Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

आर्थिक सर्वेक्षणमा शिक्षा : बाल विकासमा पढ्ने लहर, प्लस टुमा गुणस्तर खस्किँदो

शुक्रबार, १४ जेठ २०७३

काठमाडौं १४ जेठ / आफ्ना सन्तानको सिकाइ राम्रो बनाउन अभिभावकले स्तरीय बाल विकास केन्द्रमा अध्ययन गराउन मासिक हजारौं रुपैयाँ खर्च गर्छन् । तल्लो तहको सिकाइ कमजोर भए माथिल्लो तहमा सुधार गर्न नसक्ने भन्दै अभिभावकले लगानी गरिरहेका हुन् । विभिन्न देशको मोडललाई नेपालमा ल्याएर बाल विकास कक्षाहरू सञ्चालन गरिरहेका छन् । सरकारमा खुलेका यस्ता विद्यालयमा अभिभावकको मोह बढ्दो छ ।

सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले पनि कक्षा १ मा प्रवेश भएकामध्ये पूर्वबाल शिक्षा विकासको अनुभव लिएका बालबालिकाको प्रतिशत वर्षेनी बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०६८/६९ मा बाल कक्षा अध्ययन गरेका ५४.३ प्रतिशत बालबालिका कक्षा १ मा भर्ना भएका थिए भने २०७१/७२ मा यो प्रतिशत ५९.६ पुगेको थियो । २०७२/७३ मा अझ बढेर ६२.४ प्रतिशत पुगेको छ ।

शिक्षा विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा आधारित बाल विकास केन्द्र ३० हजार ४ सय ४८ छन् । यस्ता केन्द्रमा ९ लाख ७७ हजार बालबालिका अध्ययनरत छन् । यसरी बाल विकास केन्द्र विस्तारले गर्दा भर्ना दर बढेको छ ।

सरकारले संसद्मा पेस गरेको शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षामा समेट्न प्रस्ताव गरेको छ । संसद्को महिला, बालिबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले यो व्यवस्थालाई समर्थन गर्दै बिहीबार विधेयक संसद्मा पेस गरेको छ ।

सर्वेक्षणले कक्षा १ देखि १० सम्म भने विद्यार्थी संख्या घट्दै गएको देखाएको छ । शैक्षिक सत्र २०६८ मा ७४ लाख ४४ हजार भर्ना भएका थिए भने २०६९ मा घटेर ७२ लाख ७७ हजारमा झर्‍यो । २०७० मा ७१ लाख २७ हजार भर्ना भए भने २०७२ मा ७० लाख ६६ हजार मात्रै विद्यार्थी भर्ना भएका छन् । प्राथमिक तहमा ५ लाख विद्यार्थी कम भएको सर्वेक्षणले देखाएको छ । प्राथमिक शिक्षामा खासै भर्ना दर बढाउन सकेको छैन ।
अघिल्लो वर्ष ९६.२ प्रतिशत रहेकोमा गत वर्ष ९६.६ प्रतिशत मात्रै बढाउन सफल भएको देखिन्छ । आधारभूत तहमा चार वर्षमा तीन प्रतिशत र माध्यमिक तहमा आठ प्रतिशत भर्ना दर बढेको छ ।

प्लस टुमा गुणस्तर खस्किँदो

उच्च माध्यमिक तहमा विद्यार्थी उत्तीर्ण दर वर्षेनी घट्दै गएको छ । कक्षा ११ मा केही प्रतिशत बढे पनि १२ कक्षामा घटेको हो । आव ०६८/६९ मा कक्षा ११ भर्ना भएका ३८ दशमलब १५ प्रतिशत रहेकोमा बढेर ०७२/७३ मा ४३.८७ प्रतिशत पुगेको छ । तर, १२ कक्षामा पाँच वर्षअघि ४७.५५ प्रतिशत रहेकोमा ०७२/७४ मा घटेर ३६.३७ मात्रै भएको छ ।

अर्कोतर्फ, शिक्षकको संख्या वर्षेनी बढ्दै गएको छ । आधारभूत तहमा २०७० मा २ लाख ९२ हजार शिक्षक रहेकोमा ०७१ मा २ लाख ९८ हजार र ०७२ मा तीन लाख २ हजार शिक्षक संख्या पुगेको छ । यसमा महिला शिक्षकको संख्यासमेत बढेको देखिन्छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया