Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

किताब तत्काल पुर्‍याउन निर्देशन

सोमबार, १० जेठ २०७३

काठमाडौं १० जेठ -प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशका विभिन्न स्थानमा अझै पाठ्यपुस्तक अभाव रहेकामा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन शिक्षा मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शिक्षा सचिव विश्वप्रकाश पण्डित, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक अनिलकुमार झा र साझा प्रकाशनका प्रमुखलाई बोलाएर छलफल गरी निर्देशन दिएको हो । 

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेका अनुसार कक्षा ६ देखि १० सम्मका करिब ६ लाख थान पुस्तक अझै छपाइ गर्न बाँकी छ । यी तहका पाठ्यपुस्तक छपाइको काम जनक शिक्षाले गर्छ । प्रधानमन्त्री कार्यालयले जेठ २० गतेभित्र छपाइ सकेर तत्काल सम्बन्धित जिल्लामा वितरण गर्न शिक्षा मन्त्रालय र जनक शिक्षालाई निर्देशन दिएको जानकारी मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्र घिमिरेले दिए । अर्को शैक्षिक सत्रमा पाठ्य पुस्तकको समस्या दोहोरिन नदिन जेठ मसान्तभित्र कार्ययोजना पेस गर्नसमेत निर्देशनसमेत दिएको घिमिरेले बताए । 

शिक्षा ऐन तथा नियमावलीअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि सबै जिल्ला पाठ्यपुस्तक पुग्नुपर्ने र पठनपाठन सुरु भएसँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्छ । सरकारले कक्षा १ देखि १० सम्म नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । तर हरेक वर्ष पुस्तक छपाइ ढिलाइ हुने गरेको छ । मन्त्रालयले कक्षा ५ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा निजीलाई दिएको छ । पाठ्यपुस्तक छपाइ गर्ने सरकार मातहतको जनक शिक्षाले एसएलसी प्रश्नपत्र, कपीलगायत विभिन्न निकायको समेत छपाइ गर्नुपर्ने बहानामा हरेक वर्ष पाठ्यपुस्तक प्रकाशनमा ढिलाइ गर्दै आएको छ । 

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया