Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय जान ज्यानै जोखिममा

शनिबार, ०२ असोज २०७२

काठमाडौं २ असोज / डोटीको सात्फरी गाविस–४ कि १६ वर्षीया मनकला बिनाडी कक्षा–९ कि छात्रा हुन् । उनी सोही गाविसको जोराघाट माविमा पढ्छिन् । उनको विद्यार्थी जीवन निकै जोखिमपूर्ण छ ।

विद्यालय जान करिब सवा ९ बजे हिँड्छिन् । बाटोमा टुँडागाड खोला पर्छ । एक ढुंगाबाट अर्को ढुंगामा हामफालेर खोला तर्नुपर्छ । हामफाल्दा उनको सास फुल्छ । ‘पारि तरिने हो वा खोलामा खसेर पानीसँग बगिने पो हो भन्ने डर लाग्छ,’ उनी भन्छिन्, ‘तर, के गर्ने सधैँ विद्यालय नगए पढाइ बर्बाद हुन्छ ।’

प्रत्येक दिन विद्यालय जाँदा र आउँदा त्रास पालेर हिँड्नुपर्ने उनी बताउँछिन् । वर्षामा भेल आएका वेला खोला किनारबाटै फर्किनुपरेको उनको भनाइ छ ।

उनी मात्र होइन, सात्फरी गाविसका अरू पनि विद्यार्थी ज्यान जोखिममा राख्दै खोलामा हाम फालेर विद्यालय जाने गरेका छन् । १२ वर्षीया ताराकुमारी बिनाडी कक्षा–६ मा पढ्छिन् । कक्षा–५ सम्म आफ्नै गाउँमा रहेको प्राथमिक विद्यालयमा अध्ययन गरेकी थिइन् । उनी यस वर्ष मात्र कक्षा–६ मा पुगेपछि जोराघाट मावि जान थालेकी हुन् ।

खोलाकै कारण उनी नियमित विद्यालय जाँदिनन् । भन्छिन् ‘हाम फालेर तर्न गाह्रो हुन्छ, कहिलेकाहीँ त तरिगए तरुँला, मरिगए मरुँला भनेर हाम फाल्छु ।’ वर्षामा विद्यालय जान समस्या भएको उनको भनाइ छ । ‘त्यसैले खोलाको पानी घटेर तर्न सक्ने भएपछि मात्रै विद्यालय जान्छु,’ उनले भनिन् ।

सात्फरी गाविस–६ पातलका १४ वर्षीय रमेश बोहरा कक्षा–६ का विद्यार्थी हुन् । सामान्यतया उनको गाउँबाट विद्यालय जान एक घन्टा लाग्छ । तर, उनी थप डेढ घन्टा हिँडेर खोलाको झोलुंगे पुल तरेर विद्यालय जान्छन् । उनी भन्छन् ‘खोलामा एक ढुंगाबाट अर्को ढुंगामा हाम फालेर तर्न डर लाग्छ, त्यसैले माथिबाट पुल तर्ने गरेको छु ।’ विद्यालय आउजाउ गर्न रमेश दैनिक पाँच घन्टा हिँड्ने गर्छन् ।
पुल नहुदा विद्यालय छाड्दै

मनकला, तारा र रमेश मात्रै होइनन् यस्तो जोखिम मोलेर विद्यालय जाने, उनीहरूजस्ता सयभन्दा बढी विद्यार्थीको दैनिकी यस्तै चल्ने गरेको छ । टुँडागाड खोलामा पुल नहुँदा विद्यार्थीले बीचमै कक्षा छाड्ने गरेका छन् । अभिभावकले पनि ढुक्कले बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन् ।

कतिपय विद्यार्थीले खोला तर्दा ज्यानै गुमाउनुपर्ने अवस्था छ । एक हप्ताअगाडि मात्रै कक्षा–७ मा अध्ययनरत धनकुमारी बोहरा खोला तर्ने क्रममा बगिन् । तर, भाग्यवश उनी बाँच्न पुगिन् । उनलाई बग्दै गरेको देखेका बालबालिका मानसिक तनावमा छन् । घटना सुनाउँदै गर्दा आङ सिरिंग भएको विद्यार्थी मनकला बिनाडीले बताइन् । उनी भन्छिन्, ‘संयोगवश त्यो दिन खेतमा काम गरेर फर्किरहेका स्थानीय वयस्कले पौडी खेलेर धनकुमारीलाई बचाए, नत्र उनको ज्यान जाने थियो ।’ यस्ता थुप्रै घटना भएको उनी बताउँछिन् ।

खोलापारि बस्ने बिद्यार्थी नियमित रूपमा विद्यालय नआउने गरेको जोराघाट माविका प्रधानाध्यापक यज्ञराज बिनाडी बताउँछन् । उनी भन्छन्, ‘खोलामा पुल त छ, तर त्यो पुल तरेर आउन विद्यार्थीलाई करिब अढाइ घन्टा लाग्छ, त्यसैले उनीहरू नियमित रूपमा विद्यालय आउँदैनन् ।’
वर्षात्को समयमा निकै समस्या हुने गरेको प्रअ बिनाडीको भनाइ छ । खोलापारि रहेका जोराघाट, पातल, कान्तोलालगायतका गाउँका विद्यार्थी जोराघाट माविमा पढ्न आउने गरेका बिनाडी बताउँछन् ।
ढुक्क छैनन् अभिभावक

‘विद्यालय गएका छोराछोरी घर फर्कन्छन् कि फर्कन्नन् भन्ने चिन्ता दिनभरि लागिरहन्छ,’ स्थानीय अभिभावक नन्दलाल बिनाडी भन्छन्, ‘साँझ छोराछोरी घर पुगेपछि मात्र खुसीको सास फेर्छौं, तर के गर्नु बिहान फेरि मुटु ढुकढुक हुन थाल्छ ।’ बालबालिका दैनिक समस्यामा भए पनि पुल हाल्न कसैले चासो नदिएको उनले बताए । पटकपटक गाविससँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

‘नपढेका केटाकेटीको अब काम छैन भन्छन्, त्यसैले ज्यानको बाजी लगाएर भए पनि सबैले छोराछोरीलाई विद्यालय पठाइरहेका छौँ,’ अर्का स्थानीय अभिभावक पदमबहादुर बोहरा भन्छन्, ‘छोराछोरी विद्यालय गएपछि फर्केर आउँछन् कि आउँदैनन् भन्ने चिन्ता लागिरहन्छ ।’
विद्यार्थीलाई मात्रै नभई अरूलाई पनि खोलाले निकै प्रभावित बनाएको स्थानीय किसान देवबहादुर नेपाली बताउँछन् । ‘बस्ती यता छ, खेत उता छन्, खोलामा बाढी आयो भने खेतमा काम गर्न पनि जान सकिँदैन,’ नेपालीले भने ‘बर्सेनि गाईबस्तु बगाउने गरेको छ यो खोलाले ।’ आफैँले पनि चारजना मान्छे खोलाले बगाएको देखेको उनी सुनाउँछन् । नेपालीको कुरामा सही थप्दै स्थानीय प्रेमबहादुर कुँवर भन्छन्, ‘सुमरखेतको बजारसम्म आउजाउ गर्ने मुख्य बाटो यही हो हाम्रो, तर के गर्ने पुल नभएका कारण निकै समस्या छ ।’

पुल निर्माणका लागि पटक–पटक गाउँपरिषद् र इलाकास्तरीय योजना तर्जुमा गोष्ठीबाट निर्णय गरी जिविस पठाएको भए पनि कुनै सुनुवाइ नभएको गाविसका प्राविधिक सहायक छविलाल
बिनाडीले बताए ।

नयाँ पत्रिकामा कर्ण चन्दले लेखेका छन् ।

प्रतिक्रिया