Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

घिमिरे र राईलाई महाविद्यावारिधि

मंगलबार, ०५ असोज २०७२

काठमाडौं ५ असोज / त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली कवि तथा साहित्यकार इन्द्रबहादुर राईलाई महाविद्यावारिधि प्रदान गर्ने भएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा आइतबार सम्पन्न त्रिवि सभाले उक्त निर्णय गरेको हो।

‘नेपाली वाङ्मय क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे र भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ निवासी साहित्यकार इन्द्रबहादुर राईलाई महाविद्यावारिधि प्रदान गर्ने निर्णय भएको छ,’ सभामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थराज खनियाँले भने। उपाधि एक महिनाभित्र प्रदान गरिनेछ।

सभाले मानविकी तथा सामाजिकशास्त्र, कानुन, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, कृषि र पशु विज्ञान, चिकित्साशास्त्र संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी उपाधिप्राप्त ६१ हजार ७ सय १६ जनाको ५३औं ग्रेस लिस्ट पास गरेको छ। उनीहरूलाई मंसिर १६ गते हुने दीक्षान्त समारोहमा उपाधि प्रदान गरिनेछ।

सभाले आर्थिक वर्ष ०७२/७३ का लागि १७ अर्ब ६८ करोड, ५५ लाख रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। महाभूकम्पबाट क्षतिग्रस्त भएको विश्वविद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माणका निम्ति यो वर्ष ४ अर्ब बजेट प्रस्ताव गरिएको छ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया