Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षा पत्रकार क्षेत्रीका छोरालाई निःशुल्क पढाइने

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २९ वैशाख । नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीका छोराको निःशुल्क अध्ययनका लागि पहल गर्ने भएको छ ।  स्व क्षेत्रीको निधनको तेह्रौँ दिनको पुण्य तिथिका अवसरमा मंगलबार राजधानीमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा युनियनले अल्पायुमै निधन हुनुभएका क्षेत्रीका नाबालक छोराको निःशुल्क अध्ययनका लागि पहल गरिने उद्घोष गरेको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अल्पायुमै निधन हुनुभएका क्षेत्रीको परिवारलाई परेको दुःख कम गर्न युनियनले सक्दो सहयोग गर्नुपर्ने बताए ।  नेता रिजालले क्षेत्रीको परिवारलाई सहयोग र उहाँका छोराको अध्ययनका लागि पार्टीका तर्फबाट पनि पहल गरिने बताउँदै सञ्चारकर्मीलाई पर्ने अप्ठ्यारो र उपचारका लागि राज्यका तर्फबाट कल्याणकारी कोष स्थापना गर्न आफू मन्त्री हुँदा पहल गरिएको स्मरण गरे । 

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले पत्रकार क्षेत्रीको व्यावसायिक इमान्दारी र कर्तव्यनिष्ठताले उनी सबैले सम्झनयोग्य भएको र क्षेत्रीको आदर्शलाई युनियनले पछ्याउनुपर्ने बताए ।  युनियनका संस्थापक एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले बहुमुखी प्रतिभाका धनी क्षेत्रीको इच्छा पूरा गर्न युनियनलाई पत्रकार हकहितका लागि कार्यक्रम अघि बढाउन आग्रह गरे । 

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीले क्षेत्रीका नाबालक छोरालाई स्नातक तहसम्म ५० प्रतिशत छात्रवृत्तिका लागि पहल गरिने उद्घोष गर्ने बताए ।  वरिष्ठ पत्रकार कबिर राणा, युनियनका कावा अध्यक्ष दीपक आचार्य, सल्लाहकार शिव लम्साल, उपाध्यक्ष ईश्वरी ओझा र महासङ्घ केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले क्षेत्रीको निधनले मुलुकको सञ्चार क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकार क्षेत्रीका नाबालक छोराको निःशुल्क पठनपाठनका लागि पहल गरिने र सूर्यकुमार क्षेत्री पत्रकार कल्याणकोष स्थापना गरी कार्यविधि बनाएर सञ्चालनमा ल्याइने जानकारी दिए । 

पत्रकार क्षेत्रीको ब्रेन टयुमरको उपचारका क्रममा यही वैशाख १६ गते ३३ वर्षका उमेरमा निधन भएको थियो । क्षेत्रीका सात वर्षीय छोरा र श्रीमती छन् । रासस 

 

प्रतिक्रिया