Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

टपरी गाँस्दै विद्यालयको बार्षिकोत्सव !

शुक्रबार, ०१ फागुन २०७१

मेलम्ची १ फागुन / ६८ वर्षीया ठूलीकान्छी देउजाले यो उमेरसम्म धेरै पटक टपरी गाँसिन्, तर यति चटारो कहिल्यै परेको थिएन ।  लक्ष्मी थापाले पनि जीवनमा धेरै टपरी गाँसिन् । कहिल्यै पुरस्कार पाएकी थिइनन् । अहिले भने जम्मा चार वटा टपरी गाँस्दा नै पुरस्कार पाइन् ।

मेलम्ची नगरपालिका–२, तालामाराङमा रहेको तेर्से उच्च माध्यामिक विद्यालयको २४ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलनमा उनीहरु पुरस्कृत भएका हुन् ।

महिला अभिभावकको  टपरी गाँस्ने प्रतियोगिता, महिला–पुरुष अभिभावकको हाजिरी जवाफ तथा म्युजिकल चियर प्रतियोगिता विशेष आकर्षण बने ।

अभिभावक तथा विद्यार्थीलाई सहभागि गराई बार्षिकोत्सव मनाउने नयाँ परिपाटि शुरु गरेको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण ढुंगानाले बताए । ‘बार्षिकोत्सवको नाममा विद्यार्थी तथा अभिभावक जम्मा गरेर नेताको भाषण सुनाउने क्रममा नयाँ प्रयोग गरेका हौं’ उनले भने,  ‘अभिभावकलाई श्रोता मात्र बनाउने परिपाटी तोडी विद्यालयले गरेको फरक प्रयोगको अभिभावकले प्रशंसा गरेका छन् ।’

‘राजनीतिक पार्टीको वाक्कलाग्दो भाषण सुन्न परेन मलाई त यही गज्जब लाग्यो’, अभिभावक काजीबहादुर देउजाले भने, ‘अझ आफैं पनि खेलमा सहभागी हुन पाएँ, निकै खुसी लागेको छ ।’

जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि शाखा अधिकृत शिवराज त्रिपाठीले पनि विद्यालयको नयाँ प्रयोगको प्रशँसा गरे । ‘धेरै विद्यालयको वार्षिकोत्सव हेरें । यहाँ चाहिँ साँच्चै अभिभावक सम्मेलन जस्तै भयो,’ उनले भने, ‘यसरी अभिभावकलाई सम्बोधन गर्न सक्नु धेरै राम्रो कुरा हो ।’

१० मिनेट समयमा टपरी गाँस्ने प्रतियोगितामा २३ जना सहभागी थिए । हाजिरी जवाफमा पाँच समूहमा १५ जनाको सहभागिता थियो भने म्युजिकल चियरमा १२ जना अभिभावकले सहभागिता जनाएका थिए । हाजिरी जवाफमा सहभागी ४६ वर्षीय अभिभावक कृष्ण थापाले भने, ‘मलाई त यो प्रतियोगिता निकै रोचक लाग्यो । हाम्रो समूह प्रथम पनि भयो, यसमा झन् खुसी छु ।’

हाजिरीजवाफका प्रश्न निकै रोचक रहेकाले रमाइलो भएको हाजिरीजवाफमा दोस्रो भएका दिपक देउजाले बताए ।

सभासद् शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा संस्थापक प्रधानाध्यापक जितराज थापा, विद्यालय व्यवस्थापन समिति संस्थापक अध्यक्ष स्व. टकबहादुर देउजाका लागि लीलाकुमारी देउजा, पूर्व अध्यक्षहरु खिलबहादुर देउजा र बालकृष्ण देउजालाईसम्मान गरियो ।
प्रअ जितराज थापाले २३ वर्षसम्म सम्हालेको प्रधानाध्यापकको जिम्मेवारी लयप्रसाद प्रसाईंलाई हस्तान्तरण गरे । ‘यो विद्यालयलाई यहाँसम्म ल्याइ पु¥याउन धेरै मिहिनेत परेको छ, अझै उन्नति प्रगति गर्नु पर्ने छ,’ उनले भाबुक मुद्रामा भने ।

प्रमुख अतिथि तामाङ्ले सांसद विकास कोषबाट १० लाख रुपैंया विद्यालयको भौतिक विकासका लागि दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कलाकालहरुले  धिताल चिरिच्याँट्ट, रोहित कार्की, दिलीप तामाङ ‘भाइरस’, दिल कार्की र नवराज गजुरेलले विभिन्न प्रस्तुति देखाएका थिए । बाल विकास केन्द्रका बालबालिकाको नृत्य विशेष कार्यक्रमको विशेष आकर्षण बनेको थियो ।

प्रतिक्रिया