काठमाडौँ, ११ जेठ । सोमबार दिउँसो पानीसँगै आएको हावाहुरीले सल्यानका दर्जन बढी विद्यालयको छानो उडाएको छ । पश्चिमी क्षेत्रमा आएको हावाहुरीले विभिन्न विद्यालयको छानो उडाउँदा अध्ययन गरिरहेका सात विद्यार्थी घाइते भएका छन् । छानो उडाउँदा ढुङ्गा खसेर अमर मावि बागचौर नगरपालिका–३ चोर पानीका कक्षा ६ का पुष्पा गोसार्इं र कक्षा ८ का एलिना केसी घाइते भएको विद्यालयका लेखापाल द्रोण शर्माले जानकारी दिए ।
यस्तै सिद्धेश्वरी गाविसको देउराली माविमा अध्ययनरत नवीन बुढाथोकी र गीता बुढाथोकी पनि घाइते भएका छन् । पढिरहेका बेला विद्यालयको छानो उडाएपछि भाग्ने क्रममा उनीहरु घाइते भएको विद्यालयका शिक्षक जनक चलाउनेले जानकारी दिए ।
यसै गरी जिमाली–४ को बिर्खेनेटीमा रहेको निमाविको छानो उडाउँदा कक्षा ८ का कुलबहादुर चलाउने र कक्षा ५ का रवि विक घाइते भएको विद्यालयले जनाएको छ । हावाहुरीले अमरज्योति मावि चोरपानीको चारकोठे भवन, महेन्द्र मावि जिमालीको छकोठे भवन, देउराली मावि सिद्धेश्वरी–५ कुइँयाझोलको चारकोठे भवन, हिमालय निमावि सिद्धेश्वरी–८ डाँडाकटेरीको पाँचकोठे भवनको छानो उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यस्तै जिमाली–३को प्रकृति प्रावि, जिमाली–४को कालिका प्रावि, घाँजरी पिपलको त्रिभुवन जनता मावि मूलखोला लगायत विद्यालयको छानो उडाएको शिक्षा कार्यालयका सूचना अधिकृत घनश्याम ओलीले जानकारी दिए । “क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन, कहाँ के कति क्षति भएको छ त्यसको विवरण सङ्कलन गर्न स्रोत व्यक्तिलाई भनेका छौँ”–ओलीले भने ।
विद्यालयका भवनको छानो उडाएसँगै पठनपाठन प्रभावित भएको छ । दिनदिनै हावाहुरी सहितको पानी आउने भएकाले पठनपाठनमा समस्या हुने जनता मावि मूलखोलाका लेखापाल दुर्गा बिसीले जानकारी दिए ।
रासस
प्रतिक्रिया