Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डोटी क्याम्पसलाई सांसदको सहयोग

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ५ जेठ । नेकपा (एमाले) का केन्द्रीय वैकल्पिक सदस्य एवम् डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले डोटी बहुमुखी क्याम्पसलाई रु दुई लाख ११ हजार सहयोग गरेका छन् ।

आफ्ना स्व बुबा टेकबहादुर आलेमगर र स्व छोरी मेनुका आलेको सम्झनामा विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गर्दै उनले सोमबार सो रकम सहयोगको घोषणा गरेका हुन् । डोटी जिल्लामा अध्ययनरत विद्यार्थीको शैक्षिकस्तर बढाउन र पढाइप्रति रुची जगाउन यो रकमले महत्वपूर्ण भूमिका खेल्ने सांसद आलेको भनाइ रहेको छ । 

रु दुई लाख ११ हजार रकमबाट आउने ब्याजदरले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले बताए ।  विसं २०१७ मा स्थापना भएको डोटी बहुमुखी क्याम्पसलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउन सबैको पहल हुनुपर्ने एमाले सांसद आलेमगरले बताए । सोमबार क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा बोल्दै नेता आलेले डोटीको राजधानीसँग डोटी क्याम्पससमेत जोडिएकाले यसको उन्नतिमा आफ्नो हरसम्भव तदारुकता रहने दाबी गरे । 

आगामी दिनमा आफूले विनियोजित गर्ने बजेटमा सबैभन्दा बढी डोटी क्याम्पसका निम्ति छुट््याइने समेत आलेको भनाइ थियो । गरिब र ग्रामीण भेगका जनताका छोराछोरीले उच्च शिक्षा हासिल गर्ने प्रमुख केन्द्र डोटी क्याम्पसलाई सुधार गर्नसके बसाइँसराइ दरलाई कम गर्न सकिने उनको तर्क थियो ।  

“प्राविधिक र आधुनिक शिक्षा प्रणालीको विकास डोटीमै गर्नसके विद्यार्थी अन्यन्त्र किन जान्छ, अब यस विषयमा डोटी जिल्लाबाट व्यवस्थापिका संसद्को प्रतिनिधित्व गर्ने पाँच जना सांसदले सोच्ने बेला आएको छ ।” न आफू गर्न सक्ने, बरु गर्नेलाई समेत निरुत्साहित गर्ने यहाँका नेताको प्रवृत्तिमा सुधार हुन जरुरी छ उनले भने ।  एक फरक प्रसङ्गमा बोल्दै सांसद आलेले डोटी जिल्लाको इतिहासलाई पल्टाएर हेर्ने हो भने अहिलेसम्मकै बढी बजेट आफ्नो दुई वर्षको कार्यकालमा आएको ठोकुवा समेत गरे । 

आलेले भने “म मगरको छोरा, डोटीमा मगर जातिको जनसङ्ख्या तीन प्रतिशत मात्रै छ, मैले आगामी दिनमा राजनीति गर्न विकास गर्नुपर्छ तब मात्रै मलाई डोटीका जनताले पत्याउँछन् ।” आगामी दिनमा जनताले पनि विकासप्रेमी नेतालाई चिन्नुपर्ने र सबैले विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।  

रासस 

 

प्रतिक्रिया