काठमाडौँ, २५ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २४ माघ २०७२ मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा काम गरिरहेका १२ जना डाक्टर पक्राउ गर्यो ।
त्यसको तीन महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने गिरोहसहित १० इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । केही समय नबित्दै सीआइबीले बुधवार नक्कली प्रमाणधारी एक पाइलटलाई पक्राउ गरेको छ ।
सीआईबीले विशेष सूचनाको आधारमा नक्कल प्रमाणपत्र पेस गरी हवाई उड्डयनमा काम गरीरहेका पाइलटको खोजी कार्य अघि बढाएको थियो । नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सीआईबीले करिब ७० पाइलटको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरिरहँदा नक्कली प्रमाणित भएको एकजना पाइलटलाई बुधवार सार्वजनिक गरेको हो ।
स्वास्थ्य, हवाई उड्डयन र निर्माण यातायातजस्तो सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमै कत्तिसम्म खेलाँची हुँदो रहेछ भन्ने नमुना हुन् उल्लिखित घटनाहरु । यसअघि सवारी चालक अनुमतिपत्र लाइसेन्सदेखि सरकारी छाप तथा लेटरप्याड किर्ते गर्नेहरुलाई मात्र प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो ।
तर पछिल्लो पटक डाक्टर, इन्जिनियर र पाइलटकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेलापरेपछि आफ्नो अनुसन्धानको दायरा फराकिलो बनाएको सीआईबीका डीआईजी नवराज सिलवाल बताउँछन् ।
राजधानी दैनिकमा प्रकाशित
प्रतिक्रिया