गायक तथा नायक बाबु बोगटीको नेपालको शिक्षाप्रतिको धारणा यसपटकको शनिबारमा
– विष्णु विवेक / नेपालको शिक्षा क्षेत्रमा बेलाबखत शिक्षा निःशुल्क हुुनुपर्छ भनेर बहस चल्दा यसलाई कहिल्यै निःशुल्क गर्नु हुदैन् भनिन्छ । अभिभावकलाई जिम्मेवार बनाउन केही भएपनि शिक्षालाई सःशुल्क गराउनुैपर्छ भन्ने सरोकारवालाको धारणा कडासंग आउने गर्छ ।
तर हाम्रो शिक्षा यति धेरै सःशुल्क भयो भन्ने कुराको अनुभव गायक तथा नायक बाबु बोगटीले गरेका छन् । ‘शिक्षा निःशुल्क भएपनि सःशुल्क भएपनि निश्चित र समयानुकुल हुनुपर्छ । तर हाम्रो शिक्षा यस्तो अवस्थामा छ जहाँ सःशुल्क निःशुल्क भन्दा पनि पैसै पैसा भए पुग्छ । र पैसा भए पढाई हुने नभए नहुने भइसक्यो । शिक्षामा सिकाई भएन पैसाको खेलो मात्र भयो ।’ गायक बोगटीले भने ।
सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेपनि हजारौँ फि विभिन्न बाहनामा मागिनु, नीजिमा पैसाकै बिटो लिएर विद्यार्थी भर्ना गरिनु जस्ता उदाहरण यसका पर्याय भएका उनको दाबी छ ।
अझ पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर नभएको भन्दै आफ्ना छोराछोरी नीजि विद्यालयमा भर्ना गर्न चलेको होडबाजी देखेर गायकबाटै नायक बनेका बोगटी दंग पर्छन् ।
‘कुनै बोर्डिङ स्कुलले राम्रो पढाउँछ भनेर लाखौँ खर्चेर छोराछोरी भर्ना गरिन्छ । आखिर पढाई हुने एउटै किताब हो । कोर्स एउटै हो । यतिसम्मकी परीक्षामा प्रश्नपत्र पनि एउटै आउँछ । तर यति किन फरक छ शिक्षाका लागी पैसाको खोलो बगाउने शैली । म अचम्ममा छु ।’ बोगटी भन्छन् ।
१४ बर्षकै उमेर स्टेज गायक
वि.स. २०५५ सालमा मोरङको आवासीय माध्यामिक विद्यालय लेटानबाट एसएलसी पास गरेका बोगटी १४ बर्षकै उमेरमा गायक बनेको सम्झन्छन् । ‘म पहिलोपटक १४ बर्षको उमेर स्टेज चढेको हुँ । त्यतिबेला पुराना गीतहरुको ट्रयाक पाइन्थे । त्यसैमा गीत गाइन्थ्यो । स्कुलमै भएको एक कार्यक्रममा गाउन अवसर जुरेपछि गीत गाउन शुरु गरेको हुँ ।’
हालसम्म करिब तीन सय पप, आधुनिक लगायतका गीत गाएका बोगटी बाटो मुनिको फुल फिल्मबाट नायकमा समेत देखा परे । वितेका पल, न विर्से तिमीलाई न पाए तिमीलाई, बाटो मुनिको फुल २ फिल्ममा समेत अभिनय गरेका बोगटीका धेरै गीत चर्चित छन् ।
खासगरी पप गीतबाट आफ्नो गायन करियर अगाडी बढाएका बोगटीले एसएलसीपश्चात काठमाडौँकै ललितकला कलेजमा ‘भोकलिस्ट’ गायनमा स्नातकसम्म अध्ययन गरे ।
कामको अनुभव र ज्ञान नै शैक्षिक योग्यता
गायनमा स्थापित हुदैँ गएपछि पढाई चटक्कै छाडेका उनी काम गर्दै जादाँको अनुभवले शैक्षिक प्रमाणपत्रको योग्यतालाई पनि उछिन्ने दाबी गर्छन् ।
‘मैले अहिलेसम्म जति सिके गायनकै बारे सिके । जति पढे यसैको बारे धेरै पढे । कस्तो गीत गाउँदा कस्तो हुन्छ ? कस्तो फिलिङ्समा गाउनुपर्छ मलाई थाहा हुन्छ । मेरो शैक्षिक योग्यता नै त्यही हो’ बोगटी भन्छन् ‘मैले गायनमा जति सिकेको छु । त्यो डाक्टर, पाइलटलाई थाहा हुदैन् । त्यसैले मैले सिकेको जानेको कुरा नै मेरो शैक्षिक योग्यता हो ।’
कागजी प्रमाणपत्रले केही नहुने भन्दै कुनै पनि मान्छेले गरेको कामलाई योग्यता मान्नुपर्ने गायक तथा नायक बोगटीको धारणा छ ।
‘अहिले प्राय कति पढेको छ भनेर सोध्छन् ? यो सबै वाहियात जस्तो लाग्छ । एसएलसीसम्म एक किसिमको अध्ययन अनिवार्य चाहिन्छ । त्यसपछि मान्छे आफ्नो साधनाले मात्रै खारिन्छ । उ चिनिने बाच्ने भनेकै त्यही साधना र कर्मले हो । यतिसम्मकी उसको आम्दानी पनि त्यसैबाट हुन्छ । यसलाई हाम्रो शिक्षा प्रणालीले अंगिकार गर्नुपर्छ ।’ उनले भने ।
मानिसमा कामको क्षमता र अनुभवलाई मान्यता नदिएर सैद्धान्तिक शिक्षा लाद्ने काम मात्रै गरिएकोमा बोगटीको गुनासो छ । काम र सीपमा जति नै दक्ष भएपनि शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर दिने प्रवृत्तिले मुलुकको विकास हुन नसकेको उनको दाबी छ ।
‘हामी हाम्रो समाज अहिले पनि मान्छेको क्षमतामा विश्वास गर्दैन् । यो दुर्भाग्य हो । किनकी मान्छे केही न केही क्षमता लिएर मात्र जन्मन्छ । उससंग केही न केही गर्ने क्षमता र रुचि हुन्छ । तर उसको क्षमता भन्दा उ परीक्षामा पास भयो की फेल भयो ? भनेर बढी चियोचर्चो गरिन्छ । अनि मान्छेमा भएको क्षमताको मनोबल समेत घट्दै जान्छ ।’ उनले भने ।
शिक्षा सीपयुक्त हुनुपर्यो
कुरा भन्दा कामले विकास र समृद्धि हात पर्ने भन्दै बोगटी कागजी प्रमाणपत्रका लागी मात्रै पढ्ने र पढाउनै काम बन्द गराउनुपर्ने बताउँछन् ।
‘अब हामी यो शिक्षा पद्धतिले कहिँ पुग्दैनौँ । किनभने एसएलसीसम्मको अध्ययन एक हदसम्म ठिक छ । तर त्यसपछिबाट मानिस हरेक बर्ष कुनै न कुनै सीपमा दक्ष हुनुपर्ने बनाउनुपर्छ । अनि मात्रै हामी हाम्रो दैनिकी चलाउन सक्छौँ । अहिले हजारौँ युवाहरु विदेश भासिनुको कारण पनि यहँी हो । पढेर बाच्न सकिएन । काम गर्न विदेश जानुपर्यो । त्यसैले उच्च माविमा पनि त्यै सैद्धान्तिक कुरा रट्ने नभई आफ्नो रुचिअनुसारको सीपमा दक्षता हासिल गर्न सकिने शिक्षा प्रणाली चाहियो ।’ उनले भने ।
सीप भएमा मानिसहरुमा आत्मविश्वास बढ्ने भन्दै बोगटीले यसलाई गम्भिर रुपमा सरकारले लिनुपर्ने बताउँछन् । गफ चुटेर बस्ने सरकारी अधिकारीमा काममा नयाँपन र केही फरक किसीमका शैक्षिक कार्यक्रम ल्याउनुपर्ने गायक बोगटीको धारणा छ ।
सरकार होइन् पद्धति फेर्नुपर्छ
यसका लागी बर्षेनी सरकार फेरेर नहुने भन्दै उनले शिक्षामा सुधार गर्न शैक्षिक एजेण्डा र पद्धति फेर्नुपर्नेमा जोड दिए ।
‘आज अमेरिका युरोप लगायतका देशहरु कति विकसित छन् । कारण उनीहरु शिक्षासंगै विकासमा लागे । प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिए । नागरिकलाई पढेपछि रोजगारको अवस्था सिर्जना गरे । तर हामीकहाँ ठिक उल्टो छ । पढ्यो की विदेश जानैपर्ने बाध्यकारी शिक्षा पढाइदैछ । यसलाई सुधार्न सरकार होइन् पद्धति फेर्नुपर्छ ।’
बहुदल आएपछि सरकार बनाउने र गिराउने खेल मात्रै भएको भन्दै यसलाई सुधार्न शिक्षालाई विशेष जोड दिनुपर्ने उनी बताउँछन् । शिक्षा राज्यको मेरुदण्ड भएको भन्दै शिक्षाले मानिसको सोच्ने तरिका बदल्ने बोगटी बताउँछन् ।
‘अहिले हामी हरेक क्षेत्रमा विकृति देखिरहेका छौँ । शिक्षामै हेरौ न सरकारको खर्बौ लगानी छ। विदेशी दाताको झन कति लगानी छ कति अनि नीजि क्षेत्रको पनि ? तर त्यसको प्रयोग गर्न हामी कति सफल भर्यौँ ? किनकी अझै हामीलाई हामीसंग भएको सा्रेत साधनको पद्धति सुधार्नुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने थाहा छैन् । त्यसैले अब आफैलाई चिन्ने शिक्षा पद्धति ल्याउनुपर्छ । त्यसका लागी राज्यको माथिल्लो तहमा बस्ने सरकारी अधिकारी र राजनीतिक दलहरुले सोच्नुपर्छ ।’ बोगटीले भने ।
नयाँ बर्षको अवसरमा केही दिनभित्रै आफ्नो नयाँ गिती एल्बम ‘रेसपेक्ट’ बजारमा ल्याउन लागेका बोगटी शिक्षा सुधार र विकासका लागी हरेक नागरिक आफैमा सकारात्मक हुनुपर्ने धारणा राख्छन् ।
‘शिक्षा सुधार सम्भव छ । यसका लागी हामी सबैमा एक अर्काको आलोचना होइन् । सकारात्मक सहयोगको खाँचो छ । यदि सबैले आ–आफ्नो स्थानबाट रचनात्मक सकारात्मक सहयोग गर्ने भने शिक्षासंगै मुलुककै विकास गर्न असम्भव छैन ।’ उनले भने ।
प्रकाशित मिति २०७३ बैशाख २५ गते ।
प्रतिक्रिया