Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

भारतमा पक्राउ शिक्षक रिहाइको माग 

बुधबार, १२ जेठ २०७३

काठमाडौँ, १३ जेठ । भारतको महाराजगन्ज कारागारमा बन्दी जीवन बिताइरहेका पश्चिम चितवनको युवा माध्यमिक विद्यालय ज्योतिनगरका पाँच जना शिक्षक तथा कर्मचारीले आफूहरु निर्दोष रहेकाले रिहाइका लागि अपिल गरेका छन् ।  

विसं २०७२ चैत २३ गते भारत भ्रमणका लागि गएका शिक्षक, कर्मचारीलाई घर फर्कने क्रममा नक्कली भारतीय रुपैयाँ कारोबार गरेको भन्दै भारतीय प्रहरीले नौतवानाबाट पक्राउ गरेको थियो ।  पक्राउ परेका शिक्षक, कर्मचारीले आफूहरु निर्दोष रहेको भन्दै शीघ्र रिहाइका लागि नेपाल सरकार, कूटनीतिक नियोग, सरोकारवाला, मानवअधिकारकर्मी सबैलाई अपिल गरेका हुन् ।  

पक्राउ परेका शिक्षकमा अम्बिकाप्रसाद घिमिरे, जीबाखर ढकाल, कृष्णचन्द्र सापकोटा, निवृत्त शिक्षक शिवभक्त पण्डित र परिचर अच्यूत घिमिरे रहेका छन् ।  नेपाल फर्कने क्रममा घरायसी सामान किनेर आउँदै गर्दा उनीहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।  

आफूहरुलाई भारतीय नोट सटहीमा सहयोग गर्ने चितवन नगरपालिका–१४ का देवेश्वर चौधरीकी छोरी आरती चौधरी जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धानका लागि रहेकाले आफूहरुलाई ससम्मान नेपाल फर्किने वातावरण बनाइदिनसमेत सबैमा आग्रह गर्दछौँ भनी अपिलमा भनिएको छ ।  

रासस 

 

प्रतिक्रिया