काठमाडौँ, १९ जेठ । राजधानीमा सञ्चालित अधिकांश नीजि विद्यालयले सरकारले तोकेको मापदण्ड र नियमविपरित कार्य गरिरहेका छन् । शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा प्याब्सन, एनप्याब्सन, अभिावक संघ र विद्यार्थी संगठनले गरेको अनुगमनमा यस्तो देखिएको हो ।
केही विद्यालयले विद्यार्थीसंग चर्को शुल्क असुलेका छन् भने केहीले सञ्चालनको अनुमति समेत नलिई कक्षा चलाइरहेका छन् । धमाधम भर्ना लिएर कक्षा ८ सम्म पढाइरहेका भक्तपुर सल्लाघारीको राजर्षि गुरुकुलले कक्षा सञ्चालनको अनुमति नलिएको अनुगमन टोलीले फेला पार्यो ।
यो स्कुलले भक्तपुरबासी विद्यार्थीलाई ५० हजार र बाहिरका विद्यार्थीलाई ७५ हजार भर्ना शुल्क लिने गरेको छ । स्कुलको अतिरिक्त क्रियाकलापका नाममा थप १० हजार लिने गरेको पनि अनुगमन टोलीले दिएको प्रतिवेदनमा उल्लेख छ ।
राजधानीमा केही समय अघि गरिएको सयुँक्त अनुगमनमा शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, शिक्षा विभागका महानिर्देशक खगराज बराल, निर्देशक बैकुण्ठ अर्याल, देवकुमारी गुरागाई, मध्यमाञ्चल शिक्षा निर्देशनालयका निमित्त निर्देशक दिनेश श्रेष्ठसहित प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायत विद्यार्थी संगठन पनि सहभागी थिए ।
यस्तै नीजि विद्यालयले लिने आफखुसी शुल्कलाई विद्यालय निरिक्षक र स्रोतव्यक्तिले बैधानिक दिने गरेका छन् । काठमाडौको अक्सिडेण्टल स्कुलमा विद्यालय निरिक्षक र स्रोतव्यक्तिको उपस्थितीमा भएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ । साथै गत बर्ष लिनेगरेको शुल्कमा ५६ देखि ६० प्रतिशत शुल्कबृद्धि गरेको पनि देखिएको छ ।
(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।)
प्रतिक्रिया