Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

बिदेशी डिग्रीको नाममा ठगिँदै विद्यार्थी

बुधबार, २८ माघ २०७१

काठमाडौं २८ माघ / बिदेशी डिग्री स्वदेशमै दिने भन्दै विभिन्न प्रलोभन देखाएर विद्यार्थीलाई भर्ना गर्ने कलेजहरुले ठगिरहँदा पनि शिक्षा मन्त्रालयले कुनै कारवाहि गर्न सकेको छैन । ‘कम खर्चमै स्वदेशमै बिदेशी डिग्री’ भन्दै प्रचारबाजि गर्ने त्यस्ता कलेजहरु कति सम्म झुठा छन् भने तीनीहरुले सम्बन्धन लिएको भनेका विश्वविद्यालयको सम्बन्धित देशमा समेत मान्यता छैन ।

तै पनि उनीहरुले विद्यार्थीलाई भर्ना गरिरहेका छन् । इन्टरनेशनल अमेरिकन यूनिभर्सिटी मार्फत तीन वटा कलेजले सञ्चालनको लागि स्वीकृती पाएको भन्दै बीबीए र एमबीए कार्यक्रममा विद्यार्थी भर्ना गरिरहेका छन् । अमेरिकामा मान्यता नभएको यो विश्वविद्यालयबाट सम्बन्धन लिएको भनिएका काठमाडौंको किङस कलेज, प्रेसिडेण्ड कलेज र निसा एडुकेशन फाउण्डेशन (नोभा) लाई मन्त्रालयले स्वीकृति दिएको छ ।

विश्वविद्यालयको वेभसाइटमै लेखीए अनुसार यो विश्वविद्यालयको डिग्री कार्यक्रम अयोग्य हो । हेर्नुहोस् : http://www.iau.la/adm_req.htm

त्यस्तै यसमा अध्ययन गरेका विद्यार्थीले अमेरिकाको अन्य राज्यमा लाइसेन्स परीक्षामा सहभागि हुन पाउँदैनन् । यो विश्वविद्यालय कुनै पनि मान्यता प्राप्त संस्थाबाट मान्यता भइसकेको छैन । सरकारबाट कुनै पनि अनुदान पनि उपलब्ध गराउँदैन । यस्ता विश्वविद्यालयबाट सम्बन्धन लिएको विश्वविद्यायलाई नेपालमा सञ्चालनको लागि भने शिक्षा मन्त्रालयले स्वीकृत दिएको छ ।

सम्बन्धित देशमा मान्यता नै नभएको विश्वविद्यालयको कार्यक्रम सञ्चालन हुँदा पनि मन्त्रालयले यस्ता कलेजलाई अझै कारबाही गर्न सकेको छैन । कैलालीको इन्टरनेशनल बिजनेश स्कूल र प्रसिडेण्सल बिजनेश स्कूल बिराटनगरले स्वीकृतीका लागि निवेदन दिएपछि छानविनको क्रममा मन्त्रालयले गलत कलेजलाई स्वीकृती दिएको पत्ता लागेको थियो ।

‘विश्वविद्यालय नै मान्यता प्राप्त नभएको पाइएपछि कलेज स्वीकृती नदिएको हो,’ उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिका एक सदस्यले भने,‘सञ्चालनमा रहेका कलेज पनि भएका विद्यार्थीलाई अन्यत्र सिफ्ट गरेपछि बन्द गर्ने निर्णय भएको थियो । तर, कार्यन्वयन भएको छैन ।’ मन्त्रालयले ती कलेजलाई आफ्नो प्रमाण पेश गर्न समय दिएको थियो । तर, विश्वासिलो आधार पेश गर्न सकेका छैनन् ।

मन्त्रालयका अनुसार ती कलेजले लर्निङ सेन्टरको नाममा स्वीकृत लिएका छन् । तर, सबैले कलेजको रुपमा विद्यार्थी भर्ना गरेर नियमित कक्षा चलाइरहेका छन् । यो विश्वविद्यालयले अस्थायी सम्बन्धन मात्रै पाएको छ । यसले कुनै पनि कलेजलाई सम्बन्धन दिन पाउँदैन । उसले लर्निङ सेन्टरको रुपमा सञ्चालन गरेको छ ।

काठमाडौंमा किङस कलेज, प्रेसिडेण्ड कलेज र निसा एडुकेशन फाउण्डेशन (नोभा) ले बीबीए र एमबीए कार्यक्रमको स्वीकृत पाएका छन् । त्यस्तै प्रेसिडेण्सल बिजनेश स्कूलले बीबीए र एमबीएको कार्यक्रम स्वीकृत पाएको छ । किङ्स कलेजले पनि बीबीए, एमबीएको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिने कलेजहरुलाई गर्नु पर्ने नियमनमा कमजोरी भएको मन्त्रालयका अधिकारीहरु स्विकार्छन् । ‘नियमनका आधार बनाउनु पर्छ भनेर हामीले आन्तरिक रुपमा काम शुरु गरिसकेका छौं,’ मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले भने, ‘सम्बन्धन दिनु अघिको तयारी सँगै कलेज सञ्चालन भएपछि तोकिएका कार्यक्रमहरु के कसरी चलेका छन् भन्ने सम्मको अनुगमनका ढाँचा राखेर हामी छिट्टै आधार बनाउँदै छौं ।’ 

प्रतिक्रिया