Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविमा २५ दिनपछि खुल्यो ताला

शनिबार, ०२ असोज २०७२

काठमाडौं २ असोज / त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा व्यवस्थापकीय नियुक्तिमा भागबन्डामा गर्ने सहमति भएपछि एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले २५ दिनदेखि लगाएको ताला शुक्रबार खोलेको छ।

संगठनका अध्यक्ष यादव लामिछानेका अनुसार विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले बिहीबार लिखित रुपमै त्रिविका शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय निकायमा पदाधिकारी नियुक्ति गर्दा प्रगतिशील प्राध्यापक संगठनलाई समेत प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएपछि शुक्रबार ताला खोलिएको हो।

सहमतिअनुसार आगामी मंसिर २५ देखि रिक्त हुने शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा एमालेले भाग पाउनेछ। पुसमा डिन, माघ–फागुनतिर अनुसन्धान केन्द्रका निर्देशक पद समेत रिक्त हुँदैछन्।

'हामीलाई बिहीबार शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले उपकुलपतिको निर्देशनसहित उल्लेख हुने गरी लिखित हस्ताक्षरसहितको सहमतिपत्र दिनुभयो,' संगठनका अध्यक्ष लामिछानेले नागरिकसँग भने, 'सहमतिपत्रमा स्पष्ट रुपमा अबका दिन त्रिविका शैक्षिक, प्राज्ञिक तथा व्यवस्थापकीय र नीतिगत कार्यमा हाम्रो संगठनको सहकार्य गरी अघि बढ्ने उल्लेख गरिएको छ।'

'आगामी दिनमा त्रिवि निकायहरुमा पदाधिकारी नियुक्ति गर्दा प्रगतिशील प्राध्यापक संगठनको पनि भाग उपकुलपतिले दिने सहमति गरेपछि हामीले शुक्रबार ताला खोल्यौं,' उनले भने।

संगठनले विश्वविद्यालयमा उपकुलपति र अन्य पदाधिकारी नियुक्तिमा भाग माग्दै उपकुलपति कार्यालय, त्रिवि केन्द्रीय कार्यालय, चारै संकायको डिन कार्यालय, कार्यकारी परिषद, प्राज्ञिक परिषद र आर्थिक प्रशासन महाशाखामा २५ दिनदेखि तालाबन्दी गरेको थियो।

अन्य चार विश्वविद्यालय नेेपाल संस्कृत, कृषि तथा वन विज्ञान, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सहमति नभएकाले तालाबन्दी जारी रहने उनले जनाए।

यसैगरी, मधेसी दलनिकट लोकतान्त्रिक प्राध्यापक संगठनसँग पनि उपकुलपतिको निर्देशनमै शिक्षा अध्यक्ष गुणनिधि न्यौपानेलेे त्रिविका विभिन्न निकायमा पदाधिकारी नियुक्ति गर्दा अबदेखि लोकतान्त्रिक प्राध्यापक संगठनसँग छलफल गरी सम्मानजनक सहभागिता गराउने लिखित सहमति भएको छ।

शुक्रबार सहमति भएलगत्तै संगठनका पदाधिकारीसहितको टोलीले त्रिविका सबै निकायमा विगत २५ दिनदेखि लगाएको ताला शुक्रबारै खोलेको संगठनका महासचिव उदयकुमार कर्णले जनाए।

विश्वविद्यालयबाट भागबन्डा अन्त्य गर्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका नवनियुक्त त्रिवि उपकुलपति खनियाँ आफंैले विश्वविद्यालयका निकायहरुमा भागबन्डामै नियुक्ति गर्ने सहमति गरेका छन्।

'आफंै भागबन्डाको विरोध गर्दै हिँडिरहनुभएको थियो तर उहा"ले नै यस्तो सहमति गर्दा आश्चर्य लागेको छ,' लोकतान्त्रिक प्राध्यापक संगठनका अध्यक्ष उदयकिशोर तिवारीले भने।

त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबडियाले विश्वविद्यालयमा भागबन्डा भन्दा पनि जुनसुकै विचार बोकेका योग्य, दक्ष र वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति गर्न सके मात्र विश्वविद्यालय स्वतन्त्र र निष्पक्ष रुपमा चल्न सक्ने प्रतिक्रिया दिए।

'केदारभक्त माथेमा त्रिविको उपकुलपति हुँदा उहाँले पदाधिकारी दक्षता, योग्यता र वरिष्ठताका आधारमा नियुक्ति गरेर विश्वविद्यालयलाई हाँक्न सक्षम पदाधिकारी नियुक्ति गर्नुभएको थियो,' बडबडियाले सुझाए, 'हामीलाई पनि उपकुलपति खनियासँग भागबन्डामा नभएर योग्यता, दक्षता र वरिष्ठता आधारमा विश्वविद्यालयमा अबको पदाधिकारी नियुक्ति गर्न सुझाव छ।'

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया