Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

रक्सीले मातेर विद्यालय आउने शिक्षक पक्राउ

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । रक्सीले मातेर विद्यालय आउने दोलखाका दुई शिक्षकलाई पक्राउ गरिएको छ । दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो । 

प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए । 

पक्राउ पर्ने प्रावि तहका शिक्षक काभ्रेपलाञ्चोक जिल्ला बिर्तादेउराली गाविस–६ घर भएका ४२ वर्षीय रमेशराज पन्त र भिनपा ४ फुलपा घर भएका ४९ वर्षीय कुमार बस्नेत रहेको सुनुवारले बताए । बस्नेत २०४७ सालदेखि शिक्षकको रुपमा कार्य गरी २०४८ सालमा स्थायी नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा नेपाली विषय पढाउँछन् । 

उनी उक्त विद्यालयमा २०६१ सालमा चुलिडाँडा प्राविबाट सरुवा भएका थिए । त्यस्तै पन्त २०४६ सालमा शिक्षकको रुपमा कामकाज गरी २०४८ सालमा नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा अङ्ग्रजी विषय पढाउँछन् । 

पन्त उक्त विद्यालयमा २०७१ सालमा श्यामास्थित गर्जाङ्गढुङ्गा उमाविबाट सरुवा भएका थिए । उनीहरुलाई आवश्यक जरिवाना गर्न र आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

मातेर विद्यालय नजाने शिक्षकलाई प्रहरीले कारबाही गरेको यो पहिलो घटना हो । रासस 

 

प्रतिक्रिया