काठमाण्डौं - पत्रकार तथा लोक गीत संगीतका सर्जक सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमरको उपचार गराईरहेका क्षेत्रीको बिहीबार राती अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
२०७१ साल मंसिर देखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहेका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि भारतमा समेत उपचार भएको थियो । केहि महिनादेखि रोग थप बल्झिएको थियो ।
बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उनलाई अस्पताल पुर्याइएको थियो ।
उनका श्रीमती र एक नाबालक छोरा छन् । उनका आमा बा सहित परिवारका अन्य सदस्य भने पुख्र्यौली थलो स्याङजामै छन् ।
नेपाल प्रेस यूनियनका सचिव समेत रहेका क्षेत्री नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि हुन् ।
उनी लोक दोहोरी गीतका स्रष्टा पनि हुन् । 'के भनौ र खोइ तिमी हाँस भो मै बसौला रोइ...’ फुलै फुल्यो डाली नुगेन...’ 'तिम्ले मलाई छोडेको दिन त दिउसै सुर्य अस्तायो एकछिन त....' 'धानको सिरौला दुःख पर्दा लाएको गुनैको पैचो तिरौला...’ लगायतका उनका गीत चर्चित छन् ।
पछिल्लो समय शिक्षा विटमा कृयाशिल उनी शिक्षा पत्रकार सञ्जाल (इजोन) का कार्यसमिति सदस्य पनि हुन् ।
यस अघि उनको उपचारका लागि पत्रकारहरुले संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग संकलन गरेका थिए । सूर्य क्षेत्री बचाउ अभियानमा जुटेका पत्रकार उनका शुभचिन्तक निधनको खबरले स्तव्ध भएका छन् । सामाजिक सञ्जाल सूर्य कुमार क्षेत्रीको स्मरणले भरिएको छ ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शुक्रबार विहान ९ बजे देखि प्रज्ञा भवन कमलादीमा राख्ने तयारी भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र कुवँरले जानकारी दिए ।
परिवारका सदस्यहरु काठमाडौं आइसके पछि शुक्रवार दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । यस अघि पशुपति आर्यघाटमै दाह संस्कार गर्ने भनिए पनि स्याङ्जामै लैजाने परिवारले ईच्छा गरेको कुवँरले बताए ।
प्रकाशित मिति २०७३ बैशाख १७ गते
प्रतिक्रिया