रौतहट - विद्यालय ब्यवस्थापन समितिको चुनावमा आआफ्ना दलका कार्यकर्तालाई जिताउन दुई पक्ष विच चलेको रस्साकस्सि झडपमा परिणत भएपछि प्रहरीले अश्रु ग्यास हानेर स्थिती नियन्त्रणमा लिएको छ ।
विश्रामपुरमा रहेको श्री नेपाल उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा एमाले र माओवादीले आआफ्ना कार्यकर्तालाई अध्यक्षमा उठाएका थिए । अध्यक्ष पदका उम्मेदवार जगन्नाथ सहनी र रामप्रवेश पटेल पक्ष बिच विवाद भएको हो । सहनी एमाले र पटेल माओवादीका कार्यकर्ता हुन् ।
आआफ्ना उम्मेद्वारलाई जिताउन खटिएका कार्यकर्ताहरु बिच झडप भएको थियो । विवादले उग्ररुप लिए पछि शुरु भएको ढुंगा हानाहान नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । तै पनि अवस्था सामान्य नभएपछि उक्त झडप नियन्त्रणका लागि प्रहरीले ३ सेल अश्रु ग्यास समेत हान्नु परेको प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले एडुखबरलाई बताए ।
दुवै पक्षले एकअर्का माथि ढुंगा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ढुंगा मुढाका क्रममा केही अभिभावक र प्रहरीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रण गरेर अवस्था सामान्य बनाए पछि निर्धारित समय भन्दा झण्डै ५ घण्टा ढिलो चुनावी प्रकृया सुरु भएको प्रहरीले जनाएको छ ।
बेलुका ४ बजे सम्म मतदान गरिसक्नु पर्ने पूर्व निर्धारित कार्यक्रमलाई बदलेर साढे ६ बजे सम्म लाममा बसेका मतदातालाई भोट खसाल्न दिने गरी कार्यतालिका संसोधन गरिएको थियो । चुनावमा ७ सय ३५ जना मतदाता छन् ।
विद्यालयमा जाने अनुदान तथा छात्रबृत्ति रकममा चलखेल गर्न पाईने भए पछि पछिल्लो समय ब्यवस्थापन समितिको चुनाव संसदीय चुनाव जस्तो हुन थालेको छ ।
तस्विर : ईन्टरनेट
प्रकाशित मिति २०७३ जेठ १० गते
प्रतिक्रिया