्षेत्र शिक्षण हो । म नेपाली शिक्षक हूँ । म रामेछाप जिल्लाको मन्थली उमाविमा कार्यरत छु । म काम गर्ने स्थानमा विभिन्न तहमा सरकारी र निजी गरी कक्षा एक देखि दशसम्म मात्र ३१ जना शिक्षकहरू छौं । प्लस टुको कुरा गर्ने हो भने हामी पूर्णकालीन र अल्पकालीन गरी २० जना अध्यापकहरू छौं । यसरी हामी कक्षा १ देखि १२ सम्म अल्पकालीन र पूर्णकालीन गरी ५१ जना शिक्षकहरू कार्यरत छौं ।

माध्यमिक तहमा मैले पढाएको गएको पुस महिनादेखि बीस पुगेर एक्काइस वर्ष लाग्यो । मैले सेवा दिने विद्यालय उच्च माध्यमिक विद्यालय हो । यस विद्यालयमा सरकारी तबरबाट विभिन्न कार्यक्रमहरू लागू भएका छन् । सामुदायिक विद्यालयमा दरिएको यो विद्यालयमा कक्षा एकदेखि बाह्र कक्षासम्म सोह्रसय विद्यार्थी पढ्छन् । त्यस भन्दा माथि स्नातक र स्नातकोत्तर तहको क्याम्पसमा एकहजार जति दुवै जोड्दा छब्बीस सय हुन्छ । अब यहाँ सिटिइभिटीको कार्यक्रम पनि सञ्चालित छ जसमा ८० जना पढ्छन् । जसको संख्या जोड्दा छब्बीस सय असी हुन्छ । बाँकी रह्यो खुला विद्यालय, समाहित शिक्षा र गृहिणी शिक्षा गरी ६० जति पढ्छन् यी सबै जोड्दा सत्ताइस सय चालिस हुन्छ ।

मैले यो तथ्याङ्कलाई यहाँ जोडजाड गर्न खोजेको कुरा के हो भने यहाँ अध्ययन गर्ने आठ देखि स्नातकोत्तर र स्नातक तहसम्मका प्रत्येक एक विद्यार्थीलाई उसको तह उत्तीर्ण गर्न उसका वरिपरिका निरक्षर मानिसहरूको तथ्याङ्क टिपोट अनुसार प्रयोगात्मक विषय बनाएर काम दिने हो भने र कक्षा ८ भन्दा माथि स्नातकोत्तर तहसम्म प्रति विद्यार्थी बराबर पाँच जना निरक्षर मात्रलाई साक्षर बनाउने अभियान अनिवार्य रूपमा लागू गर्ने हो भने यो विद्यालयको सेवा क्षेत्र भित्रकै करिब पन्ध्रहजार निरक्षर प्रौढ या अधबैँसेलाई हामी प्रतिवर्ष साक्षर बनाउन सक्ने रहेछौं ।

यो रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा अवस्थित विद्यालयले गर्ने मात्र सानो कामको सिधा हिसाबको तथ्याङ्क हो । गत वर्ष यो जिल्लामा पनि सरकारी तबरबाट साक्षरताको कार्यक्रम सञ्चालनमा आएको थियो । जसको हुलमूलमै कार्यक्रम सञ्चालन भयो र निरन्तर अनुगमन पनि भएन ।

मैले माथि सुझाएको जुक्तिले जाने हो भने न्यून बजेटमा सरकारी काम भन्दा पनि विद्यालयको प्रत्येक ८ देखि स्नातकोत्तर कक्षा सम्मको विद्यार्थीको एकसय पूर्णाङ्कको प्रयोगात्मक विषय नै साक्षरता भन्ने नामाकरण दिएर किटानीका साथ राख्ने हो भने यस जिल्लामा एकहत्तर वटा सामुदायिक माध्यमिक विद्यालय र ४१ वटा सामुदायिक प्लस टु पढाइ हुने विद्यालयहरू छन् । यसरी निश्चित खाका बनाएर जाने हो र औपचारिक शिक्षाको कुनै कक्षा वा तह पार गर्ने विद्यार्थीलाई सोही मुताविक पाँचजना निरक्षरको समूह बनाएर पाठ्यक्रमका साथ अभियान चलाउने हो भने सरकारले बालुवामा पानी खन्याएझैँ गरी पैसा पनि निरक्षरताका नाउँमा खन्याउनु पर्दैन ।

एउटा विद्यालयले वार्षिक रूपमा पन्ध्र हजारका दरले निरक्षरता उन्मुलन गर्न सक्ने हैसियत राख्न सक्छ भने जिल्लाको आंकडाले त झन् आशातीत चित्र देखाउन सक्छ । यस्तो जिल्लाकै पनि वार्षिक तीस चालिस हजार मानिसलाई साक्षर बनाउन पनि सकिन्छ । यसलाई औपचारिक शिक्षामा लगेर जोड्ने हो भने जो कोहीले पनि यसको प्रभावकारिता अध्ययन गर्न सक्छ । यसरी हेर्ने हो भने नेपालका ७५ वटा जिल्लामा सरदर चालिस देखि पचास हजारको हाराहारीमा निरक्षरहरू रहेका छन् । 

नेपालमा निरक्षरता उन्मुलन किन आवश्यक छ ?

–    सार्क सदस्य राष्ट्र श्रीलङ्कामा निरक्षरता उन्मुलन भैसकेको छ । भारत पनि निकै पहलका साथ अगाडि बढ्दै छ । नेपालभन्दा भुटान र पाकिस्तान पनि शिक्षा र निरक्षरता उन्मुलनका सन्दर्भमा अगाडि बढेकाले नेपालमा पनि निरक्षरता उन्मुलन अति आवश्यक भैसकेको छ ।

–    सबै नागरिकको जन्मसिद्ध अधिकार नै हो –शिक्षा र साक्षरता । सबैलाई साक्षर बनाउनै पर्छ । साक्षर नागरिक भए भने देश पनि द्रूतत्तर गतिमा विकासको मार्गमा अघि बढ्न सक्छ ।

–    प्रौढ, तन्नेरी र बालबालिकालाई सबैभन्दा सजिलो साक्षर बनाउने उपाय तीन किसिमको पाठ्यक्रमको विकास गर्ने अनि माथि भनिएझैँ प्रत्येक विद्यालयको नक्साङ्कनअनुसारको आधारभूत तहको माथिल्लो कक्षा ८ देखि कम्तिमा १० या १२ कक्षाका सबै विद्यार्थीलाई प्रति विद्यार्थी पाँच जना निरक्षर मानिसका दरले एकसय पूर्णाङ्कमा प्रायोगिक विषयका रूपमा साक्षरता अभियान चलाउने ।

–    यसको अवधि एक शैक्षिक वर्ष नै राख्ने ।

–    पाँचभन्दा बढी निरक्षरलाई साक्षर बनाउन सकेमा विद्यार्थीलाई बढी अङ्क दिन प्रोत्साहन गर्ने नियम पनि अवलम्बन गर्ने ।

–    साक्षर बनाउने जिम्मेवारी आधारभूत रूपमा विद्यार्थीको हुने जसमा शिक्षक पनि प्रत्यक्षरूपमा जोडिने । साक्षर बनाए नबनाएको परीक्षाजस्तै लिने व्यवस्थागर्ने ।

–    प्रत्येक निरक्षरलाई एक वर्ष आफ्नो या अरूको बालबालिकाबाट समुदाय, टोल, गाउँ या क्लबमा पढ्ने व्यवस्था माध्यमिक विद्यालयले मिलाउने । समूह विभाजन गर्दा सिकाउने विद्यार्थी र निरक्षरको तालमेल मिलाउने । 

–    सामान्य अनुगमनको व्यवस्था माध्यमिक विद्यालयका प्रअले मिलाउने ।

–    अनुगमनमा माध्यमिक विद्यालयका माध्यमिक र निम्न माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकलाई गराउने ।

–    निरक्षरहरूलाई एक वर्षको सैद्धान्तिक र प्रयोगात्मक शिक्षा पछि मध्यावधि र अन्तिम परीक्षा लिने व्यवस्था गर्ने । त्यस्तो परीक्षा विद्यालयमै लिने व्यवस्था गर्ने । मध्यावधि परीक्षा विद्यार्थीको अद्र्ध वार्षिक र अन्तिम परीक्षा विद्यार्थीको अन्तिम परीक्षाको लगत्तै लिन सकिन्छ ।

–    साक्षरताको पाठ्यपुस्तक जटिलताका आधारमा प्रौढलाई सरल, तन्नेरीलाई सीपमूलक र कार्यमूलक तथा बालबालिकालाई औपचारिक शिक्षामा जान सकिन खालको हुनु पर्छ ।

–    विशेष अनुगमनको जिम्मा जिल्ला शिक्षा अधिकारी या निजले तोकेको अधिकारीलाई दिने व्यवस्था गर्ने ।

विद्यालय भित्र प्रधानाध्यापक, कपषा भित्र कक्षा र विषय शिक्षकलाई यसको अनुगमनको जिम्मा दिन सकिन्छ । जिल्लामा यो जिशिकाको स्रोत केन्द्र अन्तर्गत अनुगमनको संयन्त्र बनाए पनि हुन्छ । यसरी यो कार्यक्रमलाई पाँच÷दस वर्ष अभियानकै रुपमा लैजाने हो भने हाम्रो जस्तो देशको पनि निरक्षरताका उन्मुलन भई साक्षरताको प्रतिशतको सतप्रतिशतले वृद्धि हुन्छ । नेपालमा अघिअघि ल्याइएका पुराना प्रकारका योजनाका लागि मात्र योजना बन्ने कार्यप्रणालीलाई अब बन्द गरी नयाँ र समुदायमा आधारित साक्षरताको अभियान थाल्नु ढिला भैसकेको छ ।

प्रकाशित मिति २०७३ जेठ १९ गते                          

प्रतिक्रिया