Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कक्षा एकको प्रवेश शुल्क ४८ हजार !

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २९ बैशाख । उपत्यकाका नीजि विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिइएको पाइएको छ ।  मंगलबार ललितपुरका केही स्कुलमा भएको अनुगमनका क्रममा कक्षा एकको प्रवेश शुल्क मात्र ४८ हजार लिने गरेको पाइएको हो।   

केही दिनअघिदेखि शिक्षा मन्त्रालयको नेतृत्वमा विद्यार्थी संगठन, प्याब्शन, एनप्याब्सन र अभिभावक संघले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा कक्षा एकको प्रवेश शुल्क ४८ हजारसम्म लिइएको सार्वजनिक भएको छ । 

अनुगमनमा संलग्न अनेरास्ववियुका सचिव आरसी लामिछानेले अन्नपूर्ण अनलाइनसँग भने, ‘अनुगमन गरिएका विद्यालयले कक्षा एकको प्रवेश शुल्क मात्र ४८ हजार रुपैयाँसम्म लिएको पायौं।’ 

शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्याल, उपनिर्देशक बोलबहादुर कार्कीसहितको टोलीले गरेको अनुगमनका क्रममा चर्को अनियमितता देखिएको लामिछानेले बताए ।  

यता शिक्षा विभागका उपनिर्देशक बोलबहादुर कार्कीले भने अनुगमन भइरहेको र केही अनियमितता देखिएपनि सबै रिपोर्ट आजै सार्वजनिक गर्न नमिल्ने बताए । कार्कीले भने, ‘हामी संयुक्त अनुगमनमा छौँ । प्रक्रिया पुर्याएर मात्र हामी अनुगमनबारे तथ्य सार्वजनिक गर्छौँ ।’   

मंगलबार शिक्षा मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले ललितपुरका डिएभी, शुभतारा सँगै काठमाडौँको ग्यालेक्सी स्कुलको अनुगमन गरेको छ । विद्यार्थीको भर्नामा चर्को शुल्क असुल गरेका स्कुलले अन्य विभिन्न बिल बनाएर समेत ठूलो रकम लिने गरेको खुलासा हुँदै गरेको लामिछानेले बताए ।  

शुभतारा स्कुलले कक्षा एकको भर्ना शुल्क नै ४८ हजार लिने गरेको देखिएको लामिछानेले बताए ।  उता, ललितपुरको डिएभी स्कुलले नर्सरीमा भर्ना वापत २४ हजार, कक्षा एकमा ३८ हजार, कक्षा पाँचमा ३९ हजार र कक्षा दसमा ४२ हजार रुपैयाँ लिएको लामिछानेल जानकारी दिए ।  

नीजि विद्यालयले अनियामित रुपमा चर्को शुल्क लिने गरेको भन्दै सोमबारबाट शिक्षा मन्त्रालयको नेतृत्वमा अनुगमन सुरु भएको हो । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया