Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

स्ववियु निर्वाचन : त्रिविको असक्षमतामा राजनीतिक ‘इगो’

मंगलबार, २१ बैशाख २०७३

विष्णु विवेक । विगत ८ बर्षदेखि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न नसक्नुमा राजनीतिक ‘इगो’ देखिएको छ । राजनीतिक भागबण्डामा विश्वविद्यालयमा नियुक्त भएका पदाधिकारीलाई नै पार्टीबाट चुनाव नगर्न आउने दबाब र त्यही अनुसार विद्यार्थी संगठन विभिन्न अडान राखेर वातावरण धमिल्याउन लागेपछि स्ववियु निर्वाचन अलपत्र परेको हो । 

गणतन्त्र घोषणापछि ७ वटा सरकार बनिसक्दा समेत एकपटक बाहेक दोश्रोचोटी स्ववियु चुनाव हुन सकेको छैन् । २०६५ पछि हुन नसकेको स्ववियु चुनावमा ‘आफ्नो पार्टीको नेतृत्वमा सरकार’ र विद्यार्थी भर्नाको ‘लविङ’ मुख्य कारण देखिएका छन् । यी दुईबीच तालमेल नमिल्दा पटक पटक तोकिएको मितिमा पनि स्ववियु निर्वाचन हुन नसकेको विद्यार्थी संगठनका एक नेता बताउँछन् । 

‘अब बुझ्न गाह्रो छैन् । पटक पटक तोकिएर पनि चुनाव नहुनु राजनीतिक इगो नै हो’ उनले भने ‘जब पार्टी र त्यसको विद्यार्थी भातृ संगठनले स्वतन्त्र प्रतिष्पर्धामा भन्दा चुनावमा कसले कति विद्यार्थी भर्ना गरेर आफ्नो पल्ला भारी गर्ने भन्ने विषयमा हानथाप हुन्छ । आफ्नो पार्टीको सरकारका बेला जति विद्यार्थी भर्ना गरेपनि सेटिङ मिलाउन सकिन्छ । तर अर्को संगठनले त्यसको विरोध मात्रै होइन् चुनावै स्थागित गर्न माग गर्छ ।’

२०६९ जेठ २३ गते स्ववियु निर्वाचनको ‘डेट’ तत्कालिन एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराई सरकारका पालामा तोकिदा विद्यार्थी भर्नाको विषयलाई लिएर विद्यार्थी संगठनबीच नै विवाद भएपछि त्रिविले चुनाव स्थागित गरेको थियो ।

एमाओवादी सरकारमा छदाँ अनेरास्ववियु क्रान्तिकारीले चुनाव हुनैपर्ने अडान राख्दा कांग्रेस निकटको नेविसंघ र एमालेनिकट अनेरास्ववियुले अवैध विद्यार्थी भर्नाको विरोध गरेका  थिए । देशभरका क्याम्पसमा आफ्नो संगठनले बर्चस्व जमाउन नसक्ने र हार्ने स्थिती आएपछि विद्यार्थी संगठनका नेताहरु नै चुनाव गर्नुभन्दा विभिन्न बाहना बनाएर स्थागित गर्न पार्टीमार्फत त्रिविका पदाधिकारीलाई दबाब दिने गरेको ती विद्यार्थी नेता बताउँछन् । 

‘हार्नुभन्दा त चुनावै नगर्नु बेश नि । हार्यो भने दुई बर्ष कुर्नुपर्छ । त्यसमा पनि  चुनाव हुन्छ की हुन्न भन्ने ठेगान हुदैन् । त्यसका लागी बरु चुनाव नगरेर अहिलेकै ‘कलेज हंगामा’ ठिक छ भन्ने विद्यार्थी संगठनहरुकै चाहना हुन्छ ।’ उनले भने ।

यही कारणले गर्दा स्ववियु चुनाव नभएको ९ बर्ष पूग्नै लाग्दा ७ वटा सरकार परिवर्तन हुनुले यसको प्रत्यक्ष असर त्रिवि र उसले गर्ने स्ववियु निर्वाचनमा पर्न गएको हो । त्रिविका देशभर रहेका ६० आंगिक क्याम्पस र १ हजार ५३ सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा विद्यार्थी संगठनको मनोमानी बढ्दै गएको छ । 

बैशाख २० को रस्साकस्सी 

पछिल्लो समय त्रिविले बैशाख २० सम्म स्ववियु निर्वाचन गर्ने छनक दिएको थियो । यही मितिमा फागुनदेखि नै विद्यार्थी संगठनबीच बाक्लो छलफल र त्यही अनुसार त्रिविको तयारी थियो । 

तर विद्यार्थी संगठन आफ्ना माग र अडानमा ‘टसको मस’ नभएपछि त्रिविले गरेको तयारी पनि खेर गयो । कारण विद्यार्थी संगठनबीचकै अडानले त्रिविका पदाधिकारीलाई चुनाव गर्न भन्दा नगर्न बल मिल्यो ।

पढ्नुहोस :  स्ववियु निर्वाचन : विद्यार्थी संगठनकै अडानले रोक्यो त्रिविलाई !

तीन माओवादी (एमाओवादी, बैद्य र विप्लव माओवादी) का विद्यार्थी भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले निर्वाचनमा समानुपातिक प्रणाली हुनैपर्ने अडान राखेका थिए । तर नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी सघंले यो आफुलाई मान्य नहुने बताइरह्यो । बरु उसले त्रिविको विनियम अनुसार उमेर हदबन्दी लगाउन नहुने भन्दै त्यसलाई हटाउन संशोधन प्रस्ताव नै त्रिविका पदाधिकारीलाई बुझाए । 

अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघको सो अडानले यसपटक पनि त्रिविलाई चुनाव गर्न भन्दा स्थागित पार्न नै सहयोग मिल्यो । यी दुई संगठनको बीचमा रहेको एमालेको अनेरास्ववियु पनि मौन रह्यो । चुनाव गर्नुपर्छ भन्ने उसको चर्को स्वर पनि दुई संगठनको अडानले क्रमशः मलिन हुदै गयो । अन्ततः त्रिविले बैशाख २० सम्म गर्ने भनेको स्ववियु चुनावलाई पनि टार्यो । अब चुनाब कहिले हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन् ।

नेविसंघ प्रवक्ता युपी लामिछानेले भने ‘हामी हाम्रा मागमा कहि पनि टसमस हुदैनौँ । उमेर हदबन्दी लागु गर्नु हुदैन् भनेर त्रिवि पदाधिकारीलाई पनि ज्ञापनपत्र बुझाएका छौँ । यो हाम्रो स्ववियु निर्वाचनको दबाबकै लागी हो ।’ 

यसअगाडी नेपाली कांग्रेसका तत्कालिन सभापति र प्रधानमन्त्री शुशिल कोइरालाका पालामा त्रिविमा नियुक्त भएका उपकूलपति तीर्थ खँनियालाई समेत नेविसंघको अडान मान्ने की चुनावको मिती घोषणा गर्ने ठूलो अन्योल परेको केही विद्यार्थी नेताहरुको दाबी छ ।

तर प्रवक्ता लामिछाने भने राजनीतिक कारणले स्ववियु चुनाव हुन नसकेको कुरामा सत्य नभएको दाबी गर्छन् । ‘राजनीतिक कारण भन्दा पनि त्रिविका पदाधिकारीको असक्षमताका कारण चुनाव नभएको हो । केही राजनीतिक कारण जोडिएपनि चुनाव नहुनु पार्टीको दबाब र प्रभाव नहोला ।’ उनले भने । 

बैद्य माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रत्न ढकाल पनि स्ववियु चुनाव नहुनुमा त्रिविका पदाधिकारीभित्र कही न कही राजनीतिक ‘इगो’ भएको हुन सक्ने बताउँछन् । 

‘केही न केही कारण त छ । यो राजनीतिक पनि हुन सक्छ । अरु जे भएपनि पटक पटक मिती तोक्छु तर अन्तिम समयमा आएर चुनाव नै स्थगित गर्ने कुराले शंका बढाएको छ ।’ उनले भने ।

महाधिवेशनको चटारोमा किन स्ववियु चुनाव 

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट कांग्रेस सभापति भएका शेरबहादुर देउवाले असारमा नेविसंघको महाधिवेशन गर्न निर्देशन दिइसकेका छन् । 

यसअघि पटक पटक महाधिवेशन गर्ने भनेर पनि नेतृत्वबाटै आलटाल हुदै आएकोमा यसपटक सभापतिले नै महाधिवेशन गर्न भनेपछि नेविसंघ महाधिवेशन तयारीमा लागेको छ । 

संगठन महाधिवेशनमा होमिएपछि तत्काललाई स्ववियु निर्वाचनका बारेमा छलफल गर्ने समय समेत नेविसंघले कटाएको छ । 

‘यसअघि हामीले पटक पटक मिती तोक्न भन्यौ । तर त्रिविले तोकेन । अब के होला र स्ववियु निर्वाचन ?’ नेविसंघ प्रवक्ता लामिछानेले भने ‘हामी जोडतोडका साथ महाधिवेशनतिर लागेका छौँ । अब स्ववियु निर्वाचका बारेमा छलफल गर्र्नै गाह्रो छ ।’

स्ववियु निर्वाचनको मिती तोक्न त्रिविलाई सकस पार्ने नेविसंघले आफ्नो महाधिवेशन नसकिदासम्म यसबारेमा थप नसोच्ने स्पष्ट छ ।  

उपकुलपति भन्छन् ‘अब सिनेटको बैठकपछि मिति तोकिन्छ’

यता त्रिविका उपकुलपति तीर्थराज खँनिया भने अब बस्ने त्रिविको सिनेट बैठकले स्ववियु निर्वाचनको मिती तोक्ने दाबी गर्छन् ।  ‘अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको छैन् । हामीले प्रयास थाल्दा पनि केही कारणले मिति तोक्न सकिएन् । अब बस्ने सिनेट बैठकले स्ववियु निर्वाचनको मिती तोक्छ ।’ खनियाले भने ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेका कारण सिनेट बैठक बस्न नसकेको उनको दाबी छ । बैठकले स्ववियु निर्वाचनको मिती तोक्ने बारेमा ठोस निर्णय गर्ने पनि उपकुलपति खनियाँले बताए । 

‘यसअघि पटक पटक मिति तोकेर पनि चुनाव हुन सकेको छैन् । अब बस्ने सिनेट बैठकले यसबारे ठोस निर्णय गर्छ ।’ उनले भने । 

प्रकाशित मिति २०७३ बैशाख २१ गते । 

 

 

प्रतिक्रिया