- मिना पौडेल /
माननीय शिक्षा मन्त्रीज्यू,
म पेशाले शिक्षक । २२ दिनकी सुत्केरी । म महिला हुँ र महिला हुनुमा मलाई गर्व छ । अझ आमा बन्दा हर्षले विभोर छु । प्रसवको पीडा आमा बनेर बच्चालाई दुध पिलाउँदा आनन्दले बिर्सिएकी छु । म आमा बने पछि आमाका बारेमा किन धेरै फिल्म, कथा, कविता आदि आदि लेखिदाँ रहेछन् भन्ने थाहा पाएकी छु ।
म महिला भए पनि शिक्षक बनेर थोरै समय भए पनि जिल्लाको दूरदराजमा गएर सेवा गर्ने अवसर पनि पाएँ । यसमा पनि मलाई गर्व छ किनकी दूरदराजमा जानेहरु एक दिन पनि सेवा नगरिकन सरुवा भई फर्केको मैले नै देखेँ । म सरुवा हुँदा म सँग दुर्गम भत्ता खाने गरी गएका ८० प्रतिशत साथीहरु सुविधा जनक ठाउँमा फर्किसकेका थिए । तथापि दूरदराजमा लामो समय सेवा गर्न नसकेको मलाई थकथकी नै छ ।
गर्भवती अवस्थामा पनि म परिवारका सदस्य बिना नै एक्लै गाउँमा बसेर अनवरत शिक्षणमा लागिरहँे । मैले शिक्षण गर्दा गाउँका मानिसहरुले सन्तोष मानेको नै पाएकी छु । एक्लै बस्न गाह्रो भए पछि मैले सुत्केरी बिदा वापत पाउने दुई महिना बिदा लिएर परिवारका सदस्यसँग बस्न थाले ।
मेरो त्यो बिदा यही वैशाख मसान्तमा पूरा हुँदैछ । बिदामै थाहा पाएँ, निजामती सेवामा कार्यरत कर्मचारीलाई ९८ दिन सुत्केरी विदा दिन थालियो रे ! तर शिक्षकलाई भने दुई महिना मात्र दिइन्छ ।
मन्त्रीज्यू ! यदि शिक्षा सेवा सुधार्न चाहनुहुन्छ भने शिक्षकका पनि सुविधामा वृद्धि गर्नुहोस् । साथ साथै गल्ती गर्नेलाई कारबाही गर्ने व्यवस्था पनि गर्नुहोस् । पर्याप्त गुनासो छन्, अभिभावकका शिक्षक प्रति । ती गुनासा जायज नै छन् जस्तो लाग्छ । त्यो चर्चाको अर्कै पाटो बन्छ ।
एडुखबर मार्फत मैले यहाँको ध्यानाकर्षण गर्न खोजेको कुरा के हो भने – निजामतीलाई मात्र ९८ दिने सुत्केरी बिदा दिने तर शिक्षकलाई ६० दिन दिने गर्दा अन्याय भएन र ? कामको प्रकृतिका हिसाबले हेर्ने हो भने शिक्षकको काम निजामतीका तुलनामा कैयौं गुना जटिल छ । तसर्थ शिक्षकलाई पनि सुत्केरी बिदा निजामतीलाई जति नै दिने व्यवस्था गर्नुप¥यो । नभए म २२ दिनको बच्चा बोकेर स्कुल जानुको विकल्प छैन । मन्त्रीज्यु के म २२ दिनकी सुत्केरी बच्चा बोकेर विद्यालय जाऊँ ?
२०७१ भदौ ४ गते स्थायी नियुक्त भएकी पौडेल प्रा. वि. तृतीय श्रेणीकी शिक्षक हुन् ।
प्रकाशित मिति २०७३ बैशाख २६ गते
प्रतिक्रिया