Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
गतिविधि

सञ्चालक विरुद्ध संघर्षमा जाने संस्थागत विद्यालय शिक्षकको चेतावनी 

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ – संस्थागत विद्यालयका शिक्षकहरुले कम पारिश्रमिक दिएर निरन्तर श्रम शोषण गरिरहने नीजि विद्यालय सञ्चालकविरुद्ध बाध्य भएर संघर्षमा जाने चेतावनी दिएका छन् । शनिबार राजधानीमा आयोजित संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को एकताको चौथो महाधिवेशन उद्घाटन सत्रमा बोल्ने शिक्षकले माग पुरा नभए बाध्य भएर संघर्षमा जाने चेतावनी दिएका हुन् । 

इस्टुका अध्यक्ष मुकुन्द गौतमले भने ‘हामीले लामो समयदेखि नीजि विद्यालय सञ्चालकहरुलाई भन्दै आएका छौँ । सरकारसंग पनि हाम्रा मागहरुबारे निरन्तर जानकारी गराइरहेका छौँ । तर अहिले पनि हाम्रा मागहरु कुनै दराजमा थन्काइएको छ । यदि अब पनि हाम्रा मागहरु पुरा गरिदैनन् भने बाध्य भएर संघर्षमा जान्छौँ ।’

पाचँ हजार देखि पचास हजारसम्म पारिश्रमिक लिएर पढाउने शिक्षकहरुलाई नियुक्ती पत्र दिनुपर्ने, विद्यालयमा निरन्तर पढाए अनुसारको उचित पारिश्रमिक दिनुपर्ने, पारिश्रमिक बढाउन माग गरे विद्यालयबाटै बर्खास्त हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने लगायत मागको सम्बोधन गर्नुपर्ने उनीहरुले माग गरेका छन् । 

नीजि विद्यालय सञ्चालकहरुले शिक्षामा व्यापार गरेर भएपनि गुणस्तर दिएको भन्दै उनले गुणस्तर जोगाईराख्न शिक्षकलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनैपर्ने माग गरे । ‘आज नीजि विद्यालयले गुणस्तर दिएका छन् । सरकारी भएपनि नीजिका भएपनि शिक्षकले गर्दा नै विद्यार्थीको भविष्य उज्ज्वल भएको हो । तर शिक्षकलाई बेवास्ता गरिरहे भोलीका दिनमा यो गुणस्तर नजोगिन सक्छ ।’ चेतावनी दिदै उनले भने । 

प्याब्सनका अध्यक्ष लक्ष्य केसी पनि सहभागी कार्यक्रममा इस्टुका अध्यक्ष गौतमले आफ्ना मागहरु यथाशिघ्र पुरा गरिदिन आग्रह गरे ।  जवाफमा प्याब्सनका अध्यक्ष लक्ष्य केसीले संस्थागत विद्यालयका शिक्षकको योगदानले नै शिक्षाको गुणस्तर उकास्न नीजि विद्यालय सफल रहेको भन्दै उचित मागहरु विस्तारै पुरा गर्न पहल गर्ने बताए । 

कार्यक्रममा नेपाल शिक्षक संगंठनका अध्यक्ष बाबुराम थापाले शिक्षकहरुले एकता नै गुणस्तर शिक्षा विकासको आधार भएको दाबी गरे ।  यस्तै अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले नीजि विद्यालय सञ्चालकहरुले शिक्षकलाई शोषण गरेरै दबाएको भन्दै शिक्षकहरुले एकताबद्ध हुनुपर्ने बताए । 

कार्यक्रममा ढिला गरी उपस्थित भएकी सामान्य प्रशासनमन्त्री रेखा शर्माले शिक्षा सुधार र विकासका लागी आवश्यक बजेट कम भएको े गुनासो धेरै आएकाले आफुले बजेट बढाउन सक्दो पहल गर्ने बताइन् । ‘शिक्षामा बजेट निकै भयो भन्ने गुनासो धेरै आएको छ’ मन्त्री शर्माले भनिन् ‘म बजेट बढाउन सक्दो पहल गर्नेछु ।’  

मन्त्री शर्माले शिक्षकले राजनीति गर्न पाउने की नपाउने भन्ने विषयमा बहस गर्न आवश्यक रहेको बताइन् । शिक्षक संगठनको पेशागत संगठन आवश्यक रहेको भन्दै उनले आगामी दिनमा शिक्षकहरुले रचनात्मक ढंगले शिक्षाको विकास गर्नुपर्नेमा जोड दिइन् ।

आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरका संस्थागत विद्यालयका शिक्षकहरु सहभागी छन् । 

प्रकाशित मिति २०७३ बैशाख १८ गते । 

 

प्रतिक्रिया