Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कर्मचारीका सन्ततिलाई मात्रै वार्षिक करोडौं छात्रवृत्ति

सोमबार, १० जेठ २०७३

कर्मचारी उपचार र सन्तति छात्रवृत्तिका लागि करोडौँ खर्च

काठमाडौं १० जेठ / सरकारले निजामती कर्मचारीका सन्तति छात्रवृत्तिमा मात्रै वार्षिक करोडौँ रुपैयाँ खर्च गर्दै आइरहेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार विगत तीन वर्षको अवधिमा मात्रै कर्मचारीका सन्तति छात्रवृत्तिका लागि ३३ करोड ८३ लाख ५४ हजार रुपैयाँ वितरण गरिएको छ । यसैगरी, सोही अवधिमा कडा रोग लागेका कर्मचारीलाई पाँच करोड रुपैयाँ वितरण गरिएको छ । सरकारी कर्मचारीलाई सेवासुविधा कम भएको भन्दै सरकारले केही वर्ष अघिदेखि यी दुई सेवा दिन थालेको हो ।

निजामती सेवामा आकर्षण बढाउन यस प्रकारका सेवाहरू विस्तार गरिएको सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता नन्द ज्ञवालीले बताए । कर्मचारीलाई कामप्रति समर्पित र जिम्मेवार बनाउन पनि यस्ता सुविधाले मद्दत पुग्ने विश्वास सहायक प्रवक्ता ज्ञवालीले गरे ।

मन्त्रालयका अनुसार कर्मचारी सन्तति छात्रवृत्तिअन्तर्गत आर्थिक वर्ष २०६९ / ७० मा विभिन्न विषयमा गरी ३ सय ९२ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । ३ सय ९२ जनाका लागि ९ करोड ८२ लाख ३० हजार ६ सय ५२ वितरण गरिएको थियो । यसैगरी, आर्थिक वर्ष २०७० / ७१ मा ४ सय विद्यार्थीका लागि ९ करोड ९५ लाख ८० हजार ४ सय ५५ रुपैया र आर्थिक वर्ष २०७१/ ७२ मा ४ सयजना विद्यार्थीका लागि ९ करोड ९५ लाख ३ हजार ५० रुपैया वितरण गरिएको छ ।

मन्त्रालयले कर्मचारीका जेहेन्दार र उत्कृष्ट सन्ततिहरूलाई १० विषयका लागि उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सबैभन्दा वढी एमबिबिएस अध्ययन गर्न पाँच लाख रुपैयाँसम्म दिने गरिएको छ । यस्तै, छात्रवृत्ति दिने गरिएको अन्य विषयमा पशु विज्ञान, कृषि विज्ञान, बिडिएस, वाम्स, इन्जिनियरिङ, वन विज्ञान, व्यवस्थापन, नर्सिङ र साइन्स छन् । एसएलसी र प्लस टुमा सबैभन्दा बढी नम्बर ल्याएकामध्येबाट उत्कृष्ट विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।

सरकारी विद्यालयमा पढेर एसएलसीमा सबैभन्दा बढी अंक ल्याउने कर्मचारीका एक छोरा र एक छोरीलाई उच्च शिक्षा पढ्न मासिक पाँच हजारका दरले छात्रवृत्ति दिइँदै आएको छ ।
कुन वर्ष कतिलाई छात्रवृत्ति ?

मन्त्रालयका अनुसार देशभरमा प्राप्त निवेदनका आधारमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई यस्तो छात्रवृत्ति दिइने गरिएको छ । मन्त्रालयका अनुुसार आर्थिक वर्ष २०६७ / ६८ मा ५१ जिल्लाका ७४ जना, २०६८/ ६९ मा ६६ जिल्लाका १ सय ६ जनाले, आर्थिक वर्ष २०६९/ ७० मा ६२ जिल्लाका १ सय ५ जनाले, २०७०/ ७१ म ४४ जिल्लाका ७८ जनाले र २०७१ /७२ मा ५३ जिल्लाका ९२ जनाले छात्रवृत्ति पाएका छन् । यसरी पछिल्लो पाँच वर्षमा जिल्लास्तरीय छात्रवृत्तिमा मात्रै ४ करोड १० लाख रुपैयाँ वितरण गरिएको छ ।

निजामती कर्मचारीलाई सुविधास्वरूप सरकारले कडा रोग लागेका कर्मचारीलाई पाँच लाख रुपैयाँसम्म दिने गरेको छ भने सन्तति छात्रवृत्तिअन्तर्गत कर्मचारीका जेहेन्दार छोराछोरीलाई विभिन्न विषय पढ्न दुईदेखि पाँच लाख रुपैयाँसम्म दिने गरेको छ ।

नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन् ।

प्रतिक्रिया