Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नक्कली पाइलटले जागिर छाड्न थाले

शुक्रबार, २४ बैशाख २०७३

काठमाडौँ, २४ बैशाख । नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेका विशाल कार्की पक्राउ परेपछि अन्य पाइलटले पनि धमाधम राजीनामा दिन थालेका छन् । बिहीबार विभिन्न एयरलाइन्समा कार्यरत पाँचजना पाइलटले राजीनामा दिएका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार गोमा एयरमा एक वर्षदेखि को–पाइलटका रूपमा कार्यरत कार्कीलाई पक्राउ गरेको थियो । ६८ जनाको शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान सुरु गरेपछि अन्य पाइलटले पनि राजीनामा दिएका हुन् । 

आफूहरूमाथि छानविन सुरु भएपछि देशका ठूला एयरलाइन्समै कार्यरत पाइलटले राजीनामा दिएको स्रोत बताउँछ । सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले पनि पाइलटहरूले राजीनामा दिएको सूचना पाइएको बताए । ‘पाइलटहरूले राजीनामा दिन थालेको बुझिएको छ,’ डिआइजी सिलवालले भने, ‘हामीले उनीहरूमाथि अनुसन्धान जारी नै राखेका छौँ ।’ प्रमाणहरू संकलन गरेपछि मात्र पक्राउ गर्ने प्रहरी तयारी छ ।

एक महिनादेखि सिआइबीको अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पाइलट पढेको सूचनाका आधारमा सिआइबीले करिब एक महिनादेखि पाइलटहरूमाथि अनुसन्धान गर्दै आएको छ । शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्ने प्रणाली देशमा नहुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने विकृति देखिएको प्रहरी अधिकारी बताउँछन् ।

मंगलबार पक्राउ परेका कार्कीले लखनउमा आइएस्सी पढेका थिए । तर, पास गर्न नसकेपछि बागबजारमा करिब ५ हजार रुपैयाँ तिरेर अमृत साइन्स क्याम्पसको नाममा आइएस्सीको सर्टिफिकेट बनाएका थिए । शैक्षिक प्रमाणपत्र नक्कली भए पनि उनीहरूले नेपाल उड्डयन प्राधिकरणले लिने लाइसेन्स परीक्षा उत्तीर्ण गर्दै आएका थिए । तर, सामान्य परीक्षा नै उत्तीर्ण गर्न नसक्नेलाई जहाज उडाउनेजस्तो संवेदनशील जिम्मेवारी दिँदा यसले गम्भीर परिणाम निम्त्याउन सक्ने प्रहरी अधिकारी बताउँछन् । प्राधिकरणले पनि अबदेखि लाइसेन्स दिनुअघि उनीहरूको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने जनाएको छ ।

नक्कली चिकित्सक पनि भाग्न थाले

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेर चिकित्सकका रूपमा काम गर्नेहरू पनि जागिर छाडेर भाग्न थालेका छन् । प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि उनीहरू भाग्न थालेका हुन् । ‘नेपालबाट भागेका धेरैले भारत पुगेर हामीले जागिर छाडिसक्यौँ, केही नगरिदिनुहोला भन्दै फोन गर्न थालेका छन्,’ सिआइबीका डिआइजी सिलवाल भन्छन्, ‘हामीले पक्राउ गर्न थालेपछि देशैभरि धेरैले जागिर छाडेर विदेश गएको बुझिएको छ ।’

१७ जना नक्कली चिकित्सक पक्राउ

सिआइबीले हालसम्म १७ जना नक्कली चिकित्सकलाई पक्राउ गरिसकेको छ । उनीहरू अदालतबाट धरौटीमा छुटिसकेका छन् । नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्सँग मिलेर सिआइबीले नक्कली डाक्टरविरुद्ध अप्रेसन क्वाक अभियान चलाएको छ ।

इन्जिनियरिङ क्षेत्रमा नक्कलीको बिगबिगी

इन्जिनियरिङ क्षेत्रमा पनि नक्कली प्रमाणपत्रधारीको बिगबिगी देखिएको छ । महानगरीय अपराध महाशाखाले एक सातामै १० जनालाई पक्राउ गरी थुनामा राखेको छ ।

पक्राउ परेकाले सयौँले बिई उत्तीर्ण नै नगरी लाइसेन्स लिएर काम गर्दै आएको बताएका छन् । नेपालमा करिब ३२ हजार इन्जिनियर छन् । इन्जिनियरिङ परिषद्ले पनि इन्जिनियरिङ कलेजहरूसँग सहकार्य गरी नक्कली प्रमाणपत्रका आधारमा लाइसेन्स लिनेमाथि छानबिन थालेको छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया