काठमाडौँ – उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीद्धारा सञ्चालित कक्षा १२ को परीक्षा सोमबारबाट शुरु भएको छ । बैशाख ३० गतेसम्म सञ्चालन हुने परीक्षामा तीन लाख ४६ हजार ४२७ जना विद्यार्थी सहभागी छन् । कक्षा ११ को परीक्षा जेठ २ गतेबाट शुरु हुने छ । जसमा तीन लाख ६९ हजार ४२६ जना विद्यार्थी सहभागी हुनेछन् । दुबै कक्षा गरी प्लस टु को परीक्षा दिने विद्यार्थी सात लाख १५ हजार ८५३ जना परीक्षार्थी छन् ।
आजबाट शुरु परीक्षाका लागी देशभरका ९२१ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा नियंन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षालाई व्यवस्थित बनाउन ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जनालाई खटाइएको छ ।
गत बर्ष भूकम्पका कारण करिब १ महिना ढिलो शुरु भएको परीक्षाको नतिजा ६ महिनापछि सार्वजनिक भएको थियो । यस बर्ष समयमै परीक्षा भएका कारण नतिजा पनि समयमै प्रकाशित हुने नियंन्त्रक अर्यालले बताए । ‘यसपटक गत बर्षजस्तो हुदैन् । समयमै परीक्षा भएको छ । त्यसैले नतिजा पनि समयमै आउँछ ।’ उनले भने ।
यस बर्षको परीक्षामा पनि सबैभन्दा कम परीक्षार्थी मनाङमा २०० र सबैभन्दा बढी काठमाडौँमा एक लाख १४ हजार ३२२ जना रहेका छन् । बिहान ७ बजेदेखि शुरु हुने परीक्षा १० बजे सकिने छ । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित गराउन देशभर अनुगमनका लागी ३१ वटा टोली परिचालित गरिएको परीक्षा नियन्ंत्रक अर्यालले जानकारी दिए ।
प्रकाशित मिति २०७३ बैशाख २० गते ।
प्रतिक्रिया