Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

दुई हजार स्कुले बालिका यौन व्यवसायमा

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ ।  राजधानीमा झन्डै दुई हजार स्कुले बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालिकालाई ग्राहकलाई यौनसेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरेको हो । 

१३ हजार महिला मनोरञ्जन व्यवसायमा कार्यरत

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकोमा त्यसको एकतिहाइ १८ वर्षमुनिका बालिका रहेको जानकारी दिए । 

काठमाडौंका डान्सबार, रेस्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, खाजाघर, चियापसल, मसाज, पार्लर, स्पा प्लेसलगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ । 

९३ प्रतिशत महिला यौन दुव्र्यवहार सहन बाध्य

बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुव्र्यवहार सहन बाध्य हुने गरेको जनाएको छ । समितिले देशका विभिन्न स्थानमा ३२ हजारभन्दा बढी नेपाली युवती यौन व्यवसायमा संलग्न रहेकोसमेत जानकारी गराएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा रहेका मनोरञ्जन उद्योगमा कार्यरत महिला बेचबिखनको उच्च जोखिममा छन् । 

ठमेल क्षेत्रका ८० प्रतिशत मसाज पार्लरमा यौनधन्दा

राजधानीको ठमेल क्षेत्रमा मात्रै एक सय २५ वटा मसाज पार्लर सञ्चालनमा छन् । तीमध्ये ८० प्रतिशतमा यौन व्यवसाय हुने गरेकोसमेत समितिले जनाएको छ । यस्तै, करिब २५ हजारको संख्यामा डान्स तथा क्याबिन रेस्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये अधिकांशमा महिला तथा बालबालिका कार्यरत छन् । समितिका कार्यकारी निर्देशक धितालले यौन व्यवसायमा संलग्नबारे एकीकृत तथ्यांकको अभाव रहेकाले यो संख्या अझै बढ्न सक्ने बताए । 

यौनशोषणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

व्यवस्थापिका–संसद्को महिला तथा बालबालिका समितिका सांसदले बालबालिकामाथि निकृष्ट रूपमा यौनशोषण भइरहेको पाइएकाले त्यस्तो अमानवीय कार्य रोक्न सबै पक्षको एकीकृत भूमिका आवश्यक रहेको बताए । 

केन्द्रीय बालकल्याण समितिले सोमबार गरेको ‘बालबालिकामाथि हुने यौनशोषणविरुद्धको अभियान’ कार्यक्रममा सांसद तथा सरोकारवालाले बालबालिकालाई यौन व्यवसायमा लगाउनेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । 

समितिकी सभापति रञ्जुकुमारी झाले बालबालिकालाई यौन व्यवसायमा लगाउनेलाई तत्काल पक्राउ गरेर जेल हाल्न सरकारका निकायलाई निर्देशन दिइन् । बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बालिकालाई यौन शोषण गर्ने र गराउनेलाई कानुनी कठघरामा उभ्याइने गरी अप्रेसनको तयारी थालिएको जानकारी दिए । 

प्रत्येक वर्ष १२ सय बालिका बेचिन्छन्

नेपालबाट हरेक वर्ष १२ सय बालिका तेस्रो मुलुक बेचिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले मानव तस्करहरूले सांस्कृतिक कार्यक्रम देखाउने भन्दै काठमाडौंका रेस्टुरेन्ट र डान्स बारहरूबाट भारतको बाटो हुँदै बालिकाहरूलाई तेस्रो मुलुक पुर्‍याउने गरेको जनाएको छ । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया