Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीका लागि शैक्षिक मेला : विभिन्न देशले फेरेको भिसा नीतिका बारेमा समेत जानकारी दिईने

सोमबार, १७ जेठ २०७३

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला हुने भएको छ । आवश्यक जानकारी विना विदेश जाँदा विद्यार्थीले धेरै खालका समस्या भोग्नु परेकोले एकै थलोबाट उनीहरुलाई सही सूचना र परामर्श दिन मेला आयोजना गर्न लागेको नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जनाएको छ । यही जेठ २७  गते देखि ३० गते सम्म भृकुटिमण्डपमा हुने मेलामा विभिन्न शैक्षिक परामर्श दातृसंस्थाका २ सय भन्दा धेरै स्टल रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्न मेला गर्न लागिएको ईक्यानले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा सम्बन्धित ब्यक्तिबाटै विद्यार्थीले जानकारी लिन सक्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

मेलामा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागीता हुने उनले बताए ।

'सही विषय, देश र आवश्यक प्रकृयाका बारेमा विद्यार्थी र अभिभावकलाई एकै ठाउँबाट जानकारी गराउन सकिने भएकोले विदेश जान चाहने विद्यार्थीका लागि मेला उपयोगी हुन्छ' पाण्डेले भने, 'विद्यार्थी जान चाहेको देशको भर्नाको प्रकृया, त्यहाँ जानु अघि र गए पछि गर्नु पर्ने तयारी जस्ता कुराको जानकारीले विद्यार्थी तथा अभिभावकलाई फाईदा पुग्ने अपेक्षा गरेका छौं ।' 

विभिन्न देशले समय अनुसार आफ्नो भिसा नीति तथा शिक्षा नीतिमा गर्ने परिवर्तनलाई समेत मेला मार्फत् विद्यार्थीमा जानकारी दिन सकिने पाण्डेले बताए ।

अष्ट्रेलिया सरकारले यही जुलाई एक देखि नयाँ भिषा नीति लागू गर्दै छ भने अमेरिकी दुतावासले जुन एक देखि विद्यार्थी भिसा आवेदकलाई पेस गर्नु पर्ने आवश्यक कागजातमा शंसोधन गरेको छ । यस्तै युरोपियन संसदले पास गरेको विद्यार्थीलाई प्रति हप्ता १५ घण्टा तथा पढाई सके पछि कम्तिमा ९ महिना सम्म काम गर्न पाउने नितिका बारेमा पनि मेला मार्फत् विस्तृत जानकारी पाउन सकिने उनले बताए । यसैगरी न्युजिल्याण्ड हाईकमिसन दिल्लिले शैक्षिक परामर्श दातृसंस्थालाई जारि गरेको एड्भाईजरीका बारेमा पनि यथार्थ जानकारी लिने उचित थलो मेला बन्नेमा आफू आशावादी रहेको पाण्डेले बताए ।

ईक्यानले हरेक बर्ष यस्तो मेला गर्दै आएको छ । मेलाको यो दशौं संस्करण हो । मेलाको ब्यवस्थापन वन अप ईभेन्ट्स एण्ड मिडिया सोलुसन्सले गर्ने छ । मेला सञ्चालनका लागि ईक्यानले सह कोषाध्यक्ष रमेश वाग्लेको संयोजकत्वमा समिति बनाएको महासचिव सन्तोष प्याकुरेलले जानकारी दिए ।

शैक्षिक मेला आयोजना गर्न शिक्षा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक अनुमति लिईसकेको पनि उक्त पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

प्रकाशित मिति २०७३ जेठ १७ गते

प्रतिक्रिया