Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविद्वारा एकै वर्षमा ६१ हजार जनशक्ति उत्पादन

मंगलबार, ०५ असोज २०७२

काठमाडौं ५ असोज / त्रिभुवन विश्वविद्यालयले एकै वर्षमा ६१ हजार सात सय १६ जनशक्ति उत्पादन गरेको छ । शिक्षाशास्त्र संकायमा सबैभन्दा बढी २४ हजार ६ सय ५७ जनशक्ति उत्पादन भएको छ । त्रिविबाट जनशक्ति उत्पादनको क्रम बढे पनि खपतको अवस्था भने छैन । त्रिविको आइतबार बसेको साधारण बैठकमा प्रस्तुत भएको ५३औँ ग्रेसलिस्ट पारित भएको छ । १८ जेठ ०७१ देखि १७ जेठ ०७२ सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका स्नातकदेखि पिएचडीसम्मका विद्यार्थीको ग्रेसलिस्ट सभाले पारित गरेको हो ।

मानविकी तथा सामाजिकशास्त्र संकायमा ११ हजार आठ सय ७२, कानुन संकायमा सात सय ७०, व्यवस्थापन संकायमा १६ हजार १९, विज्ञान तथा प्रविधि अध्ययन संस्थामा पाँच हजार ८६, वनविज्ञान अध्ययन संस्थानमा एक सय ५३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा दुई सय ६९, चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ सय ९९ विद्यार्थी ५३औँ ग्रेसलिस्टमा समावेश भएका छन् ।

त्रिविका परीक्षा नियन्त्रक केशव बास्तोलाले यो वर्षमा सबैभन्दा धेरै जनशक्ति उत्पादन भएको बताए । नियन्त्रक बास्तोलाले भने, ‘म नियन्त्रक भएर आएदेखि अहिले सबैभन्दा धेरै दीक्षित हुँदै छन्, पहिले विद्यार्थी कम भएका बेला उत्तीर्णसंख्या पनि कम हुन्थ्यो ।’
त्रिविले १६ मंसिरमा दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । नियन्त्रक बाँस्तोलाले दीक्षान्तमा सबै सहभागी नहुने भएकाले व्यवस्थापन गर्न सकिने बताए ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. यज्ञ कार्कीले केही मन्त्रालयअन्तर्गत आगामी वर्षमा कति जनशक्ति आवश्यक पर्छ भन्ने योजना बनाउन लागेको बताए । शिक्षा, स्वास्थ्य, उद्योग, कृषिजस्ता मन्त्रालयलाई आगामी १५/२० वर्षमा आवश्यक पर्ने जनशक्तिको योजना बनाउने क्रममा आयोग रहेको उनले जानकारी दिए ।

साढे १७ अर्बको बजेट

त्रिभुवन विश्वविद्यालयलेले चालू आर्थिक वर्षका लागि साढे १७ अर्बको बजेट प्रस्तुत गरेको छ । केन्द्रीय कोषबाट सञ्चालन हुने साधारण तथा पुँजीगतर्फका कार्यक्रम गरी कुल १७ अर्ब ६८ करोड ५५ लाख ९८ हजार रुपैयाँको बजेट कार्यक्रम प्रस्तुत गरेको हो ।

सभामा सहकुलपति शिक्षामन्त्री चित्रलेखा यादवले सेमेस्टर प्रणाली, विज्ञान तथा प्रविधि शिक्षाको विस्तार, उत्कृष्टताका केन्द्रको स्थापना गर्ने सुधार र विकासको कार्य आवश्यक रहेको र त्यसका लागि सहयोग हुने बताइन् । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले भौतिक पूर्वाधारको अभाव, नियमित वार्षिक बजेटको कमी, सरकारबाट प्राप्त हुनुपर्ने अनुदान रकमको कटौती, निवृत्तिभरण रकमको अभाव भएको बताए ।

त्रिविले सुधारका लागि प्रयास गरिरहेको उनको भनाइ छ । खनियाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्टताको मान्यता प्राप्त गर्न सरकारले उच्चतहको गुणस्तर प्रमाणीकरण परिषद्को व्यवस्था गर्न आवश्यक रहेको बताए । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव नभएको र सर्वोच्च अदालले समेत चुनाव गराउन आदेश जारी गरेको अवस्थामा भूकम्पका कारण ढिलाइ भएको बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया