काठमाडौं, २४ वैशाख । विद्यार्थी अभावले सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेपछि कीर्तिपुर चम्पादेवीका स्थानीय बासिन्दाले आफ्ना छोराछोरी बोर्डिङ स्कुलबाट झिकेर सामुदायिकमा भर्ना गरेका छन् । २०२२ सालमा स्थापना भएको चम्पादेवीस्थित बाघभैरव मावि विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेपछि स्थानीय अभिभावकहरूले आफ्ना छोराछोरी सो विद्यालयमा भर्ना गरेका हुन् ।
बोर्डिङ स्कुलका २५ जना विद्यार्थी थपिए
अघिल्लो वर्ष ९९ जना विद्यार्थी रहेको माध्यमिक तहको बाघभैरव माविमा स्थानीयको अथक प्रयासपछि यो वर्ष विद्यार्थीको संख्या एक सय ३७ जना पुगेको छ । विद्यालयका प्रधानाध्यापक शिवहरि गिरीका अनुसार २५ जना विद्यार्थी विभिन्न बोर्डिङ स्कुलबाट भर्ना हुन आएका छन् । ग्रिन भिलेज मावि, ग्रिन भिलेज फाउन्डेसन, क्रियटिभलगायतका बोर्डिङ स्कुल पढ्दै गरेका विद्यार्थी बाघभैरव माविमा भर्ना भएका हुन् ।
सामुदायिक विद्यालयमै अंग्रेजी माध्यममा पढाइ
विद्यालयले यस वर्षदेखि १ देखि ६ कक्षासम्म अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ । विद्यालयका प्रअ गिरीका अनुसार विद्यालय व्यवस्थापन समिति र जागरूक नागरिकले सामुदायिकको शैक्षिक उन्नतिमा लैजान बोर्डिङबाट विद्यार्थी झिकेर सामुदायिकमा भर्ना गरिएको हो । बाघभैरव विद्यालयलाई राम्रो बनाउन पूर्वविद्यार्थीहरू सक्रिय भएर लागेका छन् ।
भर्ना अभियान सुरु
पूर्वशिक्षकहरूले सामुदायिक विद्यालयमा विद्यार्थी थप्न भर्ना अभियान चलाएका छन् । भौतिक पूर्वाधार प्रशस्त भए पनि सामुदायिक विद्यालयको शिक्षाप्रति विश्वास नभएपछि बाघभैरव मावि बन्द हुने अवस्थामा पुगेको थियो ।
बाघभैरव मावि १४ रोपनी चार आनामा फैलिएको छ भने भौतिक पूर्वाधारसमेत राम्रो छ । विद्यालयमा प्रावि तहमा ८, निमाविमा एक राहतसहित ७ शिक्षक र माविमा ६ वटा दरबन्दी छ । भौतिक र शैक्षिक विकासमा अघि बढेको यस विद्यालयले २५ वैशाखमा स्वर्ण महोत्सव मनाउँदै आएको छ ।
उपत्यकामा सामुदायिकप्रति आकर्षण
उपत्यकाका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कतिपय सामुदायिक विद्यालयमा भर्ना हुन सोर्सफोर्ससमेत लगाउनुपर्ने अवस्था छ ।
काठमाडौंका रत्नराज्य, ज्ञानोदय, तरुण मावि, बलम्बु मंगलोदयलगायतका सामुदायिक विद्यालय राम्रा मानिन्छन् । यी विद्यालयमा विद्यार्थीको चाप धेरै छ । ललितपुर आदर्श उमावि बज्रबाराही, प्रगति शिक्षा सदनलगायतका विद्यालयमा आकर्षण बढेको छ । भक्तपुरमा श्रीपद्म, वासु मावि चर्चित सामुदायिक विद्यालयमा पर्छन् ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन एसएलसीको रिजल्ट राम्रो आउनुपर्ने र अंग्रेजी माध्यममा पढाइ हुनुपर्ने बताउँछन् ।
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया