Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

त्रिविले ट्रान्सक्रिप्ट रोकेपछि विद्यार्थी मारमा

विहीबार, ०६ जेठ २०७३

काठमाडौं, ६ जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तहको निर्धारित समयमा थेसिस (शोध) नसकेका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको छ ।  चैत मसान्तपछि शोधको भाइभा भएर ट्रान्सक्रिप्ट लिन बल्खु भएका विद्यार्थी निराश भएर फर्किने गरेका छन् ।

परीक्षा नियन्त्रक केशव बास्तोलाले ०६२ सालपछि भर्ना भएका र समयभित्र थेसिस नगरेकाहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको बताए । त्रिविको प्राज्ञिक परिषद्ले ०७२ चैत मसान्तको समय दिएको र त्यसपछि भाइभा हुनेहरूको ट्रान्सक्रिप्टको ‘भ्यालिडिटी’ नहुने भएकाले रोक्का गरेको बताए । 

०७३ चैत मसान्तसम्म समय दिन प्रस्ताव

परीक्षा नियन्त्रण कार्यालयले ०७३ चैत मसान्तसम्मको समय दिन प्रस्ताव गरेको छ । नियन्त्रक बास्तोलाले परीक्षा बोर्डले ०६२ सालपछि भर्ना भई समयमा थेसिस नसक्ने विद्यार्थीलाई ०७३ चैतसम्मको समय दिन प्रस्ताव गरेको र त्यसमा प्राज्ञिक परिषद्ले निर्णय नगरेसम्म कुनै काम नहुने बताए । ‘विद्यार्थीले हामी ट्रान्सक्रिप्ट हात पार्न पाए हुन्थ्यो जस्तो गर्छन्, तर बल्खुले अहिले दिए पनि त्यो भ्यालिड हुँदैन, प्राज्ञिक परिषद्को निर्णय कुर्नैपर्छ,’ उनले भने । परीक्षा बोर्डले प्रस्ताव पठाइसकेपछि प्राज्ञिक परिषद्को बैठक बसे पनि सो विषय एजेन्डामै प्रवेश गरेन ।

पनिका र डिन अन्योलमा

विद्यार्थीको शैक्षिक समस्याका विषयमा त्रिविको प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने भएकाले पनिका र डिन कार्यालयहरू समेत अन्योलमा परेका छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा।डा। चिन्तामणि पोखरेलले समस्याको समाधान प्राज्ञिक परिषद्ले मात्र दिने बताए । 

यस्तो छ त्रिविको स्नातक कार्यक्रम 

बास्तोलाका अनुसार त्रिविले दुई वर्षे कार्यक्रमको ६ वर्ष, तीन वर्षे स्नातक कार्यक्रमको सात वर्ष र चार वर्षे स्नातक कार्यक्रम आठ वर्षभित्र सक्नुपर्ने व्यवस्था गरेको छ । अहिले त्रिविमा विभिन्न संकायमा ०६७ सालसम्म स्नातकोत्तर तहमा भर्ना गरेका र वैशाखमा भाइभा भएकाहरूले यस्तै समस्या भोगेका छन् । 

पुरानो मिति राखेर धमाधम भाइभा

त्रिवि उपकुलपति प्रा।डा।तीर्थराज खनियाँले यस्तो समस्या आफूकहाँ नआएको बताए । उनले परीक्षा बोर्डबाट प्रस्ताव आएपछि त्यस विषयमा छलफल हुने जानकारी दिए । उनले विद्यार्थीले पाएको डिग्रीलाई थेसिस ढिला भएका कारणले मात्रै सकेसम्म अप्ठ्यारो नपार्ने बताए । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया