Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
विचार / विमर्श

ग्रेडिङको अन्योलता : गणित, विज्ञान र अंग्रेजीको कसरी गर्ने ? 

सोमबार, २० बैशाख २०७३

निरेन्द्र कुँवर / प्रवेशिका परीक्षा २०७२ मा सहभागी भएका विद्यार्थीको लब्धाङ्क पत्रमा यस बर्ष अनुत्तीर्ण लेखिने छैन् । विद्यार्थीले प्राप्त गरेको अंकलाई नौ भागमा विभाजन गरिएको छ । यसमध्ये २० देखि ४० सम्म अंक प्राप्त गर्नेलाई औसत भन्दा तल, १ देखि २० सम्म प्राप्त गर्नेलाई अपर्याप्त लेखिने छ । यसबाट के बुझ्न सकिन्छ भने औसत भन्दा तल अंक प्राप्त गर्नेले कसरी माथिल्लो तहमा अध्ययन गर्ला ? अपर्याप्त लेखेको पाएकाहरुले त अन्त जाने ठाउँ छैन् । औसत भन्दा तल भनेकोले ४० अंक ल्याउने विद्यार्थीको लागी माथिल्लो तह अध्ययन गर्ने अवसरबाट बञ्चित होइन् र ? अब पहिलेको पद्धतिमा हेरौँ ३२ अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुन्थ्यो । ३२ अंक न्युनतम अंक ल्याउने विद्यार्थीले माथिल्लो तहमा अध्ययन गर्न पाउथ्यो । अहिले औसत भन्दा तलको लागी माथिल्लो तहमा भर्ना पाउने हो भने २० भन्दा माथी अंक ल्याउने सबैले पाउने छन् । औसत भन्दा तलको लागी माथिल्लो तहमा भर्ना पाउने हो भने २० भन्न्दा माथी अंक ल्याउने सबैले पाउने छन् । औसत भन्दा तललाई नदिने हो भने ४० भन्दा बढी ल्याउनेले मात्र पाउनेछन् । यसरी ३२ अंक ल्याउदा त पचास प्रतिशतको हाराहारीमा उत्तीर्ण हुने संरचनामा ४० अंकलाई आधार अंक बनाउने हो भने परीक्षामा भाग लिने मध्ये कति प्रतिशतले माथिल्लो तह अध्ययन गर्ने अवसर पाउलान ? सहजै अनुमान गर्न सकिन्छ । कतै परीक्षा नियन्त्रण कार्यालयले घुमाउरो तरिकाले उच्च अध्ययनको लागी न्युनतम ४० अंक तोकेको त होइन ? यदि यो होइन भने र औसत भन्दा तलको लागी उच्च अध्ययनमा मौका दिने हो भने २० अंक ल्याउनेलाई मौका नदिइएको किन नभन्ने ? 

यहाँ ग्रेडिङ प्रणालीका सम्बन्धमा टीका टिप्पणी गर्न खोजिएको होइन् । यो कस्तो समयमा आयो कुन स्तरमा लागु गरियो ? यसमा कार्यरत शिक्षकसंग कति छलफल गरियो ? भन्ने प्रश्नहरु त यथावत छन् । यी प्रश्नहरुको यथेष्ट उत्तर नआउँदासम्म शंका रहि रहनेछ । लामो समय भयो प्रवेशिका परीक्षामा विद्यार्थीहरुको उत्तीर्ण प्रतिशत राम्रो भएन भनेर नतिजा प्रकाशनपछि विद्युतीय तथा छापा मिडियाले चर्चा परिचर्चा गरेको । कक्षा १ देखि स्नातकोत्तर तह दोश्रो बर्षसम्मको परीक्षा समय तालिका बनाएरै हुन्छ । प्रत्येक बर्षको चैत महिनामा १ देखि ९ सम्मको परीक्षा हुन्छ । त्यसको नतिजा पनि प्रकाशित हुन्छ । प्रवेशिका परीक्षाको परीक्षा चैतमा र नतिजा असारमा प्रकाशित हुन्छ । कक्षा ११ र १२ को परीक्षा बैशाखमा हुन्छ । स्नातक र स्नाकोत्तर तहको परीक्षा र नतिजा प्रकाशन पनि रािष्ट्रय स्तरका विद्युतिय तथा छापा मिडियाबाट मात्रै थाहा हुन्छ । १ देखि ९ सम्मको परीक्षाको नतिजा चैत महिना भरमा हुन्छ । त्यसैले परीक्षा तालिका र नतिजा प्रकाशनलाई राष्ट्रिय स्तरको मिडियामा पनि राख्नु परेन । तर प्रवेशिका परीक्षाको लागी जुन स्तर र तरिकाबाट राज्यको शक्ति प्रयोग हुन्छ । त्यस्तै गरी त्यो भन्दा माथिल्लो तहको परीक्षाको लागी भएको पाइदँैन् । यहाँ प्रवेशिका परीक्षा संञ्चालन गर्दा राज्यको शक्ति लाग्यो भनेर पनि चिन्ता होइन र नतिजा प्रकाशन गर्दा राज्यको शक्ति तरंगित भएको तथा विद्युतीय छापा मिडियाहरुले प्रचार प्रसार गरेको भन्ने गुनासो पनि होइन् । हो केवल अनावश्यक प्रचारबाजी किन हुन्छ ? भन्ने मात्रै हो । प्रवेशिका परीक्षाको नतिजा पचास प्रतिशतका हाराहारीमा आउँदा उच्च माध्यामिक शिक्षा परिषदले लिने परीक्षा र विश्वविद्यालय अन्तर्गतका एकाईहरुले लिने परीक्षाको नतिजा पनि यो भन्दा राम्रो छैन् । तर त्यसको चर्चा परिचर्चा हुदैन् । यसको अर्थ प्र्रवेशिका परीक्षाको विद्यमान नतिजा राम्रो छ र यस्तै रहनुपर्छ भन्ने होइन् । अझ राम्रो गर्नुपर्छ त्यसमा सबै तल्लिन हुनुपर्छ । तल्लो तहमा कक्षा उन्नतोहर प्रणाली माथिल्लो तहमा खस्किदो नतिजा बीचको प्रवेशिका परीक्षा मात्र कुन ग्रहका मानिस र कुन ठाउँमा सञ्चालन भएको हो र ? त्यसमा प्रभाव नपर्ने । स्वभाविकै रुपमा यसको असर सबैमा पर्ने नै त भयो । त्यसैको परिणाम प्रवेशिका परीक्षामा पनि पर्यो । 

हामी प्राथमिक तहदेखि विश्व विद्यालयको स्नातकोत्तर तहसम्म अध्ययन गर्ने हामी सबै शिक्षक हौँ । आ–आफ्नो शरीरमा भएको भैसी देख्दैनौँ तर अर्काको शरीरको जुम्रा देख्छौँ । यसको अर्थ आलोचना गर्न पाँइदैन् भनेको होइन् र त्यो भन्नु पनि हुदैन् । आज भन्दा २० बर्ष अगाडीको स्नातकोत्तर तहको अध्ययन गर्ने विश्वविद्यालय एउटै थियो । तपाई हामीहरु सबै एउटै स्थनाबाट आयौँ । यति सानो देश र यति थोरै इन्स्टिच्युटहरु भएको देशमा सुधार गर्न सजिलै सकिन्छ । तर हामी सुधार गर्ने पक्षमा नलागी केवल आलोचना गर्ने तिर मात्रै लाग्यौ की ? यदि आलोचना मात्रै हाम्रो गन्तव्य हो भने नुन खाएको ठाउँको अवस्था के छ र आफ्नो दायित्व के हो ? त्यो नविसौँ । विश्व विद्यालयका शिक्षकले उच्च माध्यामिकका शिक्षकलाई उच्च माध्यामिकका शिक्षकले माध्यामिक र माध्यामिकका शिक्षकले उच्च माध्यामिकका शिक्षकलाई जिम्मेवारी पुरा गरेनन् मात्र भन्ने हो की ती प्राथमिक तहका शिक्षकले योग्य बालक नजन्माउने आमाबाबु नै अयोग्य हुनु भन्दा कुनै अनर्थ हुने छैन् । र ती नानी जन्माउने हाम्रा बाबु पनि दोष मूक्त हुने छैनन् भने तपाई हामी पनि त हाम्रा बुवा हौला । यो तरिकाले शिक्षामा सुधार होइन् विकृति मात्र फेला पर्छ ।

समयानुकुल ग्रेडिङ प्रणाली नराम्रो होइन् तर यो बीचको तह र नतिजा आलोचित भएको प्रवेशिका परीक्षा तहबाट नै शुरु किन गरियो ? यो प्रश्नको चित्तबुझ्दो जवाफ नआउदासम्म प्रश्न रहि रहने छ । कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा लागु गरेको भए धेरै शिक्षकहरु यससंग परिचित हुन्थे यसमा भएका सामान्य कमी कमजोरी पनि सुधार्न सकिन्थ्यो । विद्यार्थी र अभिभावक यससंग परिचित हुन्थे । प्रत्येक विद्यालयमा बहसको विषय हुन्थ्यो । यसै अनुसार लब्धांक पत्र तयार हुन्थे । सर्वसाधारणलाई जानकारी हुन्थ्यो । अहिले लाजै नमानी भन्ने हो भने अरु शिक्षकको त कुरै छाडौँ । कक्षा १० मा अध्यापन गर्ने शिक्षक समेतलाई यसको यतार्थ जानकारी छैन् । सर्वसाधारणलाई चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । लब्धांक पत्रमा उतीर्ण र अनुत्तीर्ण नलेख्ने मात्र होइन् यसमा अरु पनि छ । यस्ता विषयहरु प्रवेश गराउँदा कम्तिमा पनि सरोकारवालाहरुलाई बहस र छलफलमा उतार्नु पथ्र्यो । तर कुनै पनि छलफल गम्भिर ढंगले भएनन् । ता पनि ग्रेडिङ पद्धति आइसक्यो यो नेपाल सरकारका कर्मचारीको एकाधिकार हो, त्यही लागु भयो । 

माथि उल्लेखित भएअनुसार अंक प्राप्त गर्नेले अगाडीको अध्ययन बढाउन सक्छ र जागिर प्रवेश गर्दा न्युनतम अंक कसलाई मान्ने ? अहिलेको समयमा दुईवटा विषयहरुको निक्र्योल समयमा नै गर्नु उपयुक्त होला । पहिलेको परीक्षामा न्युनतम अंक ३२ लाई मानेकाले लोकसेवा आयोग र त्यस्तै प्रकारका संस्थाले त्यसैलाई आधार मानेका थिए । भने अब के हुने ? यो शिक्षकले मात्र होइन् सबैको सरोकारको विषय हो । 

लब्धांक पत्रमा उत्तीर्ण र अनुत्तीर्ण लेख्दैमा लब्धांक धारीको भविष्य सुनिश्चित हुने होइन् । भविष्य सुनिश्चित हुनका लागी उसले सिकेका कुरा व्यवहारमा उतार्न सक्नुपर्छ । अवको पाठ्यक्रमको उद्धेश्य त्यतातिर हुनुपर्छ । अहिलेको प्रवेशिका परीक्षाको लागी आलोचित विषय गणित, विज्ञान र अंग्रेजी हुन् । एक्काइसौँ शताब्दीको युग वैज्ञानिक युग भने ता पनि हाम्रो देश, हाम्रो देशको अवस्था, यो देशका हामी नागरिक, हाम्रो आर्थिक अवस्था, हाम्रो साक्षरताहरु आदी प्रमुख विषय हुन् । हाम्रो गणित र विज्ञान विषयका पाठ्यक्रमले राखेको लक्ष्य भेटाउन नसक्ने जनसंख्याको ठूलो हिस्सा रहेछ भन्ने थाहा पाउँदा पाउँदै तिनै विषयमा आधारित पाठ्यांशहरु राखिरहनु बुद्धिमता होइन् । गरीवीको रेखामुनि रहेका २४ प्रतिशत लाई त्यसबाट माथी कसरी उठाउने र पढेको विषयमा बढी भन्दा बढी व्यवहारिक कसरी बन्न सकिन्छ भन्ने मुख्य प्रश्न हो । ज्यामितीका साध्य, बीजगणितका समीकरण, विज्ञानमा रसायनशास्त्र भौतिकशास्त्र लगायतका शीर्षकहरुको अध्ययनले मात्र जीवन सफल बन्न सक्तैन् । जीवन सफल बनाउन मद्धत गर्ने र विज्ञान लगायत अन्य पनि छन् । तिनीहरुले अध्ययन मात्रले जीवन सार्थक बन्न सक्दैन् । गणित र विज्ञानको पढाईलाई सार्थक बनाउन पढाउने दक्ष जनशक्ति, अध्यापन गर्ने वातावरण, आवश्यक पर्ने उपकरण र पढ्न सक्ने क्षमता भएका विद्यार्थी नहुँदासम्म यी विषयहरु रहरले मात्र अध्ययन हुन सक्तैन् । त्यस्तै हाम्रो जस्तो सानो तर १ सय २५ भाषाभाषी भएको देशमा अंग्रेजी भाषा नजान्दैमा सबै विषयमा असफल भयो भन्न मिल्दैन् । मातृभाषा, सामाजिक भाषा र राष्ट्र भाषा गरी १४ बर्षको उमेरमा तीनवटा भाषा त जानिसकेको छ । त्यसैमा चौथो भाषाको रुपमा थपिएको अंग्रेजी भाषामा अब्बल निस्कन सकेन भनेर असफल भएको मान्न मिल्दैन् । त्यसैले वर्तमान पाठ्यक्रममा अहिले समावेश भएको गणित र विज्ञानलाई सामान्य गणित र विशेष गणित तथा सामान्य विज्ञान र विशेष विज्ञान गरी पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ । त्यस्तै भाषामा पनि सामान्य अंग्रेजी र विशेष अंग्रेजी गरी २ वटा बनाउन पर्छ । विद्यार्थीले जुन विषयमा आफ्नो क्षमता बढाउने अभिरुचि राख्दछ । त्यही विषय विद्यार्थीलाई रोज्न दिनुपर्छ । भविष्यमा गएर नेपाली, इतिहास, राजनीतिशास्त्र आदी जस्ता विषय पढ्ने विद्यार्थीलाई अहिलेको गणित, विज्ञान र अंग्रेजीको पाठ्यक्रम बोझिलो छ । यसका बदलामा सामान्य गणित, सामान्य विज्ञान र सामान्य अंग्रेजी सहित हाल भइरहेको विषय पढ्न पाउनुपर्छ । इन्जिनियरिङ, मेडिसियन, गणित, विज्ञान, तथ्यांकशास्त्र, कम्प्युटर विज्ञान, भूगोल अर्थशास्त्र आदी पढ्ने गन्तव्य हुने विद्यार्थीको लागी अहिले भइरहेको गणित, विज्ञान र अंग्रेजी लगायत अन्य बिषयको अध्ययन गर्ने मौका दिनुपर्छ ।

सामान्यतः एक तिहाई विद्यार्थीको नतिजा खराब हुदाँ साथ कुनै एउटा पक्षमा मात्र कमजोरी हुदैन् भन्ने बुझ्नुपर्छ । अहिलेको गणित, विज्ञान र अंग्रेजी विषयको पाठ्यक्रमलाई विद्यार्थी, शिक्षक, विद्यालय अहिले बोक्न सकेनन् । यी तिनओटा मध्येमा एउटा पक्ष दुर्बल हुदाँसाथ त्यसको नतिजा खराब भइहाल्छ । त्यसैले शिक्षकमा सुधार ल्याउन, विद्यालयको वातावरण तयार गर्दैछौँ भन्दै विद्यार्थीको जीवनलाई प्रयोगशाला नबनाई विद्यार्थीको चाहना र क्षमता अनुसारको पाठ्यक्रम तयार पारौँ । ग्रेडिङ पद्धति तल्लो तहमा पनि लागु गरौँ । ग्रेडिङ पद्धति केवल परीक्षालाई मात्र नलिउ । समग्र बर्षभरीका मुल्यांकनमा आधारित बनाऊ ।

कुवँर अस्थायी शिक्षक संघर्ष समितीका अध्यक्ष हुन् ।

प्रकाशित मिति २०७३ बैशाख २० गते 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया